कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ८, अंक ४१)

मौसमी सारांश:

  • गत साता बागमती प्रदेशको सिन्धली जिल्लाको सिन्धुलीमाढी केन्द्रमा सबैभन्दा बढी १.३ मि.मि. बर्षा मापन भएको छ। तापक्रम बढी मापन हुने क्षेत्र अन्तर्गत देशको मध्य तराई बाहेकका तराईका अन्य भू-भागहरुमा पनि २५ डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। बागमती प्रदेशको रामेछाप जिल्लामा रहेको मन्थल केन्द्रमा सबैभन्दा बढी २३.४ डि.से. तापक्रम मापन गरिएको छ। कैलालीको चिसापानी केन्द्र बाहेक देशको सबै भू-भागमा १० डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ र उच्च पहाडी भू-भागको धेरै स्थानहरुमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -६.४ डि.से. तापक्रम मापन भएको छ। गत साता तराईका अधिकांश भू-भागहरुमा हुस्सु/कुहिरो देखापरेको थियो।
  • साताको शुरू र अन्त्यमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहने
  • भू-भाग हिमाली मा साताको शुरूमा आंशिक देखि सामान्य बदली, साताको मध्यमा आंशिक बदली देखि सामान्यतया सफा साताको अन्त्यमा सामान्य देखि पूर्ण बदलीको संभावना छ।
  • हिमाली भू-भागमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना
  • पहाडी भू-भागमा साताको अन्त्यमा सामान्य देखि पूर्ण बदली रही केही भू-भागमा छिटपुट देखि हल्का वर्षाको संभावना
  • देशभर अधिकतम तथा न्यूनतम तापक्रम हल्का घट्ने साथै तराई भू-भागमा बिहानी र रातीपख हुस्सु/कुहिरो लाग्ने संभावना। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साताको अन्त्यमा हल्का वर्षाको संभावना

कृषि सारांश

  • गहुँ छरेको ५०-५५ दिन भैसकेको गहुँबालीमा सिँचाई पश्चात नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसार टपड्रेस गर्नुहोस्।
  • बदलिँदो मौसमको कारण देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।  
  • आगामी साताको अन्त्यमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका पहाडी भेगमा छिटपुट देखि हल्का वर्षाको संभवना रहेकोले सिफारिस आलुका जातहरु साताको शुरु र मध्यमा रोप्नुहोस्।
  • अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी क्लोरानट्रानिलिप्रोल १८.५ एस.सी., ०.४ एम.एल. प्रति लिटर पानीमा मिसाई बोट भिज्नेगरि साँझको समयमा छर्कनुहोस्।
  • मेवा, आँप, आदि फलफूल बालीका बोटमा मिलीबगको प्रकोप देखिएमा बगैँचाको सरसफाई गरी बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि [रेजिन वा ग्रीजमा अडीर (कास्टर) को तेल मिसाएर ] लगाउने वा ४०० गेजको २५-३० से.मी. चौडा बाक्लो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
  • जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
  • तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरी रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरी ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • बीउ उत्पादनको लागि रोपिएको मूला, रायो र काउली बालीमा अल्टरनेरिया पात थोप्ले रोग लाग्ने संभावना भएकोले नियमीत अनुगमन गरि व्यवस्थापनका उचित विधिहरु अपनाउनुहोस्।
  • कार्तिक महिनामा लगाईएको उखुबालीमा गोडमेल पश्चात ४.४ के.जी. युरिया प्रति रोपनी वा २.९ के.जी. युरिया प्रति कट्ठाको दरले दोश्रो टपड्रेस गर्नुहोस्। उखुबालीमा चिस्यानको कमी भए सिंचाई गरेर मात्र युरिया मलको प्रयोग गर्नुहोस्।
  • ज्यादा चिसो र शितलहर चलेका तराईका जिल्लाहरुमा पशुवस्तुमा कोल्ड स्ट्रोक हुन सक्ने भएकोले पशुवस्तुलाई मनतातो पानी र खानेकुरा (खोले, कुडो आदि) दिनुहोस्। पशुको जीउ ढाक्न पुराना बोराहरुको प्रयोग गर्नुहोस्। पशुवस्तुमा चिसोको लक्षण देखिएमा १०० ग्राम तोरीको तेलमा २ ग्राम कपूर मिलाएर गर्धन तलपट्टि र छातीतिर ३-५ दिनसम्म मालिस गर्नुहोस्।
  • तराई भू-भागमा साताका अधिकांश दिनहरूमा राती र बिहानीपख र हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
  • कमन कार्प जातका माछाले पोखरीमा प्राकृतिक रुपमा प्रजनन गर्ने हुँदा भाले र पोथीलाई छुट्टा-छुट्टै पोखरीमा राखी हुर्काउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।