![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३०)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको चैनपुर केन्द्रमा ३७.३ मि.मि. वर्षा मापन भएको छ। तराईका सबै स्थानमा ३0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३५ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। मधेश प्रदेशका अधिकांश स्थानहरुमा तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही स्थानहरुमा २५ डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम १ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- देशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा हिमपातको संभावना छ।
- देशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन /चट्याङ्ग सहित हल्का वर्षाको संभावना छ।
- साताको मध्यमा सूदुर-पश्चिम प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा/ हिमपात संभावना छ।
- देशको हिमाली तथा पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली र तराईमा मौसम सामान्यतया सफा रहनेछ।
- अधिकांश स्थानहरुमा न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।
- साताको मध्यमा अधिकांश स्थानहरुमा हल्का बढ्ने देखिन्छ।
कृषि सारांश
- धानको कालोपोके रोग र उड्बट्टा रोग अथवा सिन्के धुप रोगको व्यवस्थापनको लागि खेतमा रहेका रोगी बोटका बालाहरु नष्ट गर्नुहोस्। साथै त्यस्तो बोटबाट बीउ नछान्नुहोस्।
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग-कीरा नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै यस्ता खेतमा टर्बो सिडर प्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
- उच्चपहाडको लागि सिफारिस गरिएका गहुँका जातहरु-पासाङ्ल्हामु, डब्लु.के. १२०४, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले बीउको व्यवस्था गर्नुहोस्।
- गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न पहाडमा कार्तिक १ देखि २५ गते (नोभेम्बर १०) भित्र र तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। पहाडका लागि सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरेर मात्र छर्नुहोस्।
- स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीनपटक छर्कनुहोस्।
- हिउँदे तरकारीहरुको नर्सरी ब्याड तयार गर्दा जग्गा खनजोत गरी १ भाग फर्मालिन ५० भाग पानीमा घोली जमिन भिज्नेगरि हालेर प्लास्टिकले ७ दिनसम्म ढाकी माटो उल्टाई पल्टाई गर्नुहोस्।
- बेर्ना सारेको १५-२० दिन भएको तरकारी बालीहरुको बोट वरिपरि रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
- विभिन्न ठाँउहरुबाट खरिद बिक्रि हुने खसी, बोका, भेडा, च्याङ्ग्राबाट पिपिआर/खोरेत रोग भित्रिने संभावना बढी हुन्छ। त्यसकारण आफ्ना खोर-गोठका पशुहरुलाई खरीद गरिएका नयाँ पशुवस्तुहरुसंग नमिसाई टाढै राख्नुहोस्। खोप लगाउने उमेर पुगेका र खोप लगाउने समय भएका खसी, बोका, बाख्रा र भेडा च्याङ्ग्राहरुमा पिपिआर र खोरेत विरुद्दको खोप लगाउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।