कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ३८)

मौसमी सारांश:

  • गत साता देशको थोरै केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लामा रहेको दुम्कौली केन्द्रमा ९.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेश र कोशी प्रदेशका तराईका स्थानहरूमा 25.0 डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको धनुषा जिल्लामा रहेको जनकपुर केन्द्रमा सबैभन्दा बढी २९.९ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको डोल्पा जिल्लामा रहेको दुनाइ केन्द्रमा सबैभन्दा कम -७.५ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरूमा देशभर नै पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहने देखिन्छ।
  • कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा साताको शुरूमा हल्का देखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ। साताको शुरूमा बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका समेत थोरै स्थानहरूमा हल्का हिमपात हुने सम्भावना छ।
  • साताको शुरूमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा तथा देशका बाँकी भू-भागका समेत थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना छ।
  • साताको शुरूमा देशभर साधारणतया बदली रहनेछ। साताको मध्य तथा अन्त्यमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने देखिन्छ।
  • साताको मध्य तथा अन्त्यमा तराई, उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ।
  • यो साता तराई भू-भागमा न्यूनतम तापक्रममा उल्लेखनिय परिवर्तन नहुने तथापि हिमाली तथा पहाडी भू-भागको न्यूनतम तापक्रम हल्का घट्ने सम्भावना छ।
  • साथै देशभरी नै अधिकतम तापक्रम भने हल्का घट्ने सम्भावना छ।

 

 

कृषि सारांश

  • गहुँ छरेको २०-३० दिनभित्र (मुकुट जरा पलाउने अवस्था) माटोमा चिस्यान कायम गरी सिफारिस मात्रामा युरिया टपड्रेस गर्नुहोस्।
  • तोरीबालीमा लाही कीरा लागे-नलागेको नियमित अनुगमन पहेँलो स्टिकि ट्रयापबाट गर्नुहोस्। फूल फुलेको बेला मौरीबाट परागसेचन हुने भएकोले कुनै प्रकारको रासायनिक बिषादी प्रयोग नगर्नुहोस र आवश्यक परेमा १ भाग गाईको गहुँत र ४ भाग पानीमा मिसाएर रातभरि राखेर लाही लागेको ठाँउमा भिज्नेगरि भोलीपल्ट छर्कनुहोस्।
  • पतझड फलफूलको बगैँचा स्थापनाको लागि तयारी एक घन मिटर साइजको खाडलमा विश्वसनिय श्रोतबाट बिरुवा व्यवस्था गरि रोप्नुहोस्।
  • सुन्तलाजात खेती शुरु गर्नुभएका कृषकहरुले पात र कलिला मुनालाई तुसारोबाट जोगाउन बाँसको भाटा उल्टो भी आकार (Ù) मा गाडेर परालले छोप्नुहोस्।
  • तराईमा बीउका लागि लगाइएको आलुबालीमा लाही कीराको प्रकोप देखिएमा फ्लोनिकामिड ५०% डब्लु.जी., ०.ग्राम वा डाईमेथोएट ३०% ई.सी. १.५ एम.एल. प्रति लिटर पानीका दरले मौसमको अवस्था हेरी आलुको सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्। 
  • आलुबालीमा पछौटे डढुवा रोगको नियमित अनुगमन गरी शुरूको अवस्थामा मेन्कोजेब ७५% डब्ल्यु.पी. २ ग्राम प्रति लिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्। प्रकोप बढी भएमा एक्रोब्याट (डाइमेथोर्फ ५०% डब्ल्यु.पी.) वा सेक्टिन (फेनामेडोन १०% + मेन्कोजेब ५०% डब्ल्यु.जी.) १.५ ग्राम प्रतिलिटर पानीमा मिसाइ बोटको सम्पुर्ण भाग भिज्नेगरी छर्कनुहोस्।
  • चिसो बढ्दै जाने हुँदा पशुवस्तुहरुलाई रातको समयमा न्यानो हुने गरी राख्ने बन्दोबस्त मिलाउनुहोस्। स-साना जनावरहरुलाई बिहान चिसो पानीको सट्टा मनतातो पानी खान दिनुहोस्।
  • हिउँदको समयमा पशुवस्तुलाई ४% युरियाले उपचार गरिएको पराल वा युरिया मोलासिस ब्लक खुवाउनुहोस्। साना बाच्छा-बाच्छी, पाडा-पाडी र प्रजननको साँढे लाई युरिया उपचार गरिएको पराल खुवाउनु हुँदैन।
  • ब्रोइलर कुखुराहरुको पेटमा पानी जम्ने (Ascites) को समस्या धेरै देखिएमा ४० मिलिग्राम फुरोसेमाईड १ लिटर पानीमा घोली दिनको दुईपटक पाँच दिनसम्म खान दिनुहोस्। १० दिन उमेरपछि दिईने दानामा १% का दरले खानेसोडा मिसाई खुवाउनुहोस्। खोर न्यानो तर प्रशस्त हावा खेल्ने बन्दोबस्त मिलाउनुहोस्।
  • तराई भू-भागमा साताको मध्य र अन्त्यमा बिहानपख हुस्सु/कुहिरो लाग्ने संभावना रहेकोले माछालाई हुनसक्ने तनाव (Stress) कम गर्न प्रति हेक्टर जलाशयमा बिहान ४-६ बजेसम्म ०.७५ के.भि.ए. क्षमताको वायुयन्त्र (Aerator) को प्रयोग गर्नुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।