![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक १८)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको चिसापानी केन्द्रमा ५८३.५ मि.मि. वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३३.९ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ११.७ डि.से न्यूनतम तापक्रम मापन भएको छ।देशको अधिकांश भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
- देशको अधिकांश भू-भागहरुमा साताको शुरू र मध्यमा सामान्य देखि पूर्ण बदली र साताको अन्तयमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
- देशका पहाडी भू-भागहरुमा साताको अधिकाशं दिनहरुमा केहि स्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना छ। साथै साताको शुरु तथा मध्यमा थोरै स्थानहरुमा भारी वर्षा र एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको समेत संभावना छ।
- देशका तराई भू-भागमा साताको शुरुमा एक-दुई स्थानमा तथा साताको मध्यमा थोरै स्थानहरुमा भारी वर्षा र एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित धेरै भारी वर्षाको समेत संभावना छ।
- देशका हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपात/वर्षाको संभावना छ।
- देशभरको अधिकतम तापक्रम हल्का घट्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- आगामी शनिबार देखी सोमबारसम्म देशका धेरै स्थानहरुमा भारी देखी अति भारी वर्षाको संभावना भएकोले कृषि कर्महरु गर्दा आवश्यक सावधानी अपनाउनुहोस्।
- आगामी शनिबार देखी सोमबारसम्म देशका धेरै स्थानहरुमा भारी देखी अति भारी वर्षाको संभावना भएकोले सबै प्रकारका फलफूल तथा तरकारी बालीहरुमा पानी निकासको उचित व्यवस्था गर्नुहोस् साथै सो अवधिभर विषादीको प्रयोग नगर्नुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्ने गर्नुहोस्।
- मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू काउलीको नर्सरी राख्नुहोस्।ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नु परेमा बेभिष्टीन ६ ग्राम प्रतिलिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२०से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापोराख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने रोगको व्यवस्थापनको लागि पानी निकासको उचित प्रवन्ध मिलाउनुहोस्।बेर्ना सार्ने बेलामा बोट वरिपरि पानी नजम्ने गरि सार्नुहोस्।घुम्ती बाली अपनाउनुहोस्।
- वर्षातको समयमा मौरी घारमा मह र परागछ, छैन नियमित अनुगमन गर्नुहोस्। यो समयमा मौरीलाई चरन कम हुने भएकोले चिनी चास्नी बनाएर खुवाउनुहोस्। साथै घार राखेको सबै खुट्टाहरुमा कचौरा/प्लास्टिकको बट्टामा पानी राख्नुहोस्। मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। तापक्रम र आर्द्रतामा घटबढ भइरहँदा मौरीको छाउरामा कुहिने रोग लाग्ने संभावना हुने भएकोले मौरी घारको नियमित अनुगमन गर्नुहोस्।
- देशका अधिकांश स्थानहरुमा लम्पी स्किन रोग फैलिरहेको हुँदा छालामा गिर्खाहरु देखिएका पशुहरुलाई ढुवानी नगर्नुहोस्। लक्षण देखिएका पशुहरुलाई अन्य स्वस्थ पशुहरुभन्दा अलग्गै राखी लक्षण अनुसारको उपचार गर्नुहोस्। गोठहरुमा जैविक सुरक्षाका उपायहरु अवलम्वन गर्नुहोस्। साथै, लक्षण नदेखिएका ३ महिना भन्दा बढी उमेरका गाई, भैँसीहरुलाई यो रोगविरुद्दको खोप प्राविधिकको सिफारिस बमोजिम लगाउनुहोस्।
- वर्षातको समयमा गाई-भैँसीहरुमा देखापर्ने भ्यागुते रोगको उपचारको लागि सल्फोनामाईड, टेट्रासाइक्लिन, पेनिसिलिन, जेन्टामाइसिन, सिप्रोफ्लोक्सासिन समूहका औषधिहरु प्रयोग गर्नुहोस्।
- आगामी शनिबार देखी सोमबारसम्म देशका धेरै स्थानहरुमा भारी देखी अति भारी वर्षाको संभावना भएकोले माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै, निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।