![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १०)
मौसमी सारांश:
- गत साता देशका अधिकांश भू-भागहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको तनहुँ जिल्लामा रहेको खैरेनीटार केन्द्रमा २५५.७ मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्युनतम तापक्रम १0 डि.से. भन्दा बढी मापन गरिएको छ। अधिकांश तराईका भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।
- साताको शुरुमा उच्च पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा र मध्य तथा अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
- साताको शुरुमा पहाडी भू-भागका धेरै र मध्य तथा अन्त्यमा केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको शुरुमा मधेश प्रदेश, प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका धेरै भू-भागहरु र बाँकी प्रदेशका तराईका केही भू-भागहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ। साताको मध्य तथा अन्त्यमा मधेश प्रदेश, प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका केही भू-भागहरु र बाँकी प्रदेशका तराईका थोरै भू-भागहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको शुरुमा प्रदेश नं-१, मधेश प्रदेश, बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत संभावना छ।
- साताको अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना छ।
कृषि सारांश:
- साताभरि नै देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना रहेकोले मकै, भटमास लगायतका बालीहरुमा पानी निकासको उचित ब्यबस्था गर्नुहोस्।
- धान खेतीमा लागत न्यूनीकरण गर्न यान्त्रीकरण प्रविधिहरु जस्तै: राइस ट्रान्सप्लान्टर, ड्रम सिडर, सुख्खा छरुवा धान खेती प्रयोग गर्नुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रति रोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हार देखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचिकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हार देखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- रोपेको धानबालीमा झारपात ब्यवस्थापनको लागी ब्यूटाक्लोर २ के.जी प्रति रोपनी वा ०.६ के.जी प्रति कट्ठाको दरले धान रोपेको ५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा छर्नुहोस्।
- कोदोबालीबाट राम्रो उत्पादन लिन आफुले लगाउने ठाउँ अनुसारको लागि सिफारिस गरिएका कोदोका जातहरूको ब्याड राख्नुहोस्।
- उखुबालीमा प्लासी गवारोले क्षती पुर्याउने भएकोले नियमित अनुगमन गरि ब्यवस्थापनका उपायहरु अपनाउनुहोस्।
- स्याउ, ओखर, आरु, आरु बखडा, खुर्पानी, नासपाती, सुन्तला, जुनार, कागती आदि फलफुलहरुको नर्सरीको नियमित अनुगमन गरी सकरहरुलाई समयमा नै हटाउनुहोस्।
- सुन्तलाजात फलफूल बालीको नर्सरीमा चुसाहा कीराहरुबाट हुने नोक्सानी कम गर्नको लागि इमिड़ाक्लोप्रिड (१७.८% एस. एल.) ०.५ एम.एल. प्रति लिटर पानीमा घोली पात भिज्नेगरि छर्नुहोस्।
- उच्चपहाडमा बीउको लागि लगाएको परिपक्क आलुबालीमा हाल्म पुलिङ गर्नुहोस्।
- तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्य तथा वातावरणमा नकारात्मक असर पुग्दछ।
- भिँडीमा फल तथा डाँठमा लाग्ने गवारोको नियमित अनुगमन गर्नुहोस्। कीराको प्रकोप धेरै भएमा क्लोरनट्रानीलीप्रोल वा स्पिनोसाड १ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर छर्कनुहोस्। एउटै बिषादी निरन्तर प्रयोग नगरेर आलोपालो गरी प्रयोग गर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा पाउडरी मिल्ड्युको व्यवस्थापनको लागि क्याराथेन १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरी ७-१० दिनको फरकमा २-३ पटक छर्कनुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोग व्यवस्थापनको लागि मरेका बोटहरु, रोगग्रस्त पातहरु र रोग लागेर ओइलाएका हाँगाहरु रोग लागेको ठाँउभन्दा ४-५ इन्च मुनीबाट काटेर जम्मा गरी जलाउनुहोस्। रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- शंखे तथा चिप्ले कीराहरुले तरकारी बाली तथा फलफुलका बिरुवामा निकै क्षती गर्ने भएकोले अनुगमन गरि ब्यबस्थापनका उपायहरु अपनाउनुहोस्।
- पशु-वस्तुलाई खुवाउने पराल र दानाको राम्रो ख्याल राख्नुहोस् साथै दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्।
- हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा संक्रामक रोगहरु फैलिरहेको अवस्थामा रोग फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगका लक्षणहरु देखिएका फार्मबाट पशु वा पशुजन्य उत्पादन केही पनि खरिद-बिक्री वा वितरण नगर्नुहोस्। रोगका लक्षण देखिएका खोरमा मानिसको हिडडुल पनि संभव भएसम्म कम गर्नुहोस्।
- तराई र मध्य पहाडी क्षेत्रमा बदामे घाँस बीउबाट लगाउँदा १५ देखि २० के. जी. प्रति हेक्टरको दरले २.५ से.मि. गहिराइमा बीउ रोप्नुहोस्। हाँगाको कटिङ्ग रोप्दा करिव १० देखि १५ से.मी. को टुक्रा पारी वर्षातको समयमा माटोमा चिस्यान प्रशस्त भएको बेलामा आधा जमिन भित्र पर्ने गरि ५० से.मी. को फरकमा रोप्नुहोस् ।
- माछालाई खुवाउने दानालाई सफा र ओभानो ठाँउमा भण्डारण गर्नुहोस्। चिसो ठाँउमा भण्डारण गरेको दानामा ढुसीको संक्रमण हुनसक्ने र यस्तो दाना खुवाउँदा कलेजो सुन्निने रोग (हेपाटोमा) लाग्नसक्ने भएकोले बेला-बेलामा निरिक्षण गर्नुहोस्।
- आगामी साता वर्षाको संभावना भएका भू-भागहरुमा पोखरीको प्रवेशद्वार र निकासद्वारमा माछाको आकार अनुसारको जाली राख्नुहोस्। साथै बादल लागेको दिन र भोलिपल्ट विहानीपख माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र प्रयोग गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।