कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक २४)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा १७५.७ मि.मि. वर्षा मापन भएको छ। मधेश प्रदेशका धेरै स्थानहरुमा तथा लुम्बिनी, गण्डकी, बागमती र कोशी प्रदेशका तराईका केही स्थानमा ३५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको नवलपरासी जिल्लामा रहेको दुम्कौली (बर्दघाट सुस्ता पूर्व) केन्द्रमा सबैभन्दा बढी ३७.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ८.७ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।साताको अधिकांश दिनहरुमा आंशिक देखि सामान्य बदली रहने संभावना छ।
  • कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराई / पहाडको भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
  • कोशी र मधेश प्रदेशको तराईको भू-भागहरुमा साताको शुरुमा केही स्थानहरुमा, मध्यमार अन्त्यमा थोरैस्थानहरूमा हल्का देखि मध्यम वर्षाको संभावना
  • साताको शुरु र मध्यमा सामान्य देखि पूर्ण बदली र अन्त्यमा आंशिक देखि सामान्य बदलीरहने संभावना छ।
  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साताको शुरु र मध्यमा थोरै स्थानहरूमा र अन्त्यमा एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षाको संभावना
  • देशको हिमाली भू-भागहरुमा साताको शुरु र मध्यमा हल्का देखि मध्यम वर्षा हिमपातको समेत संभावना छ।
  • साताको सुरू र मध्यमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हावा-हुरीको संभावना छ।
  • साताभर न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने र साताको अन्त्यमा अधिकतम तापक्रम हल्का बढ्ने संभावना छ।

 

कृषि सारांश

  • कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई/पहाडको भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको संभावना भएकाले तरकारीबाली तथा फलफूल बगैँचामा पानीको उचित निकासकोव्यवस्था गर्नुहोस्।साथै माछापोखरीको निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
  • धानबालीमा फूल फुल्ने र दाना लाग्ने अवस्थामा पानीको आवश्यकता बढी हुने भएकोले धानको उत्पादन घट्न नदिन सिंचाई व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्।
  • धानबालीमा मरुवा रोग र खैरा थोप्ले रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • धान खेतमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमीत अनुगमन गर्नुहोस् प्रकोप बढी भएमा साइपरमेथ्रीन 25% ई.सी.०.५ एम.एल. प्रति लिटर पानीका दरले विरुवा राम्ररी भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • देशका बिभिन्न ठाँउमा जुनार, सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापनका लागि झरेका फलहरु संकलन गरि नष्ट गर्ने, सामुहिक रुपमा बगैचामा धुँवाको व्यवस्था गरि कीरा धपाउने, बत्तिमा आकर्षित गरि नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियान २ एम.एल. को घोलमा १०० ग्राम सख्खर मिसाएर छर्किने गर्नुहोस्।
  • केरा, अलैँची, अदुवा र बेसार बालीको जरा कुहिने रोगको लागि कार्बेन्डाजिमयुक्त बिषादी बेभिष्टिन२ ग्राम प्रति लिटर पानीमा मिसाएर जरा भिज्नेगरि ड्रेन्चिङ गर्नुहोस्।
  • हरियो लसुन उत्पादनको लागी लसुनको बीउ (पोटी) रोप्न सुरुगर्नुहोस्।
  • बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी उत्पादन लिन सकिन्छ।
  • मध्य पहाडी जिल्लाहरुमा काठमाडौ लोकल जातको काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नु परेमा बेभिष्टीन ग्राम प्रति लिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा वित्ता (१५-२०से.मी.) अग्लो व्याड बनाई अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
  • उखुको टुप्पोमा लाग्ने गवारोले क्षती पुर्याएका ठाउँहरुमा यसको व्यवस्थापनको लागि थायोडीकार्प २ ग्राम प्रति लिटर पानीको दरले ८००-१००० लिटर घोल तयार गरी एक हेक्टर बालीमा साँझपख छर्नुहोस्।
  • स्थानीय खुल्लारुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्द एफ१ वा एन.डी. क्लोन जातका खोप शुद्ध पानीमा घोलेर खुवाउनुहोस्।
  • तराईका जिल्लाहरुमा रहु र नैनी माछाको ह्याचलिङ्ग तथा भुरा उपलब्ध हुने समय भएकोले नजिकको सरकारी मत्स्य कार्यालय वा निजी मत्स्य ह्याचरीहरुबाट चाहिने भुराको बन्दोवस्त समयमै गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।