![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३१)
मौसमी सारांश:
- गत साता देशको केही केन्द्रहरुमा हल्का देखि भारी वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको लुम्ले केन्द्रमा ६८.६ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश, कोशी प्रदेश ,लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका तराईका एक-दुईस्थानमा ३०.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको पर्सा जिल्लामा रहेको विरगन्ज केन्द्रमा सबैभन्दा बढी ३३.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम ०.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनेछ।
- देशका हिमाली र पहाडी भू-भागहरूमा साताभरी नै आंशिक बदली र तराई भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।
- सबै प्रदेशका हिमली भू-भागमा साता शुरुमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना छ। साताको अन्त्यमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा थोरै स्थानहरूमा र कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।
- कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा साता शुरुमा एक-दुई स्थानमा हल्का, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का वर्षा/हिमपातको सम्भावना र बाँकी पहाडी भू-भागमा साताको शुरु, मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
- देशका तराई भू-भागमा साताभरी नै बिहानीपख हुस्सु/कुहिरो लाग्ने सम्भावना छ।
- अधिकतम र न्यूनतम तापक्रम देशको हिमाली भू-भागमा हल्का घट्ने र पहाडी तथा तराईका भू-भागमा साताभर उल्लेखनिय परिवर्तन नभए पनि साताको अन्त्यमा हल्का घट्ने सम्भावना छ।
कृषि सारांश
- कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत र वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
- धानको बीउ छनोटको लागि एकनासले पाकेका, रोग नलागेका पुष्ट बाला संकलन गरेर चुटानी गरी राम्रोसँग घाममा सुकाएर भण्डारण गर्नुहोस्।
- मध्यपहाडका लागि गहुँवालीको सिन्दुरे रोग अवरोधी बीउहरु: स्वर्गद्वारी, मुनाल, च्याखुरा तथा तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउ उपचार गरी छर्नुहोस्।
- पहाडको लागि सिफारिस मुसुरोका जातहरु मध्ये उपलब्ध जातको गणुस्तरिय बीउ २ के.जी. प्रति रोपनीका दरले बीउ उपचार गरी छर्नुहोस्।
- तराई, भित्री-मधेश तथा बेँशीमा आलुका सिफारिस जातहरु मध्ये उपलब्ध जातहरूको गुणस्तरीय बीउ आलुलाई उपचार गरेर मात्र रोप्नुहोस्। जग्गा तयारीको बेलामा ७५० के.जी. कम्पोष्ट, ७.३ के.जी. डि.ए.पी., १.५ के.जी. युरिया र ३.३ के.जी. एम.ओ.पी. प्रति कठ्ठाका दरले माटोमा मिलाउनुहोस्।
- प्याजको बीउ नर्सरीमा राखी छापो लगाउनुहोस्। साथै बीउ राम्रोसँग उमार्नको लागि रोप्नुअघि १२ घन्टा जति पानीमा बीउ भिजाउनुहोस्।
- तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्।
- गोलभेँडामा अगौटे डढुवाको प्रकोप कम छ भने मेन्कोजेब ७५% डब्लु.पि. २.५ ग्राम प्रति लिटर पानीमा घोलेर स्प्रे गर्नुहोस्।
- उखुका सिफारिस गरिएका उन्नत जातहरु मध्ये उपलब्ध जातको गणुस्तरिय बीउको समयमा नै व्यवस्था गरि ३ आँखा भएका १५०-२०० के.जी. बीउ प्रति कट्ठा बीउको दरले उपचार गरि रोप्नुहोस्।
- मौसम परिवर्तनसंगै पशुवस्तुमा जुकाको प्रकोप बढ्ने हुँदा पशुबस्तुलाई गोबर जाँच गरी जुका विरुद्वको औषधि प्राविधिकको सल्लाह बमोजिम प्रयोग गर्नुहोस्।
- मध्यपहाड र तराईमा हिउँदे घाँसहरु- बर्सिम, जै, भेच, केराउ आदि लगाउन शुरु गर्नुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।