![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक २५)
मौसमी सारांश:
- गत साता सबै भन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा २८७.८ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशका तराईका केही स्थानहरुमा तथा अन्य प्रदेशका तराईका अधिकांश स्थानमा ३० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको नवलपरासी जिल्लामा रहेको दुम्कौली (बर्दघाट सुस्ता पूर्व) केन्द्रमा सबैभन्दा बढी ३५.२ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानमा २५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा तथा कर्णाली प्रदेशको ताल्चा जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम ८.३ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताको सुरूमा बंगालको खाडीमा न्यून चापीय क्षेत्र बन्ने र उक्त न्युन चापीय क्षेत्र एक-दुई दिनमा झनै शक्तिशाली बन्ने संभावना रहेकोले साताभर नेपालको पुर्वी तथा मध्य भू-भागमा यसको आंशिक देखि सामान्य प्रभाव पर्ने देखिन्छ। साथै यो हप्ता मनसुन बहिर्गमनको संभावना समेत न्यून देखिन्छ।
- कोशी रमधेश प्रदेशका एक-दुई स्थानमा साताको मध्य तथा अन्त्यमा भारी देखि धेरै भारी बर्षाको संभावना छ।बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरूमा साताको मध्य तथा अन्त्यमा एक-दुई स्थानमा भारी वर्षाको संभावना छ।
- साताको मध्य तथा अन्त्यमा देशका मध्य तथा पुर्वी भू-भागमा सामान्य देखि पूर्ण बदली रहने संभावना छ।
- साताको मध्य तथा अन्त्यमा कोशी र मधेश प्रदेशका थोरै स्थानहरुमा हावा-हुरीको संभावना छ।
- साताको मध्य तथा अन्त्यमा न्यूनतम तथा अधिकतम तापक्रम हल्का घट्ने संभावना छ।
कृषि सारांश
- साताको मध्य तथा अन्त्यमा कोशी रमधेश प्रदेशका एक-दुई स्थानमा भारी देखि धेरै भारी बर्षा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको संभावना भएकाले तरकारी बाली, फलफूल बगैँचा तथा पाक्न लागेका धान खेतहरुमा पानी निकासको उचित व्यवस्था गर्नुहोस्।साथै कृषि कर्महरु गर्दा बिशेष साबधानीहरु अपनाउनुहोस्।
- धानबालीमा मरुवा रोग र खैरा थोप्ले रोग व्यवस्थापनको लागि नाइट्रोजनयुक्त मल जस्तै-युरिया मात्र बढी प्रयोग नगरी फोस्फोरस र पोटास पनि सिफारिस मात्रामा प्रयोग गर्नुहोस्। यो रोग पातहरुमा देखिएमा कासु-बी २ एम.एल. वा वीम १ ग्राम वा हेक्जाकोनाजोल २ एम.एल. प्रति लिटर पानीका दरले १०-१२ दिनको फरकमा बोटको सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- धान खेतमा पतेरो कीराले धेरै नोक्सानी गर्ने भएकोले नियमीत अनुगमन गर्नुहोस् प्रकोप बढी भएमा साइपरमेथ्रीन 25% ई.सी.०.५ एम.एल. प्रति लिटर पानीका दरले विरुवा राम्ररी भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
- देशका बिभिन्न ठाँउमा जुनार, सुन्तलाको फल चुस्ने चुसाहा पुतली कीराको प्रकोप देखा परेको हुँदा अनुगमन गरी व्यवस्थापनका लागि झरेका फलहरु संकलन गरि नष्ट गर्ने, सामुहिक रुपमा बगैचामा धुँवाको व्यवस्था गरि कीरा धपाउने, बत्तिमा आकर्षित गरि नष्ट गर्ने, साथै प्रकोप ज्यादा भएमा मालाथियान २ एम.एल. को घोलमा १०० ग्राम सख्खर मिसाएर छर्किने गर्नुहोस्।
- बेमौसमी बकुल्ला सिमी लगाउन सुरु गर्नुहोस्। यो समयमा बकुल्ला सिमी लगाउनु भएमा लाही कीराको प्रकोप कमी हुने हुँदा बढी उत्पादन लिन सकिन्छ।
- मध्य पहाडी जिल्लाहरुमा काठमाडौ लोकल जातको काउलीको नर्सरी राख्नुहोस्। ब्याड राख्ने जग्गामा माटोको उपचार गर्नु परेमा बेभिष्टीन ६ ग्राम प्रतिलिटर पानीमा मिसाई बीउ राख्नु ३-४ दिन अगाडी छर्कनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२०से.मी.) अग्लो व्याड बनाई ४ अँगुलको फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरे पछी छापो राख्नुहोस्। झरी पर्ने समय भएकोले बेर्नालाई जोगाउन प्लाष्टिकको छापो राख्नुहोस्।
- उखुको टुप्पोमा लाग्ने गवारोले क्षती पुर्याएका ठाउँहरुमा यसको व्यवस्थापनको लागि थायोडीकार्प २ ग्राम प्रति लिटर पानीको दरले ८००-१००० लिटर घोल तयार गरी एक हेक्टर बालीमा साँझ पखछर्नुहोस्।
- स्थानीय खुल्लारुपमा पालिएका कुखुराहरुलाई रानीखेत रोग विरुद्द एफ१ वा एन.डी. क्लोन जातका खोप शुद्ध पानीमा घोलेर खुवाउनुहोस्।
- तराईका जिल्लाहरुमा रहु र नैनी माछाको ह्याचलिङ्ग तथा भुरा उपलब्ध हुने समय भएकोले नजिकको सरकारी मत्स्य कार्यालय वा निजी मत्स्य ह्याचरीहरुबाट चाहिने भुराको बन्दोवस्त समयमै गर्नुहोस्।
- माछा पोखरीको निकास द्वारमा माछाको साइज अनुसारको जाली लगाई माछा बगेर जान नदिनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा (आज) सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।