कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ६)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी कोशी प्रदेशको झापा जिल्लामा रहेको गैंडा केन्द्रमा १२३.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेशको तराईका सबै तथा मधेश प्रदेशका केही स्थानहरु बाहेकका तराईका स्थानहरुमा ३५.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको टिकापुर केन्द्रमा सबैभन्दा बढी ४०.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। लुम्बिनी प्रदेशका तराईका धेरै तथा मधेश, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानहरुमा २५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको थाकमार्फा केन्द्रमा सबैभन्दा कम ८.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर शुरुमा पश्चिमी वायु, स्थानीय वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशीक प्रभाव रहने संभावना छ। साथै, साताको  मध्य र अन्त्यमा देशको पूर्वी भूभागमा बंगालको खाडीमा बन्ने चक्रपातको पनि प्रभाव रहने संभावना छ।
  • साताभर देशको हिमाली भू-भागहरुमा आंशिक देखि साधारणतया बदलीको संभावना छ। साथै कोशी प्रदेशको हिमाली भूभागमा मध्य र अन्त्यमा साधारणतया बदली देखि पूर्णतया बदली रहने संभावना छ।
  • देशको तराईका भू-भागहरुमा साताको शुरुमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। मध्य र अन्त्यमा कोशी र मधेश प्रदेशको तराईका भू-भागहरुमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। साथै, कोशी प्रदेशको तराईका भू-भागहरुमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा भारी बर्षाको पनि संभावना छ।
  • देशको अधिकांश पहाडी भू-भागहरुमा साताको शुरू मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/असिना, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। साताको मध्य र अन्त्यमा कोशी प्रदेशको पहाडी भू-भाहरुका एक-दुई स्थानमा भारी बर्षाको पनि संभावना छ। साताको अन्त्यमा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
  • साताको शुरुमा कोशी, वागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा र मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षाहिमपातको संभावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागमा साताको शुरू मध्यमा थोरै स्थानहरुमा हल्का वर्षाहिमपात तथा अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षाहिमपातको संभावना छ।
  • सातामा देशका अधिकांश स्थानहरूमा अधिकतम न्यूनतम तापक्रममा हल्का बढ्ने तर पूर्वी हिमाली क्षेत्रमा भने उल्लेखनीय परिवर्तन नहुने संभावना छ। मध्य र अन्त्यमा देशका पूर्वी क्षेत्रमा तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।

मनसुन सिजन २०८१ (२०८१ जेठ १९ - असोज १४) को हावापानी आँकलन

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। सुदुरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेश प्रदेशको मध्य भू-भाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ भने कर्णाली प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको मध्य भू-भाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भू-भागमा सरदर रहने संभावना ३५% देखि ४५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै भू-भागमा सरदर रहने संभावना ३५% देखि ४५% रहेको छ।

 

कृषि सारांश

  • आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्।
  • मनसुनको शुरुवातमा सुख्खा तथा उत्तरार्द्धमा बढी पानी पर्ने देखिएकाले सुख्खा डुबान सहन सक्ने सिफारिश गरिएका धानका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
  • मकैबालीमा अमेरिकी फौजी कीराको प्रकोप देखिएकोले नियमित अनुगमन गर्नुहोस्। कीराको संख्या तथा क्षतिको आँकलन गर्न वयस्कको लागि बत्ति र फेरोमन पासोको तथा लार्भाको लागि खाल्डे पासोको प्रयोग गर्नुहोस्। प्रकोप ज्यादा भएमा नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएट ५% एस.जी., १ ग्राम प्रति ३ लिटर पानी वा स्पिनोस्याड ४५% एस.सी., १ एम.एल. प्रति ३ लिटर पानीको दरले बोट भिज्नेगरि ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्।
  • फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोग व्यवस्थापनको लागि मरेका बोटहरु, रोगग्रस्त पातहरु र रोग लागेर ओइलाएका हाँगाहरु रोग लागेको ठाँउभन्दा ४-५ इन्च मुनीबाट काटेर जम्मा गरि जलाउनुहोस्। रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • भेडा, बाख्रामा लाग्ने फित्ते जुकाको लागी प्राजिक्वान्टेल, १०-१५ एम.जी. प्रति के.जी. शारीरिक तौलका दरले खुवाउनुहोस्।
  • तराईका भू-भागहरुमा उच्च तापक्रमका कारण माछामा हुने क्षती न्यूनीकरणका लागि एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
  • कृषि-मौसम सल्लाह बुलेटिन रेडियो नेपालबाट प्रत्येक शनिबार बेलुका ६:२५ देखि ६:३५ बजेसम्म साथै नेपाल टेलिभिजनको NTV NEWS Channel बाट प्रत्येक शनिबार बेलुका ८ बजेको समाचारपछि प्रसारण हुने गर्दछ।