कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-७, अंक ४७)

मौसमी सारांश:

  • गत साता देशको गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही भू-भागहरुमा सरदर भन्दा कम बर्षा मापन भएको छ। कर्णाली प्रदेशको कालिकोट जिल्लामा रहेको मान्मा केन्द्रमा १०.७ मि.मि. वर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ।
  • देशको उच्च पहाडी तथा हिमाली भू-भागमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपातको संभावना रहेको छ।
  • पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चटयाङ सहित हल्का वर्षाको संभावना छ।
  • तराईमा आगामी साता वर्षाको संभावना छैन।
  • देशका धेरै स्थानहरुमा न्यूनतम तथा अधिकतम तापक्रम केही बढ्ने सम्भावाना रहेको छ।

कृषि सारांश

  • चैते धानको बेर्ना २१ दिन भईसकेको छ भने तयार पारिएको जग्गामा रोप्नुहोस्।
  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ लगाउनुहोस्
  • नेपालको पश्चिम भूभागको अधिकांश जिल्लाहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग व्यापक रुपमा देखिन थालेको हुँदा आफ्नो खेतवारीमा यो रोग देखिएमा ढुसनाशक विषादी टिल्ट १ एम.एल. प्रति लिटर पानीमा वा नाटिभो १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक प्रयोग गरी रोग नियन्त्रण गर्नुहोस्।
  • अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रति लिटर पानीमा मिसाई बनाएको घोलमा हेली एन.पि.भी वा व्याक्टेरिया जन्य विषादी बी.टी. वा क्लोरानट्रानिलिप्रोल सिफारिस मात्रामा बोट भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • सुख्खा मौसम रहेकोले गहुँ, फलफूल तथा तरकारी बालीहरुमा माटोको चिस्यानको अवस्था हेरि सिँचाई गर्नुहोस्।
  • केरामा लाग्ने पात डढुवा रोग ब्यवस्थापनको लागि रोगी पातहरु संकलन गरि खाल्डोमा पुरी दिनुहोस् साथै २ ग्राम मेन्कोजेब युक्त विषादी प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि छर्कनुहोस्।
  • कफीको सेतो गबारोले फुल पार्ने समय भएकोले व्यवस्थापनको लागि १०% को बोर्ड़ो मिश्रणको लेप बनाएर काण्डमा लगाउनुहोस्।
  • मध्यपहाडमा माघ महिनामा लगाएको आलुबालीमा चिस्यानको अबस्था हेरी सिंचाई पश्चात ४.२ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
  • तापक्रम बढ्दै जाने क्रम भएकोले मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरक गरि एउटा प्वालमा २ गेडा बीउ खसाल्नुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीलाई फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरले राख्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु जमीनको सतह भन्दा अलिकति मुनी बस्ने भएकोले समय-समयमा गोडमेल गर्नुहोस्। सम्भव भएसम्म कीरालाई टिपेर नष्ट गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
  • नेपालका केही स्थानहरुमा खुल्लारुपमा पालिएका स्थानीय कुखुराहरु र व्यवसायिक रुपमा पालिएका ब्रोईलर र लेयर्स कुखुराहरुमा पनि हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा पुष्टि भएको अवस्थामा आ-आफ्ना स्थानहरुमा पालिएका पंक्षीहरुमा सो रोग लाग्न नदिन आफूले पालेका पंक्षीहरु आकस्मिक रुपमा मर्न थालेमा वा श्वास-प्रश्वास सम्बन्धि रोग देखापरेमा नजिकैको पशु चिकित्सकसँगको परामर्शमा तुरुन्तै प्रयोगशाला परिक्षणका लागि पठाउनुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्पको ह्याचलिंग तथा भुरा उपलब्ध हुने समय भएकोले मत्स्य ह्याचरीहरुबाट भुराको बन्दोबस्त समयमै गर्नुहोस l
  • ग्रासकार्पको प्रजनन समय नजिकिँदै गएको हुँदा प्रजननयोग्य माउ माछा छनौट गरि प्रजनन पोखरीमा सार्नुहोस् र ७-१० दिनको अन्तरालमा शारीरिक अवस्था र परिपक्वता प्रगतिका लागि नियमित जाँच गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।