![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १७)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी मधेश प्रदेशको बारा जिल्लामा रहेको परवानीपुर केन्द्रमा २९०.१ मि.मि. वर्षा मापन भएको छ। मधेश प्रदेशको धेरै स्थानमा तथा कोशी, लुम्बिनी र गण्डकी प्रदेशका तराईका केही स्थानमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३६.९ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ११.१ डि.से न्यूनतम तापक्रम मापन भएको छ।
- देशको अधिकांश भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
- देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
- देशका पहाडी भू-भागहरूका केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। साथै साताको मध्य तथा अन्त्यतिर थोरै स्थानमा भारी वर्षाको समेत संभावना छ।
- देशका तराई भु-भागहरुका केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। साथै साताको मध्य तथा अन्त्यतिर एक-दुई स्थानमाभारी वर्षाको पनि संभावना छ।
- देशभरको अधिकतम तापक्रम हल्का घट्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- धानबालीमा झारपात व्यवस्थापनको लागि झारनाशक विषादी बिस्पाएरिबेक, २५ लिटर पानीमा १२.५ मिलिलिटरको दरले मिसाएर प्रति रोपनीमा अथवा १७ लिटर पानीमा ८.३ मिलिलिटरको दरले मिसाएर प्रति कठ्ठामा धान रोपेको १५ देखि २५ दिनभित्र खेतमा छिपछिपे पानी भएको अवस्थामा फ्लेट फेन नोजलले स्प्रे गर्नुहोस्। पछि झार आएमा ४०-५० दिनभित्र एकपटक हातले गोड्नुहोस्।
- धानबालीमा मरुवा रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- धानखेतमा गुबो मर्ने समस्या हुने भएकोले नियमित अनुगमन गरी प्रकोप बढी भएमा कारटाप हाइड्रोक्लोराइड ४% जी.आर. प्रति कठ्ठा ५०० ग्रामको दरले वा थायोडीकार्व २.० ग्राम प्रति लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
- पानी पर्ने समयमा विषादी छर्नै पर्ने भएमा विषादीमा स्टिकर मिसाएर मात्र छर्कनुहोस्।
- मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू काउलीको नर्सरी राख्नुहोस्।ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नुपरेमा बेभिष्टीन ६ ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्यो भने फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, वास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर न्यून हुने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- स्याउबालीमा गरिएको मूल्य शृङ्खला अध्ययन अनुसार स्याउको पोष्टहार्वेष्ट क्षती करिब ४०% सम्म पाइएको हुँदा ढुवानीको सिलसिलामा तथा भण्डारणमा हुने क्षती कम एवं ढुवानी लागत घटाउन बगैंचामा स्याउ टिपे पश्चात डोकोको भित्रि भागको वरिपरी घाँस वा पछ्यौरा राखेर स्याउ प्याकेजिंग गरि ढुवानी गर्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानी निकासको उचित प्रवन्ध मिलाउनुहोस्। बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्। घुम्ती बाली अपनाउनुहोस्। प्रकोप बढी भएमा कपरयुक्त विषादी (जस्तै: ब्लाईटोक्स ५०%, धनुकोप) वा क्रिल्याक्सिल २ ग्राम प्रति लिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
- वर्षातको समयमा मौरी घारमा खाना (मह र पराग) छ छैन नियमित अनुगमन गर्नुहोस्। यो समयमा मौरीलाई चरन कम हुने भएकोले चिनी चास्नी बनाएर खुवाउनुहोस्। साथै घार राखेको सबै खुट्टाहरुमा कचौरा/प्लास्टिकको बट्टामा पानी राख्नुहोस्। मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। तापक्रम र आर्द्रतामा घटबढ भइरहँदा मौरीको छाउरामा कुहिने रोग लाग्ने संभावना हुने भएकोले मौरी घारको नियमित अनुगमन गर्नुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्। साथै, लक्षण नदेखिएका ३ महिना भन्दा बढी उमेरका गाई, भैँसीहरुलाई यो रोगविरुद्दको खोप प्राविधिकको सिफारिस बमोजिम लगाउनुहोस्।
- वर्षातको समयमा गाई-भैँसीहरुमा देखा पर्ने भ्यागुते रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्रयोग गर्नुहोस्।
- माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। धमिलो पानी मिसिन गएमा परजीवि लाग्ने संभावना भएकोले ३% नुनपानीले बाथ गराउनुहोस्।
- तराईका जिल्लाहरुमा रहु र नैनी माछाको ह्याचलिङ्ग तथा भुरा उपलब्ध हुने समय भएकोले नजिकको सरकारी मत्स्य कार्यालय वा निजी मत्स्य ह्याचरीहरुबाट चाहिने भुराको बन्दोवस्त समयमै गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।