![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ७)
मौसमी सारांश:
- गत साता सबैभन्दा बढी गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा रहेको लेते केन्द्रमा १२४.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरुमा ४०.0 डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लामा रहेको टिकापुर केन्द्रमा सबैभन्दा बढी ४१.२ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। तराईका अधिकांश स्थानहरुमा २५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ८.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताभर पश्चिमी वायु, स्थानीय वायु तथा मध्यमा लखनउ आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहने संभावना छ।
- साताभर देशको हिमाली भू-भागहरुमा आंशिक देखि साधारणतया बदलीको संभावना छ।
- लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भू-भागहरुमा तातो हावा तथा तातो लहरको संभावना छ।
- साताको सुरुमा बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा साथै कोशी प्रदेश र मधेश प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको मध्यमा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा साथै कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा साथै साताको अन्त्यमा बागमती, गण्डकी, लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा साथै मधेश प्रदेश लगायत कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- देशको पहाडी भू-भाहरुमा साताको शुरू र मध्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ। साताको शुरु र अन्त्यमा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/असिना, हावाहुरी सहित हल्का वर्षाको संभावना छ। साताको अन्त्यमा कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको संभावना छ।
- साताको शुरु कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा साथै मध्य र अन्यमा गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको संभावना छ।
- देशका अधिकांश स्थानहरूमा साताको सुरुमा अधिकतम तापक्रममा हल्का बढ्ने तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।
मनसुन सिजन, २०८१ को हावापानी आँकलन
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी वर्षा हुने संभावना ३५% देखि ५५% रहेको छ। सुदुरपश्चिम प्रदेशको उत्तर-पश्चिमी भू-भाग, बागमती प्रदेशको दक्षिण-पूर्वी भू-भाग, मधेश प्रदेशको मध्य भू-भाग र कोशी प्रदेशको मध्य तथा मध्य-पश्चिमी भूभागमा सरदर वर्षा हुने संभावना ३५% देखि ४५% रहेको छ। अधिकतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ भने कर्णाली प्रदेशको पश्चिमी भू-भाग, गण्डकी प्रदेशको मध्य भू-भाग तथा कोशी प्रदेशको उत्तर-पूर्वी भू-भागमा सरदर रहने संभावना ३५% देखि ४५% रहेको छ। त्यसैगरी न्यूनतम तापक्रम देशका अधिकांश स्थानहरुमा सरदर भन्दा बढी हुने संभावना ३५% देखि ६५% रहेको छ भने सुदुरपश्चिम प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको थोरै भू-भागमा सरदर रहने संभावना ३५% देखि ४५% रहेको छ।
कृषि सारांश
- आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानहरुमा सरदर वा सरदर भन्दा बढी वर्षा हुने संभावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरणका लागि कृषि कर्महरु गर्दा पुर्व तयारी कार्यलाई विशेष ध्यान दिनुहोस्।
- मनसुनको शुरुवातमा सुख्खा तथा उत्तरार्द्धमा बढी पानी पर्ने देखिएकाले सुख्खा र डुबान सहन सक्ने सिफारिश गरिएका धानका जातहरु आवश्यकता अनुसार लगाउनुहोस्।
- सिंचाइ र पानीको निकास राम्रो भएको धान खेतीमा जलवायु मैत्री कृषि प्रविधिहरु जस्तै: सुख्खा छरुवा, हिले छरुवा तथा राईस ट्रान्सप्लान्टर प्रयोग गरी लागत न्यूनीकरण गर्नुहोस्।
- वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
- मकैबालीमा अमेरिकी फौजी कीराको संख्या तथा क्षतिको आँकलन गर्न वयस्कको लागि बत्ति र फेरोमन पासोको तथा लार्भाको लागि खाल्डे पासोको प्रयोग गर्नुहोस्। प्रकोप ज्यादा भएमा नोक्सानी कम गर्न इमामेक्टिन बेन्जोएट ५% एस.जी., १ ग्राम प्रति ३ लिटर पानी वा स्पिनोस्याड ४५% एस.सी., १ एम.एल. प्रति ३ लिटर पानीको दरले बोट भिज्नेगरि ७ दिनको फरकमा २-३ पटक छर्नुहोस्।
- फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
- भेडा, बाख्रामा लाग्ने फित्ते जुकाको लागी प्राजिक्वान्टेल, १०-१५ एम.जी. प्रति के.जी. शारीरिक तौलका दरले खुवाउनुहोस्।
- स्थानीय कार्प (रहू, नैनी र भाकुर) माछाको प्रजनन मौसम भएकोले माउ माछाको व्यवहार परिवर्तनको दैनिक रेकर्डका आधारमा प्रत्येक हप्ता माउ पोखरीबाट परिपक्क माउ छनौट गरेर करीब २४ घण्टा होल्डिङ्ग ट्याङ्कीमा अनुकुलन गरि प्रजनन गर्नुहोस्।
- तराईका भू-भागहरुमा उच्च तापक्रमका कारण माछामा हुने क्षती न्यूनीकरणका लागि एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।