![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक 7)
मौसमी सारांश:
- गत साता देशभर नै वर्षा मापन भएको छ। वर्षा मापन भएका धेरैजसो केन्द्रहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ । मधेस प्रदेशको सर्लाही जिल्लामा रहेको मनुस्मारा केन्द्रमा १३६.८ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५.० डि.से. भन्दा बढी र न्युनतम तापक्रम २०.० डि.से. भन्दा कम मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३०.० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको हिमाली भेगमा साताको मध्यमा थोरै र साताको शुरुमा केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षा / हिमपातको सम्भावना र साताको अन्त्यमा एक वा दुई स्थानमा हल्का वर्षा /हिमपातको सम्भावना रहेको छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको हिमाली भेगमामा साताको शुरु र मध्यमा एक वा दुई स्थानमा हल्का वर्षा / हिमपातको सम्भावना छ ।
- प्रदेश नं. १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा साताको शुरु र मध्यमा केही स्थानहरुमा र साताको अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा साताको शुरु मध्य र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन /चटयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
- प्रदेश नं. १ र बागमती प्रदेशका तराईका भू-भागहरुमा साताको शुरू र अन्त्यमा थोरै स्थानहरुमा मेघ गर्जन /चटयाङ सहित हल्का देखि मध्यम वर्षाको र अन्त्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।मधेस र गण्डकी प्रदेशमा साताको मध्यमा थोरै स्थानहरूमा र साताको शुरू र मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ।लुम्बिनी र सुदुर पश्चिम प्रदेशमा साताको शुरु र मध्यमा एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग हल्का वर्षाको सम्भावना रहेको छ।
- प्रदेश नं. १, मधेस, बागमती र गण्डकी प्रदेशका साथै लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका तराई भू-भागहरुमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना रहेको छ।
कृषि सारांश:
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन र आफुले लगाउन चाहेको ठाँउ अनुसारको लागि सिफारिस गरिएका धानका उन्नत जातहरुको ब्याड राख्नुहोस् ।
- वर्षे धानको ब्याड तयारीको लागि राम्ररी पाकेको गोबरमल/कम्पोस्ट मल २०-२५ डोको प्रति कट्ठा वा ३०-३५ डोको प्रति रोपनीका दरले माटोमा राम्ररी मिलाई १.६ के.जी. बीउ प्रति कट्ठा वा २.५ के.जी. बीउ प्रति रोपनीका दरले (१० वर्ग मिटरमा १ के.जी. बीउका दरले) प्रयोग गर्नुहोस्।
- चैते धानमा पतेरो कीरा लाग्ने समय भएकोले नियमीत अनुगमन गर्नुहोस्। प्रकोप ज्यादा भएमा मालाथियन ५०% ई.सी. वा साइपरमेथ्रीन २५% ई.सी., २.० एम.एल. प्रति लिटर पानीका दरले बोट राम्ररि भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि वीम वा अन्य कुनै ट्राइसाइक्ल्याजोल युक्त विषादी १ ग्राम प्रति लिटर पानीको दरले वा कासु वी २ मिलिलिटर प्रति लिटर पानीमा मिसाई ७-१० दिनको अन्तरालमा २ पटक छर्नुहोस्। • फलफूल बालीका नर्सरीहरुमा कलमी गरेको भागभन्दा तलबाट आएका चोर हाँगाहरु अनिवार्य रुपमा हटाउनुहोस्।
- सुन्तलाजात फलफूलको बोटको टुप्पो सुक्दै आउने, जरा र फेद कुहिने, पँहेलिने, बोट मर्ने रोग देखिएमा उचित व्यवस्थापनको विधिहरु अपनाउनुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि क्याराथेन १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्ने गरि ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्। आलुको पुतली (जोताहा कीरा) ले सामान्यतया भण्डारणमा असर गर्ने भएतापनि आलु खन्ने समयमा लामो समयसम्म खेतबारीमा थुपारेर राख्दा उक्त थुप्रोमा पुतलीले फुल पार्ने र भण्डारणमा असर गर्ने भएकोले खन्ने समयमा ध्यान पुर्याउनुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोग (Gummy stem blight) व्यवस्थापनको लागि मरेका बोटहरु, रोगग्रस्त पातहरु र रोग लागेर ओइलाएका हाँगाहरु रोग लागेको ठाँउभन्दा ४-५ इन्च मुनीबाट काटेर जम्मा गरि जलाउनुहोस्। रोगको लक्षण देखा परेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- गत केहि हप्तादेखि हल्का वर्षा भैरहेकोले शंखे तथा चिप्ले कीराहरुले तरकारी बाली तथा फलफुलका बिरुवामा निकै क्षती गर्ने भएकोले अनुगमन गरि ब्यबस्थापनका उपायहरु अपनाउनु होस् |
- यो मौसममा नयाँ घाँसका पालुवाहरु पलाउने र कलिला घाँसहरु पाउने हुँदा घाँसहरु नओइलाई खुवाउँदा पेट फुल्ने, छेर्ने समस्या देखिने हुदा पशु वस्तुलाई यस्ता घाँसहरु ओइलाएर मात्र खुवाउनुहोस्।
- दैनिकजसो पानी पर्ने संभावना देखिएको हुँदा पशु-वस्तुलाई खुवाउने पराल दानाको राम्रो ख्याल राख्नुहोस् साथै दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्।
- हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा व्यवसायिक रुपमा पालिएका संगुर-बंगुरहरुमा संक्रामक रोगहरु फैलिरहेको अवस्थामा रोग फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केहि पनि खरिद बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखिएका खोरमा मानिसको हिड्-डुल पनि सम्भव भएसम्म कम गर्नुहोस्।
- आगामी साताको भरिनै हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।