कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३४)

मौसमी सारांश:

  • गत साता देशको एकाध केन्द्रमा छिटपुट वर्षा मापन भएको छ। कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका अधिकांश स्थानमा र लुम्बिनी प्रदेशको तराईका केही स्थानहरुमा ३0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको चतरा केन्द्रमा सबैभन्दा बढी ३२.६ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा ०.० डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -३.९ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरु र अन्त्यमा पश्चिमी वायुको आंशिक प्रभाव तथा मध्यमा सामान्य प्रभाव रहनेछ।
  • साताको मध्यमा सुदूर-पश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भू-भागको थोरै स्थानहरुमा तथा साताभर अन्य प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का बर्षा हिमपातको संभावना रहेको छ ।
  • तराईका भू-भागहरुमा साताको शुरुमा सामान्यतया सफा, मध्यमा आंशिक देखि सामान्य बदली तथा अन्त्यमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । 
  • साताको मध्यमा पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का बर्षाको संभावना रहेको छ ।
  • देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने संभावना रहेको छ।

कृषि सारांश

  • धानको बीउ छनोटको लागि बोट नढलेका, एकनासले पाकेका, रोग-कीरा नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरि राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर १ देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। तराईका लागि सिन्दुरे रोग अवरोधी जातहरु बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरेर मात्र छर्नुहोस्।
  • जिरो टिलेज तथा न्यूनतम खनजोत प्रविधिबाट गहुँ खेती गर्दा परम्परागत तरिका भन्दा १५-२५% बढी उत्पादन लिन सकिने भएकोले यो प्रविधिबाट गहुँ खेती गर्नुहोस्। 
  • यो समयमा सुन्तलाजात फलफूल बालीमा औँसा कीराको गतिविधिले झरेको फलहरुलाई संकलन पश्चात प्लाष्टिकको झोलामा हावा नछिर्ने गरेर बन्द गरी नष्ट गर्नुहोस् वा गहिरो खाल्डो खनेर गाड्नुहोस्। साथै वगैँचाको सरसफाई गर्नुहोस्।
  • तापक्रम कम हुँदै जाँदा फलफूल बाली (मेवा, आँप, आदि) का बोटमा मिली बगको प्रकोप हुने भएकोले बगैंचाको नियमित अवलोकन गरी व्यवस्थापनको लागि बगैँचाको सरसफाईमा ध्यान दिनुको साथै बोटको मुल काण्डको १ फीट माथि चारैतिर लेसिलो पट्टि लगाउने वा ४०० गेजको २५ से.मी. चौडा बाक्लो पहेँलो प्लाष्टिक बोटको फेदमा बाँध्नुहोस्।
  • तरकारी बालीको बेर्ना सार्ने समय भएको हुँदा काउली, ब्रोकाउलीको लागि हार देखि हारको दूरी करीब ६० से.मी., लाईन देखि लाईनको दूरी ६० से.मी. र बन्दाको लागि हार देखि हारको दूरी करीब ४० से.मी. लाईन लाईन देखि लाईनको दूरी करीब ४० से.मी. हुने गरि रोप्नुहोस्।
  • रेड क्रियोल जातको प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।
  • काउली समूहको तरकारी बालीहरुमा बन्दाको पुतलीले पातको तल्लो भागमा पारेका फुल र लार्भाहरुलाई जम्मा पारि नष्ट गर्नुहोस्। कीराको प्रकोप बढी भएमा स्पिनोस्याड ४५% एस.सी. अथवा क्लोरानट्रानिलिप्रोल (कोराजेन) १८.५ इ.सी., ०.३ एम.एल. प्रति लिटर पानीमा मिसाई साँझपख छर्नुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले यसको व्यवस्थापनका फ्लोनिकामिड ५० डब्लु.जी., १ ग्राम ३ लिटर पानीको दरले प्रयोग गर्नुहोस्।
  • चाडपर्वको समयमा पशुवस्तुको ओसार पसार बढेको हुनाले पिपिआर/खोरेत रोगको संक्रमण बढ्ने संभावना भएको हुँदा आफ्नो खोर/गोठका पशुहरुलाई समयमै नजिकको भेटेरिनरी कार्यालयहरुबाट दक्ष जनशक्तिको सल्लाह बमोजिम खोप लगाई सुरक्षित राख्नुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई अलग्गै छुट्टाई अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।