![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४१)
मौसमी सारांश:
- गत साता देशको थोरै केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको ईलाम जिल्लामा रहेको कन्याम केन्द्रमा ६.५ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। कोशी प्रदेश र मधेश प्रदेशका एक-दुई स्थानहरूमा २५.० डि.से. भन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको तरहरा केन्द्रमा सबैभन्दा बढी २६.० डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। कर्णाली प्रदेशको जुम्ला जिल्लामा रहेको जुम्ला एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -६.६ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
- गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागमा साताको शुरुमा आंशिक बदली देखि मौसम मुख्यतया सफा, साताको मध्य र अन्त्यमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा साताभर आंशिक बदली देखि मौसम मूख्यतया सफा रहने सम्भावना छ।
- तराई, उपत्यका तथा खोँचहरुमा बिहानीपख हुस्सु/कुहिरोको सम्भावना छ। यस साता देशभरी नै न्यूनतम साथै अधिकतम तापक्रम हल्का बढ्ने सम्भावना छ।
कृषि सारांश
- यस वर्षको हिउँद अवधिको हाल सम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा हुनु पर्ने कुल वर्षाको ६.८% मात्र रहेको जुन सरदर भन्दा कम रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुमा निरन्तर चिस्यान अनुगमन गरी सिंचाई व्यवस्थापन गर्नुहोस्।
- तराई, भित्री मधेश र पहाडका बेँसीहरु (७०० मिटरसम्म) का लागि सिफारिस गरिएका चैते धानका हर्दिनाथ-१, चैते-२, चैते-४, चैते-५ र चैते-६ जातहरु मध्ये उपलब्ध जातको बीउ १.५ के.जी. प्रति कठ्ठा वा २.२५ के.जी. प्रति रोपनीका दरले व्यवस्था गर्नुहोस्।
- गहुँ रोपेको ३०-४० दिनभित्र सल्फोसल्फरन ७५% डब्लु.पी. २ ग्राम प्रति रोपनी वा १.३ ग्राम प्रति कट्ठा ४२ एम.एल. सरफेक्टेन्टमा मिसाई २५ लिटर पानीमा एक रोपनीको लागि वा १७ लिटर पानीमा एक कठ्ठाको लागि माटोमा चिस्यान भएको अवस्थामा फ्लेट फेन नोजलको प्रयोगले स्प्रे गर्नुहोस्।
- तोरीबालीको डाँठ कुहिने रोग व्यवस्थापनको लागि क्लोरोथ्यालोनिल वा कार्बेन्डाजिमयुक्त विषादी-कार्बेन्डाजिम २ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटक सम्पूर्ण बोट भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- जाडोयाममा फलफूलका विरुवाहरु सुषुप्त अवस्थामा पुगेको हुनाले कटिङ्गद्वारा विरुवा प्रशारण गर्न सकिने अनार, अंगुर जस्ता फलफूलमा तीन आँख्ला भएको लामो शिसाकलम साइजको (१५-२० से.मी.) १ वर्ष पुरानो हाँगा छानी वालुवा, माटो र कम्पोष्ट मलखाद १:१:१ को अनुपातमा बनाइएको ब्याडमा कटिङ्ग राख्नुहोस्।
- केराको गानो कुहिने रोग देखिएमा रोग लागेको बोट विरुवा उखेलेर हटाउने, नयाँ विरुवा सार्नको लागि रोग नलागेको क्षेत्रबाट ल्याउने तथा कार्बेन्डाजिम (बेभीष्टिन) १ लिटर पानीमा २ ग्राम घोली जरा भिज्नेगरि प्रयोग गर्नुहोस्।
- लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्।
- मध्यपहाडमा माघमा गरिने आलु खेतीका लागि सिफारिस जातहरूको टुसाएको बीउ रोप्नुहोस्। जग्गा तयारीको बेलामा १००० के.जी. कम्पोष्ट, १०.९ के.जी. डि.ए.पी., ३.३ के.जी. युरिया र ५.० के.जी. एम.ओ.पी. प्रति रोपनीका दरले माटोमा मिलाउनुहोस्।
- तराईका जिल्लाहरुमा बिहानीपख कुहिरो लाग्ने हुनाले गोलभेँडा तथा आलुबालीमा पछौटे डढुवा रोग देखापरेमा फेनामिडोन १०% + मेन्कोजेब ५०% डब्लु.जी., २.५ ग्राम वा डाइमेथोमोर्फ ५०% डब्लु.पी. १.५ ग्राम प्रतिलिटर पानीमा मिसाएर बोटको सम्पुर्ण भाग भिज्नेगरी अपरान्हपछि छर्कनुहोस्।
- मौरी घारको नियमित निरिक्षण गरी आधार चाकाहरु साथै सुपर (तल्ला) थप्ने व्यवस्था गर्नुहोस्। साथै घारको संख्या बढाउनु छ भने रानुको उपयुक्त व्यवस्था गरी मौरी गोला विभाजन गर्नुहोस्।
- यो समयमा गर्भिणी अवस्था र दुधालु गाई, भैँसीलाई सन्तुलित आहारको साथै मिनरल मिक्स्चर पनि उपलब्ध गराउनुहोस्। साथै पशुहरुको दानामा ५-१० प्रतिशत थप अनाज राखेर शक्तिको मात्रा बढाउनुहोस्।
- खोरेत रोग देखिरहने ठाउँमा रोकथामको लागि पशुहरुमा ६ महिनाको उमेर पुगेपछि पहिलो पटक र प्रत्येक वर्ष खोप दोहोर्याउनुहोस्। प्रकोप बढी देखिने ठाउँमा ६-६ महिनामा दोहोर्याउनुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।