कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक १७)

मौसमी सारांश:

• गत साता देशभर धेरैजसो भू-भागहरुमा सरदर भन्दा बढी वर्षा मापन गरिएको छ। कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ५४५.७ मि.मि. वर्षा मापन भएको छ। देशको धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम २५ डि.से. भन्दा बढी र न्यूनतम तापक्रम ५ डि.से. भन्दा बढी मापन गरिएको छ। तराईका अधिकांश भू-भागहरुमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम र २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।

• देशैभर साताभरि नै आंशिक देखि सामान्य बदली रहने संभावना रहेको छ।

• देशैभर साताको शुरू तथा मध्यमा केही स्थानहरूमा र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।

• साताको शुरूमा देशभरिका एक वा दुई स्थानमा र मध्यमा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग भारी वर्षाको संभावना रहेको छ। साथै साताको अन्त्यमा सुदूरपश्चिम प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन र चटयाङ सहित भारी वर्षाको पनि संभावना रहेको छ।

• देशका अधिकांश भू-भागमा अधिकतम तापक्रम हल्का बढ्ने र न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना रहेको छ।

कृषि सारांश:

• वर्षे धानको टपड्रेसको लागि नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस युरियाको मात्रा प्रयोग गर्नुहोस्।

• धानबालीमा झारपात व्यवस्थापनको लागी बिस्पाईरीबेक २५ लिटर पानीमा १२ एम.एल. दरले एक रोपनीमा वा १७ लिटरमा पानीमा ८ एम.एल. को दरले एक कठ्ठामा धान छरेको वा रोपेको १५-२५ दिनभित्र माटोमा छिपछिपे पानी भएको अवस्थामा स्प्रे गर्नुहोस्।

• धान रोपेको २-३ हप्तापछि खेतमा निरन्तर पानी जमेको अवस्थामा धानबालीमा फेद कुहिने रोग लाग्न हुनाले नियमित अवलोकन गरी रोगी बोटहरु उखेलेर नष्ट गर्नुहोस्।

• धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी खेतमा ५% मृत गुवा वा प्रति मिटर कीराको फुलको एउटा झुण्ड वा प्रति मिटर एउटा बयस्क कीरा भएमा मात्र व्यवस्थापनका बिधिहरु अपनाउनुहोस्।

• धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि कासु बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।

• आँपको हाँगा सुकाउने गबारोले क्षति पुर्याई सुकेका हाँगाहरु काँटछाँट गरि नष्ट गर्नुहोस्। फल टिपिसकेपछि इमिडाक्लोप्रिड १७.८ एस.एल., ०.५ एम.एल. प्रति लिटर पानीमा मिसाएर प्रत्येक १५ दिनको अन्तरमा ४-५ पटक काण्ड तथा हाँगाहरु राम्ररी भिज्नेगरि छर्कनुहोस्।

• स्याउमा लाग्ने दादे रोग व्यवस्थापनको लागि बोटको प्रत्येक हाँगामा सुर्यको प्रकाश पुग्नेगरी काँटछाँट गर्ने र फल टिप्नुअघि कार्बेन्डाजिम युक्त विषादी-वेभिष्टिन वा मेन्कोजेव युक्त विषादी-डाइथेन एम-४५; २ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।

• मध्यपहाडको बारी जग्गामा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातको बीउ टुसाउन दिनुहोस्।

• काउली, बन्दा जस्ता तरकारी बालीहरुको अगौटे जातहरुको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गाको माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।

• वर्षातको समयमा मौरी घारमा खाना (मह र पराग) छ छैन नियमित अनुगमन गर्नुहोस्। यो समयमा मौरीलाई चरन कम हुने भएकोले चिनी चास्नी बनाएर खुवाउनुहोस्।

• हाल काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानहरुमा पालिएका संगुर-बंगुरहरुमा अफ्रिकन स्वाइन फिभर र क्लासिकल स्वाइन फिभर जस्ता संक्रामक रोगहरु फैलिन नदिन जैविक सुरक्षाका उपायहरु अवलम्बन गर्नुहोस्। रोगको शंका लागेमा निदानको लागि रोगी पशुको रगतको नमूनाहरु सहित राष्ट्रिय पशु स्वास्थ्य अनुसन्धान केन्द्र, खुमलटारमा सम्पर्क राख्नुहोस्।

• वर्षातको समयमा गाई-भैँसीहरुमा देखा पर्ने भ्यागुते र चरचरे रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्राविधिकको सिफारिसमा प्रयोग गर्नुहोस्।

• कार्प माछा भुरा हुर्काउने पोखरीमा वातावरण बदलाब सँगै ब्याक स्वीमर, खपटे, पतेरो, गाइने कीरा आदि शिकारी जीवको प्रकोप देखिएमा नर्सरी पोखरीको पानीमा साबुनपानी र डिजेल ७५ लिटर वा मट्टितेल १०० लिटर प्रति हेक्टर जलाशयमा स्टक गर्नु ५ दिन अगाडी अथवा पोखरीमा ४ फिट पानी गहिराई भएको अबस्थामा मालाथियन ५०% ई.सी., प्रति कठ्ठा ४०० एम.एल., १० लिटर पानीमा घोलेर प्रयोग गर्नुहोस्। १.५ के.जी. डि.ए.पी. र ०.५ के.जी. यूरिया बेग्ला-बेग्लै भिजाएर पोखरीको चारै कुनामा भोलिपल्ट छर्कँनुहोस्।

• माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ५ दिनसम्म खुवाउनुका साथै माछाको घनत्व कम गर्ने, पोखरी भित्र ठाँउ-ठाँउमा बाँस गाड्ने र उक्त बाँसलाई ३ दिनको अन्तरमा झिकेर सुकाउने र पोखरीको भित्री डिलमा उम्रेका झारपात सफा राख्नुहोस्।

• कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखी ४ बजेसम्म फोन गर्नुहोस्।