कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक ५)

मौसमी सारांश:

  • गत साता देशको अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन भएको छ। प्रदेश नं. १ को सुनसरी जिल्लामा रहेको तरहरा केन्द्रमा सबैभन्दा बढी ९८.६ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.० डि.से. भन्दा बढी र न्यूनतम तापक्रम २०.० डि.से. भन्दा कम मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। 
  • प्रदेश नं.१ र बागमती प्रदेशका केही स्थानहरु र गण्डकी प्रदेश, कर्णाली प्रदेश एंव सुदुरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानहरुमा साताको शुरु र मध्यमा साथै साताको अन्त्यमा प्रदेश नं.१, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली भेगका थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
  • प्रदेश नं.१ को पहाडी भू-भागमा साताको शुरु र मध्यमा केहि र बागमती प्रदेश एंव गण्डकी प्रदेशमा साताको शुरुमा केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साताको शुरुमा र मध्यमा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र साताको अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदुरपश्चिम प्रदेश को पहाडी भू-भागमा साताको शुरुमा थोरै स्थानहरूमा र मध्य र अन्त्यमा एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
  • प्रदेश नं.१ र मधेश प्रदेशका तराईका भूभाग हरुमा साताको शुरु र अन्त्यमा एक दुई स्थानहरूमा हल्का वर्षाको र मध्यमा थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका भू-भागहरुमा साताको शुरु, मध्य र अन्त्यमा थोरै स्थानहरूमा र लुम्बिनी प्रदेशका तराईका भू-भागहरुमा एक वा दुई स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना छ। सुदुरपश्चिम प्रदेशको तराईका भू-भागहरुमा साताको मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।
  • देशका अधिकांस भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर पश्चिमी भू-भागका एक वा दुई स्थानमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।

कृषि सारांश:

  • चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफुले लगाउन चाहेको ठाँउ अनुसारको सिफारिस गरिएका धानका उन्नत जातको बीउ भरपर्दो श्रोतबाट समयमा नै व्यवस्था गर्नुहोस्।
  • पहाडका लागि सिफारिस गरिएका भटमासका उन्नत जातहरु (तरकारी भटमास १, लुम्ले १, सेती र रेन्सम) लगाउनुहोस्।
  • पूर्वी तराईमा लगाईएको जुटबालीमा लाग्ने झुसिलकीराको व्यापकता यस समयमा बढी हुने भएकोले प्रकोप व्यवस्थापनको लागि बाली लगाएको ५-७ हप्तापछि १५-२० दिनको फरकमा क्लोरपाईरीफस १६% ई.सी. २.५ एम.एल. प्रति लिटर पानीमा स्टिकर मिसाई साँझपख प्रकोप हेरि ३-४ पटकसम्म छर्नुहोस्।
  • सुन्तलाजात फलफूल, आँप, लिची, रुख कटहर जस्ता फलफूलबालीको फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन केराउगेडे फल भएपछि मौसमको अवस्था हेरि प्लानोफिक्स वा प्लान्टोप्लेक्स १ एम.एल. प्रति लिटर पानीमा घोली पात र फल भिज्नेगरि छर्नुहोस्।
  • अलैँची बालीको गानो कुहिने रोगको प्रकोप व्यवस्थापनको लागि कार्बेन्डाजिम १ लिटर पानीमा २ ग्राम घोली बोटको फेद भिज्ने गरि ड्रेन्चिङ गर्नुहोस्।
  • उच्च पहाडका विभिन्न स्थानहरुमा आलुबालीमा बित्ता नाप्ने गबारो कीराको प्रकोप देखा परेकोले नियमित अनुगमन गर्नुका साथै प्रकोप बढी भएमा क्लोरोपाईरिफस ५०% ‌र साइपरमेथ्रिन ५% विषादीको मिश्रण १.५-२ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरी छर्कनुहोस्।
  • आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भएतापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा पात खन्ने कीरा बाट हुने क्षति कम गर्न पुरानो पातहरु हटाउनुहोस्। रातो खपटे कीराका लार्भाहरु हुने क्षति कम गर्न समय-समयमा गोडमेल गर्नुहोस्। सम्भव भएसम्म लार्भाहरु टिपेर नष्ट गर्नुहोस्। साथै फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति रोपनी ८ वटाको दरले राख्नुहोस्।
  • यो मौसममा नयाँ घाँसका पालुवाहरु पलाउने र कलिला घाँसहरु पाउने हुँदा घाँसहरु नओइलाई खुवाउँदा पेट फुल्ने, छेर्ने समस्या देखिने हुदा पशु वस्तुलाई यस्ता घाँसहरु ओइलाएर मात्र खुवाउनुहोस्।
  • गर्मी मौसममा कुखुराले चाँडो-चाँडो सास फेर्ने, पानी धेरै खाने, दाना कम खाने, पखेटा र खुट्टा फालेर बस्ने, अण्डा उत्पादनमा कमी आउने, खोरमा कुखराहरुको मृत्यु हुने आदी भएमा पर्याप्त भेन्टीलेसन प्रदान गर्ने, कुखुराको घनत्व कम गर्ने, दिँउसो १२-३ बजे सम्म दाना नदिने, पर्याप्त मात्रामा सफा, चिसो पानीको व्यवस्था गर्नुहोस्। साथै, इलेक्ट्रोलाईट र मल्टी भिटामीन पानीमा राखेर दिनुहोस्।
  • हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा व्यवसायिक रुपमा पालिएका संगुर-बंगुरहरुमा संक्रामक रोगहरु फैलिरहेको अवस्थामा रोग फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केहि पनि खरिद बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखिएका खोरमा मानिसको हिड्-डुल पनि सम्भव भएसम्म कम गर्नुहोस्।
  • तराईका जिल्लाहरुमा ग्रास कार्पको भुरा तथा मध्यपहाडका जिल्लाहरुमा कमन कार्पको भुरा उपलब्ध हुने समय भएकोले नजिकको मत्स्य ह्याचरी/नर्सरीहरुबाट चाहिने भुराको बन्दोबस्त समयमै गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।