कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३७)

मौसमी सारांश:

  • गत साता कोशी प्रदेशको पाँचथर जिल्लामा रहेको फिदिम केन्द्रमा सबैभन्दा बढी ५.९ मि. मि. बर्षा मापन भएको छ। मधेश प्रदेशका अधिकांश स्थानमा र कोशी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश हरुको तराईका केही स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी २६.८ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको जोमसोम केन्द्रमा सबैभन्दा कम -५.० डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
  • सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागमा साताको शुरुमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ। साताको मध्य र अन्त्यमा पनि हिमाली भू-भागका एक-दुई स्थानमा हल्का बर्षा/हिमपातको संभावना रहेको छ।
  • सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा साताको शुरुमा एक-दुई स्थानमा हल्का वर्षा संभावना रहेको छ। साताको मध्य र अन्त्यमा पनि पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको संभावना रहेको छ।
  • देशका तराईका भू-भागमा साताभर हल्का हुस्सु/कुहिरोको संभावना छ। उक्त हुस्सु/कुहिरो मध्यान्ह सम्ममा/पछि क्रमिक रुपमा सुधार हुँदै जाने संभावना रहेको छ। 
  • देशका अधिकांश स्थानहरुमा अधिकतम र न्यूनतम तापक्रममा हल्का गिरावट आउने संभावना रहेको छ।

 

कृषि सारांश

 

  • गहुँबालीमा झारपात व्यवस्थापनको लागि गहुँ रोपेको १-५ दिनभित्र पेन्डीमिथालिन ३०% ई.सी., १५० मिलिलिटर प्रति रोपनीको लागि २५ लिटर पानीमा वा १०० मिलिलिटर प्रति कठ्ठाको लागि १७ लिटर पानीमा माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा अनुसार टपड्रेस गर्नुहोस्। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्।
  • तोरीबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस् फुल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस र आवश्यक परेमा १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।
  • आलुबालीको पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्।
  • भण्टाको डाँठ तथा फलको गबारोको अनुकूल मौसम भएकोले नियमीत अनुगमन गरि व्यवस्थापनको लागि परजीबी कीरा ट्राइकोग्रामाको प्रयोग गर्नुहोस्। गबारोको प्रकोप धेरै भएमा क्लोरनट्रानिलिप्रोल 18.5% एस.सी. वा स्पिनोसाड 45% एस.सी.,१ एम.एल. प्रति ३ लिटर पानीमा मिसाएर साँझपख छर्कनुहोस्।
  • तापक्रम घट्ने क्रम जारी भएकोले मौरी घारलाई चारैतिरबाट प्लास्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
  • खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।