![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-८, अंक 40)
मौसमी सारांश:
- ७१ वटा मौसम केन्द्रहरुमा मापन गरिएको साप्ताहिक कुल वर्षाको तथ्याङ्क अनुसार कुनै पनि केन्द्रमा वर्षा मापन भएको छैन। देशको पहाडका केही भू-भागहरु बाहेकका अन्य भू-भागहरुमा २० डि.से. भन्दा कम अधिकतम तापक्रम मापन गरिएको छ। बाग्मती प्रदेशको रामेछाप जिल्लामा रहेको मन्थली केन्द्रमा सबैभन्दा बढी २५ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। इलामको चिया बगान केन्द्र बाहेक देशको सबै भू-भागमा १० डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ र उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -५.३ डि.से. न्यूनतम तापक्रम मापन भएको छ। गत साता तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो देखापरेको थियो।
- हिमाली भू-भागमा साताभर नै आंशिक देखि सामान्य बदलीको संभावना छ।
- पहाडी भू-भागमा साताभर नै आंशिक बदली देखि सामान्यतया सफा रहने संभावना छ।
- सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भूभागमा साताको अन्त्यतिर एक-दुई स्थानमा हल्का वर्षा/हिमपात को संभावना छ।
- सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागमा साताको अन्त्यतिर छिटपुट/हल्का वर्षाको संभावना छ।
- देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ। तराई भू-भागमा साताको मध्यतिर बिहानी र रातीपख हुस्सु/कुहिरो लाग्ने संभावना छ।
कृषि सारांश
- गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई र ५०-५५ दिन भैसकेको गहुँबालीमा सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्नुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- तोरी तथा बकुल्ला बालीमा लाही कीराको व्यवस्थापनको लागि १ भाग गाईको गहुँत र ४ भाग पानी मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्। प्रकोप ज्यादा भएमा फ्लोनिकामिड २५% डब्ल्यु.जी. ०.३ ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीको दरले छर्कनुहोस्।
- अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी क्लोरानट्रानिलिप्रोल १८.५ एस.सी. ०.४ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि साँझको समयमा छर्कनुहोस्।
- जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
- तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरी रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरी ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्।
- बीउ उत्पादनको लागि रोपिएको मूला, रायो र काउली बालीमा अल्टरनेरिया पात थोप्ले रोग लाग्ने संभावना भएकोले नियमीत अनुगमन गरी व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
- ज्यादा चिसो र शितलहर चलेका तराईका जिल्लाहरुमा पशुवस्तुमा कोल्ड स्ट्रोक हुन सक्ने भएकोले पशुवस्तुलाई मनतातो पानी र खानेकुरा (खोले, कुडो आदि) दिनुहोस्। पशुको जीउ ढाक्न पुराना बोराहरुको प्रयोग गर्नुहोस्। पशुवस्तुमा चिसोको लक्षण देखिएमा १०० ग्राम तोरीको तेलमा २ ग्राम कपूर मिलाएर गर्धन तलपट्टि र छातीतिर ३-५ दिनसम्म मालिस गर्नुहोस्।
- तराई भू-भागमा साताका अधिकांश दिनहरूमा राती र बिहानीपख र हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- कमन कार्प जातका माछाले पोखरीमा प्राकृतिक रुपमा प्रजनन गर्ने हुँदा भाले र पोथी लाई छुट्टा-छुट्टै पोखरीमा राखी हुर्काउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।