कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक २८)

मौसमी सारांश:

  • गत साता देशका केहि भू-भागहरुमा वर्षा भएको छ भने धेरैजसो केन्द्रहरुमा सरदर भन्दा कम वर्षा मापन गरिएको छ। गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा रहेको स्याङ्जा केन्द्रमा सबैभन्दा बढी २७.4 मि.मि. वर्षा मापन भएको छ। देशको केही उच्च पहाडी भू-भागहरु बाहेकका अन्य अधिकांश भू-भागहरुमा 2० डि.से. भन्दा बढी साथै गण्डकी प्रदेशको नवलपुर जिल्लामा रहेको दुम्कौली केन्द्रमा सबैभन्दा बढी ३४ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ०.३ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको सुरुवातमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि सामान्यतया सफा मौसम रहनेछ।
  • साताको मध्यमा प्रदेश नं-१ र मधेश प्रदेशमा हाल बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ।
  • साताको मध्यमा प्रदेश नं-१, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशहरुमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। साताको अन्त्यमा देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।
  • साताको शुरुमा सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
  • साताको मध्यमा प्रदेश नं-१ र मधेश प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
  • साताको अन्त्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको संभावना छ।
  • आगामी साता अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।

कृषि सारांश:

  • साताको मध्यमा प्रदेश नं-१ र मधेश प्रदेशमा हाल बंगालको खाडीमा विकसित न्यून चापीय प्रणाली चक्रवातमा परिणत भई आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना भएकोले पाकेको धानबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्।
  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • धानको कालोपोके रोग र उड्बट्टा रोग अथवा सिन्के धुप रोगको व्यवस्थापनको लागि खेतमा रहेका रोगी बोटका बालाहरु नष्ट गर्नुहोस्। साथै त्यस्तो बोटबाट बीउ नछान्नुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते (नोभेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। पहाडका लागि सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरेर मात्र छर्नुहोस्।
  • तराई र भित्री मधेशको लागि सिफारिस गरिएका तोरीको जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
  • पहाडको लागि सिफारिस मुसुरोका जातहरु: शिशिर, सिमल, शिखर, शितल, महेश्वर भारती, सगुन, खजुरा मुसुरो ३ मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ २ के.जी. प्रति रोपनीका दरले हारदेखि हारको दूरी २५ सेन्टिमिटर कायम गरी लगाउनुहोस्। बीउ रोप्नु अघि शुरुमा ढुसीनाशक बिषादी-बेभिष्टिन २ ग्राम प्रति के.जी. बीउको दरले र त्यसपछि राईजोवियम जीवाणुले उपचार गर्नुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
  • तराईमा बिँयाबाट आलु खेती गर्नको लागि टि.पि.एस.-१ र टि.पि.एस.-२ जातको आलुको बिँया ३.५ ग्राम प्रति कठ्ठाको दरले नर्सरी राख्नुहोस्।
  • भित्री-मधेश, खोँच तथा बेँशीको लागि खुमल उपहार, खुमल उज्वल, खुमल लक्ष्मी, खुमल रातो २, आईपिवाई ८, कुफ्रि सिन्दुरी, डेजिरे, कार्डिनल, एम.एस. ४२.३ मध्ये उपलब्ध आलुका जातहरूको गुणस्तरीय बीउ रोप्नुहोस्।
  • गोलभेडाको अगौटे डढुवा रोग ब्यबस्थापनको लागि मेन्कोजेवयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले ८-१० दिनको फरकमा २-३ पटक सम्म सम्पूर्ण पातहरु भिज्नेगरि छर्कनुहोस्।
  • लेयर्स, ब्रोईलर कुखुरा तथा टर्कीहरुमा ईन्फेक्सस् कोराईजा र यो जस्तै लक्षण (नाकबाट सेतो, बाक्लो सिंगान फाल्ने, अनुहार वरपर सुन्निने, आँखाको तल्लो भाग सुन्निने र पहेँलो चिज जम्मा हुने, आँखा बन्द हुने) हरु देखापरेमा जैविक सुरक्षाका उपायहरु अपनाई दक्ष प्राविधिकको सल्लाहमा एन्टिबायोटिक औषधिहरु प्रयोग गर्नुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।