![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ८, अंक ४३)
मौसमी सारांश:
- सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा रहेको दार्चुला नयाँ केन्द्रमा सबैभन्दा बढी १ मिलिमिटर वर्षा मापन भएको छ। देशको पूर्वी तराई तथा अन्य केही स्थान बाहेकका अधिकांश भू-भागहरुमा २५ डि.से. भन्दा कम अधिकतम तापक्रम मापन गरिएको छ। प्रदेश नं-१ को सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी २७.८ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईको अधिकांश भू-भागहरुमा १० डि.से. भन्दा बढी तापक्रम मापन गरिएको छ भने उच्च पहाडी तथा हिमाली जिल्लाको केही स्थानमा शुन्य डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -५.२ डि.से. तापक्रम मापन भएको छ। गत साता तराईका अधिकांश भू-भागमा हुस्सु/कुहिरो देखापरेको थियो।
- प्रदेश नं-१, बागमती प्रदेश र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागमा साताको शुरूमा र अन्त्यमा आंशिक बदली तथा साताको मध्यमा आंशिक बदली देखि सामान्य बदली रहने छ।
- साताको मध्यमा प्रदेश नं-१, बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको संभावनाका साथै ती प्रदेशहरूको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना छ।
- मध्य तथा पश्चिमी तराईका अधिकांश भू-भागमा साताभर र पुर्वी तराईका अधिकांश भू-भागमा साताको शुरू तथा अन्त्यमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना छ।
- देशको अधिकांश भू-भागहरूमा अधिकतम तापक्रम हल्का बढ्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ धानका जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्। धानको ब्याड राख्नु अघि सौर्य उपचार विधिबाट माटोको उपचार गर्नुहोस्।
- बदलिँदो मौसमको कारण देशका विभिन्न स्थानहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग देखापर्न थालेको हुँदा व्यवस्थापनको लागि ढुसीनाशक विषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटक प्रयोग गर्नुहोस्।
- ३०-४०% कोसाहरु पहेँलो रंगको भएपछि मौसमको अवस्था हेरी तोरीबालीको कटानी गरी खलिहान/खलोमा जम्मा गरि ५-६ दिनसम्म सुकाई, चुटि, केलाई सफा गर्नुहोस्। त्यसपछि दानामा ८-१०% सम्म चिस्यानको मात्रा भएपछि सुख्खा ठाँउमा भण्डारण गर्नुहोस्।
- आँप र लिचीलाई रस चुस्ने कीराहरुबाट जोगाउन फूल फुल्नु भन्दा अगाडी नै डाइमेथोयट ३०% ई.सी. अथवा बुप्रोफेजिन २५% एस.सी., १ एम.एल. प्रति लिटर पानीमा मिसाई छर्कनुहोस्। साथै बोट वरिपरि खनी मल दिनुका साथै बोर्डो मिक्स्चर पनि लगाउनुहोस्।
- मेवा, आँप, आदि फलफूल बालीका बोटमा मिलीबगको प्रकोप देखिएमा बगैँचाको सरसफाई गरी बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि [रेजिन वा ग्रीजमा अडीर (कास्टर) को तेल मिसाएर] लगाउने वा ४०० गेजको २५-३० से.मी. चौडा बाक्लो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
- जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
- आलुको पुतली कीराले सामान्यतया आलु भण्डारणमा ज्यादा नोक्सानी गर्ने भएता पनि आलु खन्नुपूर्व आलुको दानामा अण्डा पारी नोक्सानी गर्ने भएकोले ड्यांगमा आलुको दाना नदेखिनेगरी उकेरा दिनुहोस्। साथै, खन्ने बेलामा सावधानी अपनाउनुहोस्।
- लसुन तथा प्याजको जरा कुहिने रोग ब्यवस्थापनको लागि वेभिष्टिन २ ग्राम प्रति लिटर पानीका दरले वा ५% नेकुबो नामक ढुसीनाशक विषादी १४ दिनको फरकमा ३ देखि ४ पटकसम्म सम्पूर्ण जरा भिज्नेगरि हाल्नुहोस्।
- कार्तिक महिनामा लगाईएको उखुबालीमा गोडमेल पश्चात ४.४ के.जी. युरिया प्रति रोपनी वा २.९ के.जी. युरिया प्रति कट्ठाको दरले दोश्रो टपड्रेस गर्नुहोस्। उखुबालीमा चिस्यानको कमी भए सिंचाई गरेर मात्र युरिया मलको प्रयोग गर्नुहोस्।
- यो समयमा पन्छीहरुमा बर्डफ्लूको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्। फार्ममा एकैपटक धेरै कुखुरामा श्वासप्रश्वास सम्बन्धि रोगको लक्षण देखापरेमा, मृत्युदर बढी भएमा वा बर्डफ्लू रोगको शंका लागेमा विशेष सतर्कता अपनाई नजिकैको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमा सम्पर्क राख्नुहोस्।
- वातावरण परिवर्तनसँगै प्रजनन् समयमा कमजोर शारीरिक अवस्थाका कारण कार्प जातका माउमाछामा वाह्य परजीवी आर्गुलस (माछाको जुम्रा) को प्रकोप देखिएमा ड्युराक्लिन ०.३ ग्राम प्रति के.जी. दानाको दरले तीन दिनसम्म लगातार दिएपछि एक दिन छोडी पुन: दुई दिनसम्म लगातार दिनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प माछाको प्रजनन् समय भएको हुँदा हप्ता दिनको अन्तरमा तयार माउ छनौट गरी काकाबनयुक्त प्रजनन् पोखरीमा सेट राख्नुहोस्। अण्डाबाट निस्केको ह्याचलिङलाई प्रति दिन प्रति एक लाख नाभि थैली सुकेपछि शारीरिक तौलको १५-२०% धुलो दाना र थप ४ वटा उसिनेको अन्डाको रानोको झोल बनाई खुवाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।