कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक २३)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी बागमती प्रदेशको काठमाडौं जिल्लामा रहेको काठमाडौं एयरपोर्टकेन्द्रमा २१६.६ मि.मि. वर्षा मापन भएको छ। देशका तराईका एक-दुई स्थानमा ३५ डि.से. भन्दा बढी र तराईका अन्य अधिकांश स्थानमा ३० डि.से. भन्दा बढी अधिकतमतापक्रममापनगरिएकोछ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतारा केन्द्रमा सबैभन्दा बढी ३५.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा र अन्य प्रदेशका तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम ९.८ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको अधिकांश दिनहरुमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
  • साताको अधिकांश दिनमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
  • सुदूर-पश्चिम प्रदेशको पहाडी र तराई भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको संभावना छ।
  • साताको सुरू र मध्यमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावा-हुरीको संभावना छ।
  • साताभर न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने तर साताको अन्त्यमा अधिकतम तापक्रम हल्का घट्ने संभावना छ।

 

कृषि सारांश

  • धानबालीमा फूल फुल्ने र दाना लाग्ने अवस्थामा पानीको आवश्यकता बढी हुने भएकोले धानको उत्पादन घट्न नदिन सिंचाई व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्।
  • धानबालीमा मरुवा रोग र खैरा थोप्ले रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • धानबालीमा जिंकको कमीले लाग्ने खैरारोग (राते) तथा सल्फरको कमीले नयाँ पातहरुको टुप्पो पहेँलो हुँदै सुक्ने समस्या देखापरेमा जिंक सल्फेट ५ ग्राम प्रति लिटर पानीको दरले सम्पूर्ण बोट भिज्नेगरि २-३ पटक छर्कनुहोस्।
  • धान खेतमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमीत अनुगमन गर्नुहोस् प्रकोप बढी भएमा साइपरमेथ्रीन 25% ई.सी. ०.५ एम.एल. प्रति लिटर पानीका दरले विरुवा राम्ररी भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • देशका बिभिन्न ठाँउमा जुनार, सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापनका लागि झरेका फलहरु संकलन गरि नष्ट गर्ने, सामुहिक रुपमा बगैचामा धुँवाको व्यवस्था गरि कीरा धपाउने, बत्तिमा आकर्षित गरि नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियान २ एम.एल. को घोलमा १०० ग्राम सख्खर मिसाएर छर्किने गर्नुहोस्।
  • स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ्ग नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फल पूर्णरुपमा खान तयार भएपछि र अब फल नटिपे बिग्रन्छ भन्ने भएपछि मात्र टिप्नेर्नुहोस्।
  • मध्यपहाडको बारी जग्गामा जनकदेव, डेजिरे, कार्डिनल,खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकास मध्येबाट उपलब्ध जातको बीउ आलु रोप्नुहोस्।
  • हरियो लसुन उत्पादनको लागी लसुनको बीउ (पोटी) रोप्न सुरुगर्नुहोस्।
  • बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी आम्दानी लिन सकिन्छ।
  • मध्य पहाडी जिल्लाहरुमा खुमल ज्यापू र काठमाडौ लोकल जातको काउलीको नर्सरी राख्नुहोस्।ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नु परेमा बेभिष्टीन ग्राम प्रतिलिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा वित्ता (१५-२०से.मी.) अग्लो व्याड बनाई अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरे पछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • स्थानीय खुल्लारुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्द एफ१ वा एन.डी. क्लोन जातका खोप शुद्ध पानीमा घोलेर खुवाउनुहोस्।
  • तराईका जिल्लाहरुमा रहु र नैनी माछाको ह्याचलिङ्ग तथा भुरा उपलब्ध हुने समय भएकोले नजिकको सरकारी मत्स्य कार्यालय वा निजी मत्स्य ह्याचरीहरुबाट चाहिने भुराको बन्दोवस्त समयमै गर्नुहोस्
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।