कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ८)

मौसमी सारांश:

  • गत साता सबैभन्दा बढी बागमती प्रदेशको चितवन जिल्लामा रहेको रामपुर केन्द्रमा १८४.२ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरुमा ४० डि.से. भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको बाँके जिल्लामा रहेको नेपालगञ्ज केन्द्रमा सबैभन्दा बढी ४१.६ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थानहरुमा २५.० डि.से. भन्दा बढी न्यूनतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम ८.९ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर पश्चिमी वायु, स्थानीय वायु तथा मध्य र अन्त्यमा बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा बन्ने न्यून चापीय प्रणालीको आंशिक प्रभाव साथै कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायूको पनि प्रभाव रहने संभावना छ।
  • साताभर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि साधारणतया बदलीको संभावना छ। साथै, कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा साताको शुरुमा आंशिक देखि साधारणतया बदली, मध्य र अन्त्यमा साधारणतया देखि पूर्णतया बदलीको संभावना छ।
  • साताको शुरुमा कोशी र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का वर्षाहिमपात, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाहिमपात संभावना छ। साताको शुरुमा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक दुई स्थानमा साथै मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षा/ हिमपातको संभावना छ। साथै साताभर कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षाहिमपातको संभावना छ।
  • कोशी र मधेश प्रदेशमा साताको शुरुमा थोरै स्थानहरूमा, मध्य र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा साथै एक-दुई स्थानमा भारी वर्षा, बागमती प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा, गण्डकी प्रदेशमा साताको शुरू र मध्यमा एक-दुई स्थानमा र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी सहित हल्का वर्षाको संभावना छ।
  • साताभर गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाहरुमा आंशिक देखि साधारणतया बदलीको संभावना छ। साथै कोशी र बागमती प्रदेशको पहाडी भू-भागहरुमा साताको शुरुमा आंशिक देखि साधारणतया बदली, मध्य र अन्त्यमा साधारणतया देखि पूर्णतया बदलीको संभावना छ।
  • कोशी प्रदेशमा साताको शुरुमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गहावाहुरी सहित हल्का देखि मध्यम वर्षा, मध्य र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्ग हावाहुरी सहित हल्का देखि मध्यम वर्षा साथै एक-दुई स्थानमा भारी वर्षा, बागमती प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा, मध्यमा थोरै स्थानहरुमा र अन्त्यमा केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गहावाहुरी सहित हल्का देखि मध्यम वर्षा, साथै एक-दुई स्थानमा भारी वर्षा, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग, हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको साथै गण्डकी प्रदेशमा एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना छ।
  • देशका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकतम तथा न्यूनतम तापक्रममा उल्लेखनीय परिवर्तन नहुने संभावना छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको अधिकांश स्थानहरुमा साताको अन्त्यमा अधिकतम तथा न्यूनतम तापक्रममा हल्का घट्ने संभावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागहरुमा उल्लेखनीय परिवर्तन नहुने संभावना छ।


कृषि सारांश

  • वर्षे धानबालीवाट राम्रो उत्पादन लिन आफूले लगाउन चाहेको ठाँउ अनुसार सिफारिस गरिएका धानका उन्नत जातहरुको बीउ उपचार गरी व्याड राख्नुहोस्।
  • उखुबालीमा प्लासी गवारोले क्षती पुर्याउने भएकोले नियमित अनुगमन गरि ब्यवस्थापनका उपायहरु अपनाउनुहोस्।
  • धेरै विहान आँप टिप्दा पानीको मात्रा बढी बग्न गई फलको गुणस्तर बिग्रने हुँदा मध्य विहान र बेलुकीपख मात्र टिप्नुहोस्।
  • सुन्तलाजात फलफूल बालीको नर्सरीमा चुसाहा कीराहरुबाट हुने नोक्सानी कम गर्नको लागि इमिड़ाक्लोप्रिड (१७.८% एस. एल.) ०.५ मिलि लिटर प्रति लिटर पानीमा घोली पात भिज्नेगरि छर्नुहोस्।
  • गोलभेँडा तथा लहरे बालीमा डढुवा रोगको अनुकूल वातावरण भएकोले मेन्कोजेवयुक्त विषादी २.५ ग्राम प्रति लिटर पानीमा घोलेर बोटको सम्पूर्ण भाग भिज्नेगरि ७ दिनको अन्तरमा ४-६ पटक छर्नुहोस्।
  • फर्सी समुहको तरकारीमा लाग्ने चोप निस्कने डढुवा रोगको लक्षण देखापरेमा मेन्कोजेवयुक्त वा क्लोरोथालोनिल नामक विषादी २ ग्राम प्रति लिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरि छर्केर उपचार गर्नुहोस्।
  • भेडा, बाख्रामा लाग्ने फित्ते जुकाको लागी प्राजिक्वान्टेल, १०-१५ एम.जी. प्रति के.जी. शारीरिक तौलका दरले खुवाउनुहोस्।
  • स्थानीय कार्प (रहू, नैनी र भाकुर) माछाको प्रजनन मौसम भएकोले माउ माछाको व्यवहार परिवर्तनको दैनिक रेकर्डका आधारमा प्रत्येक हप्ता माउ पोखरीबाट परिपक्क माउ छनौट गरेर करीब २४ घण्टा होल्डिङ्ग ट्याङ्कीमा अनुकुलन गरि प्रजनन गर्नुहोस्।
  • तराईका भू-भागहरुमा उच्च तापक्रमका कारण माछामा हुने क्षती न्यूनीकरणका लागि एरेटरको नियमित प्रयोग गर्नुहोस् तथा पम्पको प्रयोग गरी पानीको तापक्रम स्थिर राख्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।