![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४२)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी बागमती प्रदेशको दोलखा जिल्लामा रहेको जिरि केन्द्रमा १५.९ मि.मि. वर्षा मापन भएको छ। कोशी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा १० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ तथा अरु प्रदेशको तराईका स्थानहरुमा १५ डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने काभ्रेपलाञ्चोक जिल्लामा रहेको पाँचखाल केन्द्रमा सबैभन्दा बढी २५.७ डि.से. अधिकतम तापक्रम मापन गरिएको छ। हिमाली क्षेत्रका केही स्थानहरुमा ०.० डि.से. भन्दा कम न्यूनतम तापक्रम मापन गरिएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -६.२ डि.से. न्यूनतम तापक्रम मापन भएको छ।
- साताभरि पश्चिमी वायूको आंशिक प्रभाव रहने छ।
- कर्णाली प्रदेशको हिमाली भू-भागमा साताको मध्य र अन्त्यमा थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
- कोशी प्रदेशको हिमाली भू-भागमा साताको शुरू र अन्त्यमा एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षा/हिमपात साथै मध्यमा थोरै स्थानहरुमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ।
- साताको मध्य र अन्त्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का बर्षाको सम्भावना रहेको छ।
- देशका अधिकांश स्थानहरूको अधिकतम तथा न्यूनतम तापक्रममा हल्का घट्ने सम्भावना रहेको छ।
- देशका तराई भू-भागमा हल्का देखि मध्यम साथै एक-दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्न वा अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुँदै जाने सम्भावना रहेको छ।
कृषि सारांश
- हिउँदमा उपलब्ध पानीको दक्षतापूर्वक प्रयोगको लागि हिउँदे बाली तथा फलफूलहरुमा सिंचाईको व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। वर्षाको पानी प्लास्टिक पोखरीहरुमा जम्मा गरी सिंचाईका नवीनतम प्रविधिहरु जस्तै: थोपा सिंचाई, स्प्रिन्क्लर ईत्यादी आवश्यकता अनुसार प्रयोग गर्नुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- मध्यपहाडमा राम्रोसँग टुसाएका जनकदेव, डेजिरे, कुफ्री ज्योती, खुमल सेतो १, खुमल उपहार, खुमल उज्वल, खुमल विकास र कार्डिनल मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ आलु रोप्नुहोस्।
- जाडो याममा फलफूलका बिरुवाहरु सुषुप्त अवस्थामा पुगेका हुनाले कटिंगद्वारा बिरुवा प्रसारण गर्न सकिने अनार अंगुर जस्ता फलफूलका स्वस्थ माउबोटबाट लामो शिशाकलम साइजका (१५-२० से. मी.) एक वर्ष पुराना हाँगा छानी बालुवा, माटो र कम्पोष्ट मलको १:१:१ को अनुपातमा तयार गरिएको ब्याडमा कटिंग रोप्नुहोस् ।
- लसुन र प्याजको प्याजी डढुवा रोग व्यवस्थापनका लागि रोग लागेका पातहरु हटाइ खाल्डो खनी पुरी बारी सफा गर्नुहोस् । रोगको अवस्था हेरी ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता विषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- आगामी साता तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखि लाही लागेको ठाँउमा भिज्नेगरी भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्। प्रकोप ज्यादा भएमा डाइमेथोएट ३०% ई.सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई लाही लागेको ठाँउमा भिज्नेगरि छर्कनुहोस्।
- तापक्रम न्यून रहेकोले मौरी घारलाई चारैतिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
- कात्तिक महिनामा लगाइएको उखुबालीमा सिंचाई पश्चात चिस्यानको अवस्था हेरी ३.६ के.जी. युरिया प्रति कठ्ठाका दरले पहिलो टपड्रेस गर्नुहोस्।
- चिसो बढेसँगै कुखुराका खोरहरुमा जैविक सुरक्षाका उपायहरु कडाईका साथ लागू गर्न किसानहरुले हेलचेक्रयाई गर्ने हुँदा, गम्बरो, रानीखेत जस्ता विषाणुजन्य रोगहरुको प्रकोप देखिन सक्छ। रोगहरु लाग्न नदिन पशु चिकित्सकको सल्लाहमा नियमित खोपहरुको प्रयोग गर्नुहोस्।
- खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
- तराई भू-भागमा साताका अधिकांश दिनहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।