कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३७)

मौसमी सारांश:

  • गत साता देशको कुनै पनि केन्द्रहरुमा वर्षा मापन गरिएको छैन। मधेश प्रदेश र कोशी प्रदेशका तराईका स्थानहरूमा तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा र सुदूरपश्चिम प्रदेशका तराईका एक-दुई स्थानहरूमा 25.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी २९.३ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला केन्द्रमा सबैभन्दा कम -५.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • आगामी साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
  • आगामी साता कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साताको मध्य र अन्त्यमा आंशिक देखि साधारणतया बदली तथा शुरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने संभावना छ।
  • आगामी साता पहाडी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। साथै उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको संभावना छ।
  • कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू-भागमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का वर्षा / हिमपातको संभावना
  • कोशी प्रदेशको हिमाली भू-भागमा साताको शुरुमा तथा गण्डकी प्रदेशको हिमाली भू-भागमा साताको मध्यमा एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको संभावना छ।
  • लुम्बिनी प्रदेश, कर्णाकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा छिटफुट देखि हल्का वर्षाको संभावना छ।
  • यो साता देशको तराई भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। देशको तराईमा साताभरी नै बिहानी पख हुस्सु/कुहिरो लाग्ने र मध्यान्/ अपरान्ह सम्ममा क्रमिक रुपमा सुधार हुने संभावना छ।
  • यो सातामा देशका हिमाली र पहाडी भू-भागमा अधिकतम तापक्रम उल्लेखनिय परिवर्तन नहुने तथा न्युनतम तापक्रम हल्का घट्ने संभावना छ। साथै देशभरी नै तराई भू-भागमा अधिकतम तथा न्युनतम तापक्रम हल्का घट्ने संभावना छ।

 

हिउँद अवधि (१६ मंसिर-१६ फागुन, २०८१) को हावापानी आँकलन

  • मंसिर १६ देखि फागुन १६ सम्मको तीन महिनाको हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने संभावना रहेको छ। अधिकतम तापक्रम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी रहने संभावना रहेको छ।

 

 

कृषि सारांश

  • यस वर्षको हिउँद अवधिमा देशभर सरदर भन्दा कम वर्षा हुने साथै अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने संभावना रहेकाले यसबाट हुन सक्ने सम्भावित जोखिम न्युनीकरणका लागि यस समयमा लगाइएका बाली, फलफूल, आलु लगायतका बालीहरुको लागि सिंचाई व्यवस्थापन कार्यलाई विशेष ध्यान दिनुहोस्। सिंचाईका नवीनतम प्रविधिहरु जस्तै- प्लास्टिक पोखरी, थोपा सिंचाई, फोहोरा सिंचाई, परफोरेटेड पाईप इत्यादि प्रयोग गर्नुहोस्।
  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) गहुँको जरा भिज्नेगरि पहिलो सिँचाई पश्चात सिफारिस मात्रामा युरिया टपड्रेस गर्नुहोस्।
  • गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि एक घन मिटर साइजको खाडल (१ मिटर गहिरो तथा १ मिटर ब्यास भएको) खनी करिब एक महिना सुकाउनुहोस्।
  • सुन्तलाजात खेती शुरु गर्नुभएका कृषकहरुले पात र कलिला मुनालाई तुसारोबाट जोगाउन बाँसको भाटा उल्टो भी आकार (Ù) मा गाडेर परालले छोप्नुहोस्।
  • मध्यपहाडमा माघ महिनामा लगाईने आलुबालीका बीउ शीतभण्डारबाट निकाली फिँजाएर टुसाउन दिनुहोस्।
  • काउली समूहका बालीमा लाग्ने गाँठे रोग व्यवस्थापनका लागि फ्लुआजिनाम विषादीको धुलो २-३ ग्राम प्रति लिटर पानीमा घोली बोट वरिपरि ड्रेन्चिङ गर्नुहोस्।
  • तरकारी बाली काट्ने र फलहरु टिप्ने अवस्थामा रोग तथा कीराहरु लागेमा यिनीहरुबाट आर्थिक क्षती थोरै हुने भएकोले बिषादी प्रयोग नगर्नुहोस्। यो अवस्थामा विषादी प्रयोग गरेमा बिषादीको अवशेष बालीमा रहन गई मानव स्वास्थ्यमा नकारात्मक असर पुग्ने हुनाले विषादीको प्रयोगपछि पर्खने अवधिको पालना गर्नुहोस्।
  • खेतबारीबाट निस्केका तरकारीका उपपदार्थहरु पशुवस्तुलाई खुवाउनु अघि केही समय घाममा ओइलाउन दिई सुख्खा पदार्थसँग मिसाएर मात्र खुवाउनुहोस्।
  • ब्रोइलर कुखुराहरुको पेटमा पानी जम्ने (Ascites) को समस्या धेरै देखिएमा ४० मिलिग्राम फुरोसेमाईड १ लिटर पानीमा घोली दिनको दुईपटक पाँच दिनसम्म खान दिनुहोस्। १० दिन उमेरपछि दिईने दानामा १% का दरले खानेसोडा मिसाई खुवाउनुहोस्। खोर न्यानो तर प्रशस्त हावा खेल्ने बन्दोबस्त मिलाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।