कृषि-मौसम सल्लाह बुलेटिन (वर्ष-९, अंक २६)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा १९७.९ मि.मि. वर्षा मापन भएको छ। तराईका सबै स्थानमा ३0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगन्ज क्षेत्रीय कार्यालय केन्द्रमा सबैभन्दा बढी ३५.० डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। मधेश प्रदेशका धेरै स्थानहरुमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरुमा २५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ।गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ४.० डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको सुरूमा नेपालको पुर्वी भू-भागमा मनसुनी वायुको आंशिक प्रभाव रहने र साताको मध्य देखि कम हुदै जाने तथा साताको मध्य र अन्त्यमा नेपालको  पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ। साथै यो हप्ता नेपालको पुर्वी भू-भागबाट मनसुन बहिर्गमनको संभावना समेत देखिन्छ।
  • साताको सुरुमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरू साथै बाँकी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम बर्षाको संभावना रहेको छ। साताको मध्य र अन्त्यमा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही थोरै स्थानहरू साथै बाँकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का देखि मध्यम बर्षाको संभावना छ।
  • साताको मध्यमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा हावाहुरीको पनि संभावना छ।
  • न्यूनतम तथा अधिकतम तापक्रम हल्का घट्ने संभावना छ।

कृषि सारांश

  • धानको कालोपोके रोग र उड्बट्टा रोग अथवा सिन्के धुप रोगको व्यवस्थापनको लागि खेतमा रहेका रोगी बोटका बालाहरु नष्ट गर्नुहोस्। साथै त्यस्तो बोटबाट बीउ नछान्नुहोस्।
  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग-कीरा नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • तराई तथा भित्री मधेशको लागि हिउँदे मकैका सिफारिस जातहरु-मनकामना-१, अरुण -३, अरुण -४, अरुण -६, खुमल हाइब्रिड-२, रामपुर हाइब्रिड -२, रामपुर हाइब्रिड -४, रामपुर हाइब्रिड -६, रामपुर हाइब्रिड -८, रामपुर हाइब्रिड -१० र पोसिलो मकै-२ मध्ये उपलब्ध जातहरु रोप्नुहोस्।
  • उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु-पासाङ्ल्हामु, डब्लु.के.१२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
  • मध्यर उच्च पहाडको लागि सिफारिस गरिएका तोरीको जात; लुम्ले-१, मध्य पहाडको लागि प्रगति र सुर्खेत स्थानीय तोरी-३, बेंसीको लागि उन्नति र प्रिती मध्ये उपलब्ध जात ०.५ के. जी. प्रति रोपनी बीउका दरले वेभिष्टिन ३ ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेरछर्नुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्लेकीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो १० देखी १५एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्ने गरि सात-सात दिनको अन्तरालमा तीन पटक छर्कनुहोस्।
  • मध्य पहाडी जिल्लाहरुमा २०-२५ दिन पुगेको खुमल चौडापात, खुमल रातोपात, मार्फा चौडापात जस्ता रायोका जातहरुको बेर्ना मुख्य प्लटमा सार्नुहोस्।
  • विभिन्न ठाँउहरुबाट खरिद बिक्रि हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुन्छ। त्यसकारण आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुसंग नमिसाईटाढै राख्नुहोस्। खोप लगाउने उमेर पुगेका र खोप लगाउने समय भएका खसी, बोका, बाख्रा र भेडा च्याङ्ग्राहरुमा पिपिआर र खोरेत विरुद्दको खोप लगाउनुहोस्।
  • बंगुरमा खोरेत र स्वाइन फिभर विरूद्ध खोप लगाउनुहोस्। साथै ३-१४ दिनका बंगुरका पाठापाठीहरुलाई रक्तअल्पताबाट बचाउन आईरन इन्जेक्सन लगाउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।