![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-७, अंक ५०)
मौसमी सारांश:
- गत साता प्रदेश नं-१ र बागमती प्रदेशको धेरैजसो भू-भागहरु तथा गण्डकी प्रदेशको केही भू-भागहरुमा वर्षा मापन भएको छ। गण्डकी प्रदेशको तनँहु जिल्लामा रहेको दमौली केन्द्रमा सबैभन्दा बढी २६.७ मि.मि. वर्षा मापन भएको छ। देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका केही स्थानहरुमा ५ डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताभरि नै आंशिक देखि सामान्य बदली, मधेश प्रदेश र बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य स्थानमा मौसम सामान्यतया सफा रहने छ।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र साताको मध्यमा थोरै स्थानहरूमा वर्षा/हिमपातको संभावना छ।
- प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा र साताको मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको संभावना छ।
- मधेस प्रदेशमा साताको मध्यतिर एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित वर्षाको संभावना छ भने बाँकी तराईका भू-भागमा आगामी साता वर्षाको संभावना छैन।
- प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू-भागमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने र बाँकी प्रदेश तथा तराईका भू-भागमा न्यूनतम तथा अधिकतम तापक्रममा हल्का बढ्ने संभावना रहेको छ।
कृषि सारांश
- जुम्ला लगायतका उच्च पहाडी क्षेत्रमा वर्षे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
- नेपालको पश्चिम भूभागको अधिकांश जिल्लाहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग व्यापक रुपमा देखिएको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. प्रति लिटर पानीमा वा नाटिभो १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक प्रयोग गरी रोग नियन्त्रण गर्नुहोस्।
- सुख्खा मौसम रहेकोले फलफूल तथा तरकारी बालीहरुमा माटोको चिस्यानको अवस्था हेरि सिँचाई गर्नुहोस्।
- सुख्खा मौसम रहेकोले सबै किसिमका फलफूल बालीलाई फूल तथा फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन आवश्यकता अनुसार सुक्ष्म खाद्यतत्व र सिँचाई दिनुहोस्।
- सुन्तलाजातको फलफूल बालीहरुमा पात खन्ने कीराको नोक्सानी कम गर्न ४ भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल १ भाग मिसाई ५ दिनको फरकमा ३ पटक छर्नुहोस्। साथै व्यवसायिक खेती गर्ने कृषकहरुले रोगर ३०% ई.सी., २ एम.एल. प्रति लिटर पानीमा घोलेर ७ दिनको फरकमा ३ पटक छर्नुहोस्।
- आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
- उच्च पहाडमा प्राय: सुख्खा रहने तथा सिँचाईको संभावना न्यून भएका स्थानहरूमा आलु रोप्ने बेलामा नै छापोको व्यवस्था गर्नुहोस्।
- मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरक गरि एउटा प्वालमा २ गेडा बीउ खसाल्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु जमीनको सतह भन्दा अलिकति मुनी बस्ने भएकोले समय-समयमा गोडमेल गर्नुहोस्। कीराले विहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
- जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस दूरीमा मलखाद प्रयोग गरि विरुवा लगाउनुहोस्।
- बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीलाई फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरले राख्नुहोस्।
- गाई, भैसी, भेडा, बाख्रामा खोरेत रोग र सुँगुर, बंगुर, बँदेलमा क्लासिकल स्वाइन फिभर रोग विरुद्द खोप लगाउनुहोस्।
- स्थानीय कुखुराहरु र व्यवसायिक रुपमा पालिएका ब्रोईलर र लेयर्स कुखुराहरुमा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा लागेको शंका भएमा, पंक्षीहरु आकस्मिक रुपमा मर्न थालेमा वा श्वास-प्रश्वास सम्बन्धि रोग देखापरेमा पशु चिकित्सकसँगको परामर्शमा प्रयोगशाला परिक्षणका लागि पठाउनुहोस्।
- तराईका जिल्लाहरुमा ग्रासकार्पको प्रजनन समय भएको हुँदा प्रजनन पोखरीबाट हप्ता दिनको अन्तरालमा जननेन्द्रिय चिन्ह र परिपक्कता जाँच गरि तयार माउमाछालाई उत्प्रेरित प्रजननको लागि भाले र पोथीलाई २:१ को अनुपातमा प्रजनन सेट राख्नुहोस्।
- यस समयमा नर्सिङ्ग पोखरीमा ब्याक स्विमर कीराले माछा भुरामा क्षति पुर्याउने हुँदा १.५ कठ्ठा भुरा हुर्काउने पोखरीमा ८ लिटर डिजेल, २ लिटर डढेको मोबिल र ५०० ग्राम सरफ मिसाई बनेको घोललाई हावा नचलेको बेला बिहानीपख चारै कुनामा पर्नेगरि छर्कनुहोस्। तत्पश्चात ४-५ घण्टा सो पानीको सतहलाई नचलाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।