कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-७, अंक ४६)

मौसमी सारांश:

  • गत साता देशको धेरैजसो भू-भागहरुमा बर्षा मापन भएको छ। गण्डकी प्रदेशको धेरैजसो र लुम्बिनी प्रदेशको केहि भू-भागहरुमा २५ मि.मि. भन्दा बढी बर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २०.0 डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका धेरैजसो स्थानहरुमा साप्ताहिक औसत न्यूनतम तापक्रम शुन्य डि.से. भन्दा कम मापन गरिएको छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागमा साताको सुरु र मध्यमा एक वा दुई स्थानमा हल्का हिमपात र साताको अन्त्यमा थोरै स्थानमा हल्का हिमपातको संभावना छ।
  • पहाडी भू-भागमा साताको सुरु र मध्यमा एक वा दुई स्थानमा र साताको अन्त्यमा थोरै स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना छ।
  • तराईमा यस साता वर्षाको संभावना छैन।
  • देशका धेरै स्थानमा न्यनतम तथा अधिकतम तापक्रम थोरै बढ्ने संभावना छ।

कृषि सारांश

  • तराई, भित्री मधेश र बेँसी (७०० मिटरसम्म) मा चैते धान खेतीका लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गरि ब्याड राख्नुहोस्।
  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ लगाउनुहोस्
  • विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखा पर्न थालेको हुँदा आफ्नो खेतबारीमा नियमित अवलोकन गरी रोग देखिएमा नजिकको कृषि विज्ञहरुलाई जानकारी गराई व्यवस्थापनको लागी सल्लाह लिनुहोस्।
  • अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रति लिटर पानीमा मिसाई बनाएको घोलमा हेली एन.पि.भी वा व्याक्टेरिया जन्य विषादी बी.टी. वा क्लोरानट्रानिलिप्रोल सिफारिस मात्रामा बोट भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • सुख्खा मौसम रहेकोले सबै किसिमका फलफूल बालीमा आवश्यकता अनुसार सिँचाई दिनुहोस्।
  • यो समयमा फूल फुल्ने फलफलहरु जस्तै-कागती, लिची, आँप बालीहरुमा मौरी तथा अन्य कीराहरुले गुणस्तरीय फल उत्पादनको लागि पराग-सेचन प्रक्रिया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहन गर्न बिषादी नछर्कनुहोस्।
  • केरामा लाग्ने पात डढुवा रोग ब्यवस्थापनको लागि रोगी पातहरु संकलन गरि खाल्डोमा पुरी दिनुहोस् साथै २ ग्राम मेन्कोजेब युक्त विषादी प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि छर्कनुहोस्।
  • कफीको सेतो गबारोले फुल पार्ने समय भएकोले व्यवस्थापनको लागि १०% को बोर्ड़ो मिश्रणको लेप बनाएर काण्डमा लगाउनुहोस्।
  • उच्चपहाडमा भण्डारणबाट झिकी राम्रोसँग टुसाएका कुफ्रिज्योती, खुमल सेतो १, खुमल उज्वल, खुमल विकास, डेजिरे, कार्डिनल, रोजिटा मध्ये उपलब्ध जातको बीउ आलु रोप्नुहोस्।
  • मध्यपहाडमा माघ महिनामा लगाएको आलुबालीमा चिस्यानको अबस्था हेरी सिंचाई पश्चात ४.२ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • नेपालका केही स्थानहरुमा खुल्लारुपमा पालिएका स्थानीय कुखुराहरु र व्यवसायिक रुपमा पालिएका ब्रोईलर र लेयर्स कुखुराहरुमा पनि हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा (HPAI) पुष्टि भएको अवस्थामा आ-आफ्ना स्थानहरुमा पालिएका पंक्षीहरुमा सो रोग लाग्न नदिन आफूले पालेका पंक्षीहरु आकस्मिक रुपमा मर्न थालेमा वा श्वास-प्रश्वास सम्बन्धि रोग देखापरेमा नजिकैको पशु चिकित्सकसँगको परामर्शमा तुरुन्तै प्रयोगशाला परिक्षणका लागि पठाउनुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्पको ह्याचलिंग तथा भुरा उपलब्ध हुने समय भएकोले मत्स्य ह्याचरीहरुबाट भुराको बन्दोबस्त समयमै गर्नुहोस्।
  • मध्यपहाडी जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय नजिकिएको हुँदा काकाबनको तयारी गरि माउपोखरीमा माउमाछा स्टक गर्नुहोस्।
  • काकाबनमा टाँसिएको अण्डाबाट कोरलिएको ह्याचलिङ्गको २४ घण्टापछि खाद्य थैली सुक्ने हुँदा उक्त ह्याचलिङ्गलाई सुरुवाती आहाराको रुपमा उमालेको अण्डाको पहेंलो भाग खुवाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।