कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३३)

मौसमी सारांश:

  • गत साता देशको एक-दुई केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको खाँदबारी केन्द्रमा १.३  मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ।मधेश प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानहरूमा बाहेक अरू तराईका स्थानहरूमा ३०.0 डि.से. भन्दा कम साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा सबैभन्दा बढी ३१.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -४.६ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साता देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहनेछ। साताको शुरूमा बंगलादेशको तल्लो वायुमण्डलमा अवस्थित निम्न चापिय प्रणालीको पनि आंशिक प्रभाव रहनेछ।
  • साताको शुरूमा देशका अधिकांश हिमाली तथा पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहनेछ भने साताको मध्यमा र अन्त्यमा आंशिक बदली रहनेछ।
  • साताको शुरूमा कोशी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
  • साताको शुरुमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • देशका तराई भू-भागमा साताभरी नै बिहान क्षणिक हुस्सु/कुहिरो लाग्ने सम्भावना छ। तथापी साताको मध्य तथा अन्त्यमा हुस्सु/ कुहिरोको अवधि साताको शुरूमा भन्दा केही बढ्ने सम्भावना छ।
  • अधिकांश स्थानहरूमा साताको शुरूमा अधिकतम र न्यूनतम तापक्रम  हल्का घट्ने तर मध्य र अन्त्यमा उल्लेखनिय परिवर्तन नहुने सम्भावना छ।
  • यो साता वर्षा तथा तापक्रम औसतकै आसपास रहने सम्भावना छ।

 कृषि सारांश

 

  • कम्बाईन हार्भेष्टरले धान काट्दा खेतमा छोडेको पराल जलाउँदा खेत वातावरणमा प्रतिकुल प्रभाव पार्ने तथा पशु आहारामा समेत असर पार्ने हुँदा बेलर मेसिन अथवा अन्य विधिहरु बाट पराल जम्मा गर्नुहोस्।
  • गहुँवालीमा सिन्दुरे रोगको प्रकोप कम गर्न तराईमा मंसिर देखि २५ गते (डिसेम्बर १०) भित्र गहुँ छरिसक्नुहोस्। तराईका लागि बाणगंगा, बि.एल. ४३४१, एन.एल. ९७१, आदित्य जातका बीउलाई भाइटाभेक्स ग्राम प्रति के.जी. बीउका दरले उपचार गरेर मात्र छर्नुहोस्।
  • तराई भेगका लागि सिफारिस मुसुरोका जातको गणुस्तरिय बीउ २ के.जी. प्रति रोपनीका दरले हारदेखि हारको दूरी २५ सेन्टिमिटर कायम गरी बीउ उपचार गरेर मात्र लगाउनुहोस्।
  • तापक्रम कम हुँदै जादाँ लाही कीराको प्रकोप बढ्दै जाने हुनाले करेसाबारी र कौसी खेती गर्दा व्यवस्थापनका लागि एक भाग गाईको गहुँत ४ भाग पानीमा मिसाएर रातभरि राखी लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस् वा खरानीको धूलो लाही कीरा लागेको ठाँउमा बिहानीपख छर्कनुहोस्।
  • उच्च हिमाली खर्कबाट बेँसी झारिएका र घुम्ती प्रणालीमा पालिएका चौँरी, भेँडा तथा बाख्रामा खोरेत र पि.पि.आर. विरुद्द खोप लगाउनुहोस्। साथै नाम्ले/माटे विरुद्दको औषधी खुवाउनुहोस्।
  • पंगास जातको माछाले चिसो मौसम सहन नसक्ने हुँदा बिक्रीयोग्य साईजको माछालाई मंसिर १५ भित्र अलग्गै छुट्टाई बिक्री गर्नुहोस्। र अन्य माछालाई करिब २-२.५ मिटर गहिरो पोखरीमा स्टकिंग गर्नका लागि आवश्यक तयारी गर्नुहोस्।
  • माछामा लाग्ने आर्ग्युलस (माछाको जुम्रा) को उपचारको लागि आईभरमेक्टीन १ एम.एल. प्रति २० के.जी. माछाको दरले दानामा राखेर लागतार ३ दिनसम्म खुवाई २ दिनको अन्तरालपछि पुनः २ दिन लगातार (कुल पाँच दिन) खुवाउनुहोस्। साथै पोखरीको सरसफाईमा ध्यान दिनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।