![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ३९)
मौसमी सारांश:
- गत साता देशको कुनैपनि केन्द्रमा वर्षा मापन भएको छैन। तराईका अधिकांश स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३०.१ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा शुन्य डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -५.७ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- जल तथा मौसम विज्ञान विभागले जारी गरेको हिउँद अवधिको हावापानीको आँकलन अनुसार आगामी फागुन १७ सम्म देशका अधिकांश ठाउँहरुमा सरदर (६१ मि.मि.) भन्दा बढी वर्षा हुने र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना छ।
- साताको शुरु तथा मध्यमा पश्चिमी वायुको आंशिक देखि सामान्य प्रभाव रहनेछ।
- हिमाली भू-भागमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाहिमपातको संभावना छ।
- साताको शुरु र मध्यमा कोशी, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशको अधिकतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने तर बाँकी प्रदेशको अधिकतम तापक्रम हल्का घट्ने संभावना छ।
- लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने तर बाँकी प्रदेशको न्यूनतम तापक्रम हल्का घट्ने संभावना छ।
- साताको शुरूमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा बाक्लो हुस्सुकुहिरो लाग्ने तथा उक्त हुस्सुकुहिरो मध्यान्हपछि मात्र क्रमिक रुपमा सुधार हुँदै जाने संभावना छ।
- हल्का देखि मध्यम हुस्सुकुहिरो भने साताभर नै देशका तराई भू-भागमा लाग्ने तर उक्त हुस्सुकुहिरो मध्यान्ह सम्ममा नै क्रमिक रुपमा सुधार हुँदै जाने संभावना छ।
कृषि सारांश
- हिउँदमा उपलब्ध पानीको दक्षता पुर्वक प्रयोगको लागि हिउँदे बाली तथा फलफूलहरुमा सिंचाईको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। वर्षाको पानी प्लास्टिक पोखरीहरुमा जम्मा गरी सिंचाईका नवीनतम प्रविधिहरु जस्तै: थोपा सिंचाई, स्प्रिन्क्लर ईत्यादी आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
- गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा अनुसार टपड्रेस गर्नुहोस्। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- तोरीबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस्। फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस र आवश्यक परेमा १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
- पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल खनी करिब एक महिना सुकाउनुहोस्। सो खाडलमा सुकेका पातपतिंगर तथा झारपात राखी जलाउनुहोस्।
- मध्यपहाडमा माघ महिनामा लगाईने आलुबालीका बीउ शीतभण्डारबाट निकाली फिँजाएर टुसाउन दिनुहोस्।
- आलुबालीको पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
- मध्यपहाडी क्षेत्रमा लहरे तरकारी बालीहरुको पोलीब्यागमा बेर्ना तयार गर्नुहोस्।
- चिसोको कारणले चल्लाहरुमा ब्रुडिङ निमोनिया तथा कुखुरामा सि.आर.डी. र एसाइटिस हुनसक्ने भएकोले खोरमा उचित तापक्रम र भेन्टिलेसनको व्यवस्था गर्नुहोस्।
- खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
- कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
- कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।