![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ३)
मौसमी सारांश:
- गत साता देशको विभिन्न भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन भएको छ। गण्डकी प्रदेशको मुस्ताङ्ग जिल्लामा रहेको लेते केन्द्रमा सबैभन्दा बढी ३५.३ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २० डि.से. भन्दा कम मापन गरिएको छ। साथै तराईको धेरैजसो भू-भागहरुमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको शुरु तथा मध्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको संभावना र साताको अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको हिमाली भेगमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरु र मध्यमा केही स्थानहरुमा र साताको अन्त्यमा एक वा दुई स्थानमा र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघगर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- प्रदेश नं-१, बागमती, गण्डकी र मधेश प्रदेशका तराईका भू-भागहरुमा साताको शुरू र मध्यमा थोरै स्थानहरुमा र अन्त्यमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग हल्का वर्षाको संभावना छ।
- देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।
कृषि सारांश:
- चैते धानमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक १०% ई.सी., २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस्।
- मध्यपहाडमा साताको शुरु र मध्यमा हल्का देखि मध्यम वर्षाको संभावना भएकोले मौसमको अवस्था हेरी काटेको गहुँबालीलाई खेतमा नछोडी भित्र्याउनुहोस्।
- सुन्तलाजात फलफूल, आँप, लिची, रुख कटहर जस्ता फलफूलबालीको फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन केराउगेडे फल भएपछि मौसमको अवस्था हेरि प्लानोफिक्स वा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्नुहोस्।
- आँपको फल कुहाउने औँसालाई फल गुच्चा आकारको भएको अवस्थादेखि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्राप राख्नुहोस्।
- उच्च पहाडका विभिन्न स्थानहरुमा आलुबालीमा बित्ता नाप्ने गबारो कीराको प्रकोप देखा परेकोले नियमित अनुगमन गर्नुका साथै प्रकोप बढी भएमा क्लोरोपाईरिफस ५०% + साइपरमेथ्रिन ५% विषादी १.५-२ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरी छर्कनुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पात खन्ने कीरा (लिफ माईनर) बाट हुने क्षति कम गर्न पुरानो पातहरु हटाउनुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु जमीनको सतह भन्दा अलिकति मुनी बस्ने भएकोले समय-समयमा गोडमेल गर्नुहोस्। कीराले विहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीलाई फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरले राख्नुहोस्।
- प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपंक्षीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुन सक्ने भएकोले समयमै पशु बीमा गर्नुहोस्।
- गर्मी मौसममा कुखुराले चाँडो-चाँडो सास फेर्ने, पानी धेरै खाने, दाना कम खाने, पखेटा र खुट्टा फालेर बस्ने, अण्डा उत्पादनमा कमी आउने, खोरमा कुखराहरुको मृत्यु हुने आदी भएमा पर्याप्त भेन्टीलेसन प्रदान गर्ने, कुखुराको घनत्व कम गर्ने, दिँउसो १२-३ बजे सम्म दाना नदिने, पर्याप्त मात्रामा सफा, चिसो पानीको व्यवस्था गर्नुहोस्। साथै, इलेक्ट्रोलाईट र मल्टी भिटामीन पानीमा राखेर दिनुहोस्।
- आगामी साताको शुरु र मध्यमा केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले प्रजनन पोखरीको पानीको तापक्रममा घटबढ हुँदा प्रजननका लागि तयार माउको अण्डा खेर जाने तथा ह्याचरीमा राखेको निषेचित अण्डा कढाउने समय लम्बिन गई कमजोर ह्याचलिङ्गहरु उत्पादन हुने हुँदा माउ पोखरी र ह्याचरीको पानीको तापक्रम स्थिर राख्न विद्युतीय हिटरको प्रयोग गर्नुहोस्।
- तराईका जिल्लाहरुमा ग्रास कार्पको ह्याचलिङ्ग तथा मध्यपहाडका जिल्लाहरुमा कमन कार्पको भुरा उपलब्ध हुने समय भएकोले नजिकको मत्स्य ह्याचरी/नर्सरीहरुबाट चाहिने भुराको बन्दोबस्त समयमै गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।