कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २)

मौसमी सारांश:

  • गत साता देशको धेरैजसो भू-भागहरुमा वर्षा मापन भएको छ। गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा रहेको स्याङ्जा केन्द्रमा सबैभन्दा बढी ५९.२ मि.मी. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २० डि.से. भन्दा कम मापन गरिएको छ। साथै तराईका धेरैजसो भू-भागहरुमा ३५.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। 
  • हिमाली भूभाग: साताको शुरु र मध्यमा आंशिक बदली। साताको अन्त्यमा सामान्यतया सफा। साताको शुरु र मध्यमा थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।
  • पहाडी भूभाग: साताको शुरुमा आंशिक देखि सामान्य बदली। साताको मध्य र अन्त्यमा आंशिक बदली देखि सामान्यतया सफा रहने सम्भावना छ। साताको शुरुमा थोरै र साताको मध्य र अन्त्यमा एक-दुई स्थानहरूमा मेघगर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ।
  • तराई भूभाग: साताको शुरुमा आंशिक बदली रहि साताको मध्य र अन्त्यमा सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई भूभागमा साताको अन्त्यमा र अन्य तराई भूभागमा साताको शुरुमा एक-दुई स्थानमा मेघगर्जन सहित छिटपुट वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा हावाहुरीको सम्भावना रहेको छ।
  • हिमाली भूभागमा अधिकतम तथा न्यूनतम तापक्रममा कुनै उल्लेखनीय परिवर्तन नहुने तर पहाड र तराईका भूभागमा अधिकतम तथा न्यूनतम तापक्रम दुबै केही बढ्ने सम्भावना रहेको छ।

कृषि सारांश:

  • पाकेको गहुँबाली तथा मुसुरोबाली मौसमको अवस्था हेरि भित्र्याउनुहोस्।
  • मुंग लगाउनु हुने कृषकहरुले कल्याण, प्रतिक्षा र प्रतिज्ञा मध्ये उपलब्ध जातको बीउलाई राइजोबियम जीवाणुले उपचार गरी १-१.५ के.जी. बीउ प्रति कट्ठाका दरले छर्नुहोस्।
  • सुन्तलाजात फलफूल, आँप, लिची, रुख कटहर जस्ता फलफूलबालीको फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन केराउगेडे फल भएपछि मौसमको अवस्था हेरि प्लानोफिक्स वा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्नुहोस्।
  • सुन्तलाजातको फलफूल बालीहरुमा पात खन्ने कीराको नोक्सानी कम गर्न ४ भाग पानीमा गाईको गहुँत वा निमको पातको झोल १ भाग मिसाई ५ दिनको फरकमा ३ पटक छर्नुहोस्। साथै व्यवसायिक खेती गर्ने कृषकहरुले रोगर ३०% ई.सी., २ एम.एल. प्रति लिटर पानीमा घोलेर ७ दिनको फरकमा ३ पटक छर्नुहोस्।
  • आँपको फल कुहाउने औँसालाई फल गुच्चा आकारको भएको अवस्थादेखि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्राप राख्नुहोस्।
  • आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा पात खन्ने कीरा (लिफ माईनर) बाट हुने क्षति कम गर्न पुरानो पातहरु हटाउनुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु जमीनको सतह भन्दा अलिकति मुनी बस्ने भएकोले समय-समयमा गोडमेल गर्नुहोस्। कीराले विहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस दूरीमा मलखाद प्रयोग गरि विरुवा लगाउनुहोस्।
  • बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीलाई फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरले राख्नुहोस्।
  • गाई, भैसी, भेडा, बाख्रामा खोरेत रोग र सुँगुर, बंगुर, बँदेलमा क्लासिकल स्वाइन फिभर रोग विरुद्द खोप लगाउनुहोस्।
  • गर्मी मौसममा कुखुराले चाँडो-चाँडो सास फेर्ने, पानी धेरै खाने, दाना कम खाने, पखेटा र खुट्टा फालेर बस्ने, अण्डा उत्पादनमा कमी आउने, खोरमा कुखराहरुको मृत्यु हुने आदी भएमा पर्याप्त भेन्टीलेसन प्रदान गर्ने, कुखुराको घनत्व कम गर्ने, दिँउसो १२-३ बजे सम्म दाना नदिने, पर्याप्त मात्रामा सफा, चिसो पानीको व्यवस्था गर्नुहोस्। साथै, इलेक्ट्रोलाईट र मल्टी भिटामीन पानीमा राखेर दिनुहोस्।
  • तराईका जिल्लाहरुमा टिलापिया माछाको प्रजनन समय भएको हुँदा एक लिंगीय टिलापिया उत्पादक ह्याचरी कृषकहरूले आवश्यक टिलापिया ब्रुड (२००-३०० ग्राम) छनौट गरेर प्रजनन पोखरीमा हापामा सेटिंग गरि प्रति वर्ग मिटर तीन माछाका दरले स्टक गर्नुहोस् र हप्ता दिनको अन्तरालमा ब्रुड माछाको मुख चेक गर्नुहोस्।
  • यस समयमा नर्सिङ्ग पोखरीमा ब्याक स्विमर कीराले माछा भुरामा क्षति पुर्याउने हुँदा १.५ कठ्ठा भुरा हुर्काउने पोखरीमा ८ लिटर डिजेल, २ लिटर डढेको मोबिल र ५०० ग्राम सरफ मिसाई बनेको घोललाई हावा नचलेको बेला बिहानीपख चारै कुनामा पर्नेगरि छर्कनुहोस्। तत्पश्चात ४-५ घण्टा सो पानीको सतहलाई नचलाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।