कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ९, अंक ४३)

मौसमी सारांश:

  • साताभर पश्चिमी वायुको आंशिक प्रभाव रहने संभावना छ ।
  • देशका हिमाली भू-भागको थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको संभावना रहेको छ।
  • शुरू र मध्यमा देशका पहाडी भू-भागका एक-दुई स्थानमा साथै साताको अन्त्यमा बागमती र कोशी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ । साताको अन्त्यमा कोशी प्रदेशको तराईको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको संभावना रहेको छ।
  • देशका अधिकांश स्थानहरूको अधिकतम तापक्रममा हल्का घट्ने र तथा तराईका स्थानहरूमा साताको अन्त्यमा न्यूनतम तापक्रम हल्का बढ्ने संभावना रहेको छ।
  • देशका तराई भू-भागमा साताको शुरू र मध्यमा हल्का देखि मध्यम हुस्सु/कुहिरो साथै एक-दुई स्थानमा बाक्लो हुस्सु/कुहिरो लाग्ने तर उक्त हुस्सु/कुहिरो मध्यान्न वा अपरान्ह सम्ममा क्रमिक रूपमा सुधार हुँदै जाने संभावना रहेको छ।

कृषि सारांश

  • तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातका बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
  • किविफल, स्याउ, नासपाती जस्ता फलफूलमा २ वर्षभन्दा पुराना हाँगाहरुमा फल नलाग्ने हुनाले यी फलफूललाई यसै मौसम (माघ) भित्र काँटछाँट गर्नुहोस्। काँटछाँट गरेको भागमा १०% बोर्डोपेष्ट लगाउनुहोस्।
  • औंसा कीरा प्रभावित सुन्तलाजातका फलफुलका बगैंचामा कीरा लागेर झरेका फलफूलहरुलाई टिपेर गहिरो खाडल खनी ब्यवस्थापन गर्नुहोस्। साथै बोट वरिपरिको माटो खनजोत गरि कीराको सुषुप्त अवस्थालाई नष्ट गर्नुहोस्।
  • आलुबालीमा भाईरस रोगको नियमित अनुगमन गर्नुहोस्। पात दोब्रिएका, टाटेपाटे देखिएका, पहेँलिएका र स्वस्थ बोटभन्दा फरक देखिएका भाइरस संक्रमित बोटहरु उखेलेर नष्ट गर्नुहोस्। आलुबालीको पात बटारिने भाईरस रोग बीउ आलु वा लाही कीराबाट सर्ने हुनाले रोगमुक्त बीउ आलु मात्र रोप्नुहोस्।
  • आगामी साता तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोगको अनुगमन गर्नुहोस्। प्रकोप देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी. वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
  • तापक्रम न्यून रहेकोले मौरी घारलाई चारैतिरबाट प्लाष्टिक वा जुटको बोराले बेरेर राख्नुहोस्। साथै घारको नियमित निरीक्षण गरी मौरीलाई खानेकुरा कम छ भने आवश्यकता अनुसार चिनी चास्नी बनाएर खुवाउनुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई हरियो घाँस र पोषणतत्वको कमी हुने र उत्पादन तथा उत्पादकत्वमा पनि कमी आउने भएकोले उक्त समयमा उग्राउने पशुहरु जस्तै-गाई, भैँसी, भेडा बाख्राहरुलाई युरिया मिश्रित पराल (४% युरिया) वा युरिया मोलासिस मिनिरल ब्लक ३०० ग्राम प्रति दिनका दरले चाट्न दिनुहोस्।
  • खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
  • तराई भू-भागमा साताका अधिकांश दिनहरूमा बिहानीपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछापोखरीमा अक्सिजनको कमीबाट हुन सक्ने क्षति कम गर्न बादल लागेको दिन र भोलिपल्ट बिहानीपख प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको एरेटरको प्रयोग गर्नुहोस्। साथै बादल लागेको समयमा दाना दिन बन्द गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।