कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४०)

मौसमी सारांश:

  • गत साता देशको कुनैपनि केन्द्रमा वर्षा मापन भएको छैन। कोशी प्रदेशको तराईका केही स्थानहरुमा २५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी २८.२ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा ०.० डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ । गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -८.५ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
  • जल तथा मौसम विज्ञान विभागले जारी गरेको हिउँद अवधिको हावापानीको आँकलन अनुसार आगामी फागुन १७ सम्म देशका अधिकांश ठाउँहरुमा सरदर (६१ मि.मि.) भन्दा बढी वर्षा हुने र अधिकतम तापक्रम सरदर भन्दा बढी हुने संभावना छ।
  • साताको  शुरु तथा अन्त्यमा पश्चिमी वायूको आंशिक प्रभाव तथा मध्यमा पश्चिमी वायूको सामान्य प्रभाव रहनेछ। 
  • हिमाली भू-भागमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा/हिमपातको संभावना रहेको छ। साताको मध्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम हिमपातको संभावना रहेको छ।
  • साताको मध्यमा कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का बर्षाको संभावना रहेको छ।
  • देशका अधिकांश स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने संभावना रहेको छ।
  • देशभर देशका तराई भू-भागमा हल्का देखि मध्यम हुस्सु/कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्न वा अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने संभावना रहेको छ। 

कृषि सारांश

 

  • हिउँदमा उपलब्ध पानीको दक्षता पूर्वक प्रयोगको लागि हिउँदे बाली तथा फलफूलहरुमा सिंचाईको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। वर्षाको पानी प्लास्टिक पोखरीहरुमा जम्मा गरी सिंचाईका नवीनतम प्रविधिहरु जस्तै: थोपा सिंचाई, स्प्रिन्क्लर ईत्यादी आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा अनुसार टपड्रेस गर्नुहोस्। गहुँ पहेँलो हुने समस्याबाट बच्न सिँचाई गर्दा पानी जम्न नदिन विशेष ध्यान दिनुहोस्।
  • गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • मध्यपहाडमा माघ महिनामा लगाईने आलुबालीका बीउ शीतभण्डारबाट निकाली फिँजाएर टुसाउन दिनुहोस्।
  • आलुबालीको पछौटे डढुवा रोगको नियमित अनुगमन गर्नुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रति लिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखि लाही लागेको ठाँउमा भिज्ने गरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्। प्रकोप ज्यादा भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।
  • तापक्रम न्यून रहेकोले मौरी घारलाई चारैतिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
  • कात्तिक महिनामा लगाइएको उखुबालीमा सिंचाई पश्चात चिस्यानको अवस्था हेरी ३.६ के.जी. युरिया प्रति कठ्ठाका दरले पहिलो टपड्रेस गर्नुहोस्।
  • चिसो बढेसँगै कुखुराका खोरहरुमा जैविक सुरक्षाका उपायहरु कडाईका साथ लागू गर्न किसानहरुले हेलचेक्रयाई गर्ने हुँदा, गम्बरो, रानीखेत जस्ता विषाणुजन्य रोगहरुको प्रकोप देखिन सक्छ। रोगहरु लाग्न नदिन पशु चिकित्सकको सल्लाहमा नियमित खोपहरुको प्रयोग गर्नुहोस्।
  • खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ। यसको पुन: प्रसारण आईतबार बिहान ७ बजेको समाचारपछि पनि हेर्न सकिन्छ।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म प्रसारण हुने गर्दछ।