कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ४)

मौसमी सारांश:

  • गत साता देशको अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। मधेस प्रदेशको बारा जिल्लामा रहेको सिमरा एयरपोर्ट केन्द्रमा १६१.० मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.0 डि.से. भन्दा बढी र न्युनतम तापक्रम २०.0 डि.से. भन्दा कम मापन गरिएको छ। साथै सुदुर पश्चिम र लुम्बिनी प्रदेशका धेरैजसो तराईका भू-भागहरुमा बाहेक तराईको भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। 
  • प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको  शुरु तथा  अन्त्यमा थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना र साताको मध्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली भेगमा साताको  शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
  • प्रदेश नं १ र बागमती प्रदेशको पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा केही स्थानहरुमा र साताको मध्यमा एक वा दुई स्थानमा र गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
  • प्रदेश नं. १, बागमती, गण्डकी र मधेश प्रदेशका तराईका भू-भागहरुमा साताको शुरू र अन्त्यमा थोरै स्थानहरुमा र मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको तथा लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा साताको शुरु, मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
  • देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ।

कृषि सारांश:

  • चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
  • साता भरिनै वर्षाको संभावना भएकोले मौसमको अवस्था हेरी काटेको गहुँबालीलाई खेतमा नछोडी भित्र्याउनुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • सुन्तलाजात फलफूल, आँप, लिची, रुख कटहर जस्ता फलफूलबालीको फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन केराउगेडे फल भएपछि मौसमको अवस्था हेरि प्लानोफिक्स वा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्नुहोस्।
  • सुन्तला जातमा लाग्ने पुतलीको लार्भाहरु संकलनगरि नष्ट गर्नुहोस्।प्रकोप ज्यादा भएमा डेल्टामेथ्रिन २८% ई.सी. (डेसीस) २ मी. ली. प्रति लिटर पानीमा मिसाई साँझको समयमा छर्नुहोस्।
  • आँपको फल कुहाउने औँसालाई फल गुच्चा आकारको भएको अवस्थादेखि भाले झिँगा आकर्षण गर्न फेरोमेन ट्राप राख्नुहोस्।
  • उच्च पहाडका विभिन्न स्थानहरुमा आलुबालीमा बित्ता नाप्ने गबारो कीराको प्रकोप देखा परेकोले नियमित अनुगमन गर्नुका साथै प्रकोप बढी भएमा क्लोरोपाईरिफस ५०% ‌+ साइपरमेथ्रिन ५% विषादी १.५-२ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरी छर्कनुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा पात खन्ने कीरा (लिफ माईनर) बाट हुने क्षति कम गर्न पुरानो पातहरु हटाउनुहोस्। रातो खपटे कीराका लार्भाहरु हुने क्षति कम गर्न समय-समयमा गोडमेल गर्नुहोस्। सम्भव भएसम्म लार्भाहरु टिपेर नष्ट गर्नुहोस्। साथै फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति रोपनी ८ वटाको दरले राख्नुहोस्।
  • बर्षासँगै शंखे तथा चिप्ले कीराहरुको प्रकोप बढ्ने र तरकारी बाली तथा फलफुलका बिरुवामा निकै क्षती पुर्यांउने भएकोले नियमित अवलोकन गर्नुहोस्।
  • प्रि-मनसुनको समयमा चट्याङ परेर पशुपंक्षीमा हानी नोक्सानीका साथै मृत्यु समेत हुन सक्ने भएकोले समयमै पशु बीमा गर्नुहोस्।
  • गर्मी मौसममा कुखुराले चाँडो-चाँडो सास फेर्ने, पानी धेरै खाने, दाना कम खाने, पखेटा र खुट्टा फालेर बस्ने, अण्डा उत्पादनमा कमी आउने, खोरमा कुखराहरुको मृत्यु हुने आदी भएमा पर्याप्त भेन्टीलेसन प्रदान गर्ने, कुखुराको घनत्व कम गर्ने, दिँउसो १२-३ बजे सम्म दाना नदिने, पर्याप्त मात्रामा सफा, चिसो पानीको व्यवस्था गर्नुहोस्। साथै, इलेक्ट्रोलाईट र मल्टी भिटामीन पानीमा राखेर दिनुहोस्।
  • सुंगुर-बंगुरहरुमा समय भन्दा अघि नै माउ ब्याउने, मरेको वा कमजोर बच्चाहरु जन्मिने, निकै ज्वरो आउने, अरुचि हुने, छालामा निलो दाग देखा पर्ने, श्वास-प्रश्वास प्रणालीमा समस्या हुने, पाठा-पाठिले छिटो-छिटो सास फर्ने जस्ता पि.आर.आर.एस. रोगका लक्षणहरु देखिएमा जैविक सुरक्षाका उपायहरु अपनाउनुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्पको भुरा तथा मध्यपहाडका जिल्लाहरुमा कमन कार्पको भुरा उपलब्ध हुने समय भएकोले नजिकको मत्स्य ह्याचरी/नर्सरीहरुबाट चाहिने भुराको बन्दोबस्त समयमै गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।