![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३२)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको चैनपुर, केन्द्रमा १३ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशको तराई र मधेश प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी प्रदेशको तराईका केही स्थानमा ३0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३२.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा १५ डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ भने हिमाली क्षेत्रका १-२ स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -४.१ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- सुदूर-पश्चिम र कर्णाली प्रदेशमा साताको शुरुमा आंशिक देखि सामान्य बदली, मध्यमा र अन्त्यमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ।
- कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा साताको शुरुमा थोरै स्थानहरुमा र मध्य तथा अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको तथा बाँकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानहरूमा हल्का वर्षा/हिमपातको संभावना छ।
- देशको तराई भू-भागको मौसम सामान्यतया सफा रहने संभावना छ।
- अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने संभावना छ।
कृषि सारांश
- धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग-कीरा नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै, यस्ता खेतमा टर्बो सिडरप्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
- पहाडी भेगको लागि सिफारिस गरिएका गहुँका जातहरु- सुर्मा, तिला, कौटिला, पासाङ्ल्हामु, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले लगाउनुहोस्।
- गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्।तराईका लागि सिन्दुरे रोग अवरोधी जातहरु बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरेर मात्र छर्नुहोस्।
- जिरो टिलेज तथा न्यूनतम खनजोत प्रविधिबाट गहुँ खेती गर्दा परम्परागत तरिका भन्दा १५-२५% बढी उत्पादन लिन सकिने भएकोले यो प्रविधिबाट गहुँ खेती गर्नुहोस्।
- तापक्रम कम हुँदै जाँदा यो समयमा फलफूल बाली (मेवा, आँप, आदि) काबोटमा मिलीबगको प्रकोप हुने भएकोले बगैंचाको नियमित अवलोकन गरी व्यवस्थापनको लागि बगैँचाको सरसफाईमा ध्यान दिनुको साथै बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि लगाउने वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेँलो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
- स्याउ टिपिसकेपछि पनि बोटमा कत्लेकीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रति लिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्नेगरि सात-सात दिनको अन्तरालमा तीन पट कछर्कनुहोस्।
- तरकारी बालीको बेर्ना सार्ने समय भएको हुँदा काउली, ब्रोकाउलीको लागिहार देखि हारको दूरीकरीब६०से.मी., लाईन देखि लाईनको दूरी ६० से.मी. र बन्दाको लागि हार देखि हारको दूरी करीब ४० से.मी. लाईन र लाईन देखि लाईनको दूरी करीब ४० से.मी. हुने गरि रोप्नुहोस्।
- रेड क्रियोल जातको प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले यसको व्यवस्थापनका फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
- हिउँदे तरकारीहरुको नर्सरी ब्याड तयार गर्दा जग्गा खनजोत गरी १ भागफर्मालिन ५० भाग पानीमा घोली जमिन भिज्नेगरि हालेर प्लास्टिकले ७ दिनसम्म ढाकी माटो उल्टाईपल्टाई गर्नुहोस्।
- चाडपर्वको समयमा पशुवस्तुको ओसार पसार बढेको हुनाले पिपिआर/खोरेत रोगको संक्रमण बढ्ने संभावना भएको हुँदा आफ्नो खोर/गोठका पशुहरुलाई समयमै नजिकको भेटेरिनरी कार्यालयहरुबाट दक्ष जनशक्तिको सल्लाह बमोजिम खोप लगाई सुरक्षित राख्नुहोस्।
- पंगास जातको माछा लेचिसो मौसम सहन नसक्ने हुँदा बिक्री योग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।