कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३३)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशको अछाम जिल्लामा रहेको वली गाउँ केन्द्रमा ३०.५ मि.मि. वर्षा मापन भएको छ। कोशी प्रदेशको अधिकांश तराई र मधेश प्रदेशका धेरै स्थानमा ३0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३२.९ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका एक-दुई स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -४.० डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी वायुको आंशिक प्रभाव रहनेछ।
  • साताभर कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक देखि सामान्य बदली रहनेछ।
  • देशका पहाडी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने तराई भू-भागमा मौसम सामान्यतया सफा नै रहनेछ ।
  • साताभर सबै प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
  • साताभर कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का बर्षाको संभावना रहेको छ।
  • देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने संभावना रहेको छ।

कृषि सारांश

  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग-कीरा नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्। साथै, यस्ता खेतमा टर्बो सिडरप्रयोग गरी गहुँ छरी लागत खर्च घटाउनुहोस्।
  • पहाडी भेगको लागि सिफारिस गरिएका गहुँका जातहरु- सुर्मा, तिला, कौटिला, पासाङ्ल्हामु, डाँफे, स्वर्गद्वारी, मुनाल, च्याखुरा, हिमगंगा र भेरीगंगा मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ ६.० के.जी. प्रति रोपनीको दरले लगाउनुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्।तराईका लागि सिन्दुरे रोग अवरोधी जातहरु बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरेर मात्र छर्नुहोस्।
  • जिरो टिलेज तथा न्यूनतम खनजोत प्रविधिबाट गहुँ खेती गर्दा परम्परागत तरिका भन्दा १५-२५% बढी उत्पादन लिन सकिने भएकोले यो प्रविधिबाट गहुँ खेती गर्नुहोस्। 
  • यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।
  • तापक्रम कम हुँदै जाँदा यो समयमा फलफूल बाली (मेवा, आँप, आदि) काबोटमा मिलीबगको प्रकोप हुने भएकोले बगैंचाको नियमित अवलोकन गरी व्यवस्थापनको लागि बगैँचाको सरसफाईमा ध्यान दिनुको साथै बोटको मुल काण्डको फीट माथि चारैतिर लेसिलो पट्टि लगाउने वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेँलो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
  • स्याउ टिपिसकेपछि पनि बोटमा कत्ले कीराको प्रकोप रहिरहने हुँदा यसको व्यवस्थापनको लागि खनिज तेल (सर्वो) १० देखी १५ एम.एल. प्रतिलिटर पानीमा मिसाई कीरा लागेको स्थानमा भिज्ने गरि सात-सात दिनको अन्तरालमा तीन पटक छर्कनुहोस्।
  • तरकारी बालीको बेर्ना सार्ने समय भएको हुँदा काउली, ब्रोकाउलीको लागिहार देखि हारको दूरी करीब ६० से.मी., लाईन देखि लाईनको दूरी ६० से.मी. र बन्दाको लागि हार देखि हारको दूरी करीब ४० से.मी. लाईन लाईन देखि लाईनको दूरी करीब ४० से.मी. हुने गरिरोप्नुहोस्।
  • रेड क्रियोल जातको प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।
  • काउली समूहको तरकारी बालीहरुमा बन्दाको पुतलीले पातको तल्लो भागमा पारेका फुल र लार्भाहरुलाई जम्मा पारि नष्ट गर्नुहोस्। कीराको प्रकोप बढी भएमा स्पिनोस्याड ४५% एस.सी. अथवा क्लोरानट्रानिलिप्रोल(कोराजेन) १८.५ इ.सी.,०.३ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख छर्नुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले यसको व्यवस्थापनका फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
  • हिउँदे तरकारीहरुको नर्सरी ब्याड तयार गर्दा जग्गा खनजोत गरी १ भागफर्मालिन ५० भाग पानीमा घोली जमिन भिज्नेगरि हालेर प्लास्टिकले ७ दिनसम्म ढाकी माटो उल्टाईपल्टाई गर्नुहोस्।
  • उच्च हिमाली खर्कबाट बेँसी झारिएका र घुम्ती प्रणालीमा पालिएका चौँरी, भेँडा तथा बाख्रामा खोरेत र पि.पि.आर. विरुद्द खोप लगाउनुहोस्। साथै नाम्ले/माटे विरुद्दको औषधी खुवाउनुहोस्।
  • पंगास जातको माछा लेचिसो मौसम सहन नसक्ने हुँदा बिक्री योग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।