कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४५)

मौसमी सारांश:

  • गत साता देशको एक-दुई केन्द्रहरुमा हल्का वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लामा रहेको पोखरा एयरपोर्ट केन्द्रमा ७.४ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। मधेश प्रदेशका सबै स्थानहरुमा, कोशी प्रदेशका अधिकांश तराईका स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही तराईका स्थानहरुमा २५.० भन्दा बढी मापन गरिएको छ। बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा रहेको बाह्रबिसे केन्द्रमा सबैभन्दा बढी २८.६ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -६.२ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साताको शुरु र मध्यमा देशभर पश्चिमी वायुको प्रभावका साथै साताको अन्त्यमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहने देखिन्छ।     
  • देशको उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरु र मध्यमा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको थोरै र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। साताको अन्त्यमा कोशी र बागमती प्रदेशका एक-दुई स्थानमा, गण्डकी प्रदेशको थोरै स्थानहरुमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा / हिमपातको सम्भावना छ।
  • देशको पहाडी भू-भागः साताको शुरु र मध्यमा कोशी, बागमती र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा तथा गण्डकी प्रदेशको थोरै स्थानहरुमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ। साताको शुरूमा कर्णाली र सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरूमा छिटपुट देखि हल्का वर्षाको सम्भावना छ।
  • देशको तराई भू-भागः साताको अन्त्यमा सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै बिहानको समयमा लाग्ने हुस्सु/कुहिरो मध्यान्न सम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना
  • यो साता देशभर अधिकतम र न्यूनतम तापक्रममा उलेखनिय परिवर्तन नहुने सम्भावना छ।

 

कृषि सारांश

  • यस वर्षको हिउँद अवधिको हाल सम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा वर्षा सरदरभन्दा कम र तापक्रम सरदर भन्दा बढी रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुको अनुगमन गरी सिंचाई गर्नुहोस् साथै चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउनुहोस्।
  • चैते धानको लागि ब्याड बनाउँदा १ मीटर चौडाई र जमीन हेरी लम्बाई कायम गर्न सकिने तथा दुई ब्याड बिचमा ४०-५० से.मी. (२ बित्ता) को नाली बनाउनुहोस्। ब्याड बनाउनु अघि राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल २-२.५ के.जी. प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्। ब्याडमा वीउ राख्नु अघि युरिया ४ ग्राम, डि.ए.पी ९ ग्राम तथा पोटास ५ ग्राम प्रति वर्ग मीटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्।
  • गहुँमा लाग्ने सिन्दुरे रोग ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्नुहोस्।
  • मध्यपहाडमा माघको पहिलो हप्तामा लगाईएको आलुबालीमा सिँचाई पश्चात ४.४ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
  • लहरे तरकारी बालीहरुका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटक सम्म छर्केर उपचार गर्नुहोस्। 
  • गोठेमल वा कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
  • हाल पन्छीहरुमा बर्डफ्लूको र सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
  • पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।