कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४६)

मौसमी सारांश:

  • गत साता देशको केही केन्द्रहरुमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी कोशी प्रदेशको सुनसरी जिल्लामा रहेको धरान बजार केन्द्रमा २९.३ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। अधिकांश तराईका स्थानहरुमा २५.० भन्दा बढी मापन गरिएको छ भने मधेश प्रदेशको सिराहा जिल्लामा रहेको लाहान केन्द्रमा सबैभन्दा बढी २९.९ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे एयरपोर्ट केन्द्रमा सबैभन्दा कम -६.० डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • यो साताको शुरुमा देशभर पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका साथै साताको मध्य र अन्त्यमा पश्चिमी वायुको आंशिक रहने देखिन्छ।     
  • उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरुमा कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा हिमपातको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
  • पहाडी भू-भागः साताको शुरुमा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका धेरै स्थानहरुमा तथा बाँकी पहाडी भू-भागको थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित छिटपुट देखि हल्का वर्षाको सम्भावना छ।
  • तराई भू-भागः साताको शुरुमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा तथा कोशी प्रदेशको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै बिहानको समयमा लाग्ने हुस्सु मध्यान्नसम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना
  • यो साताको शुरुमा देशभरको अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने तथा मध्य र अन्त्यमा हल्का बढ्ने सम्भावना छ।

 

कृषि सारांश

  • वसन्ते मकैका लागि उपयुक्त जातहरु अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० मध्ये भरपर्दो श्रोतबाट उपलब्ध जातहरुको बीउ व्यवस्था गर्नुहोस्।
  • गहुँमा लाग्ने सिन्दुरे रोग ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल. वा नाटिभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार २-३ पटकसम्म पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्रमा सम्पर्क राख्नुहोस्।
  • गहुँ गायत अन्य बालीहरुमा लाही कीराको प्रकोप बढ्दै गएकोले व्यवस्थापनका लागि डाइमेथोएट (रोगर) ३०% ई .सी., १.५ एम.एल. प्रति लिटरको दरले पानीमा मिसाई साँझको समयमा लाही लागेको ठाउँ भिज्नेगरी छर्कनुहोस्।
  • यस समयमा फूल फुल्ने फलफुलहरु जस्तैः कागती, लिची, आँप बालीहरुमा मौरी तथा अन्य कीराहरुले पराग-सेचन प्रक्रिया गर्ने भएकोले यिनीहरुको भ्रमणलाई प्रोत्साहन गर्न बिषादी नछर्कनुहोस्।
  • मध्यपहाडमा माघको पहिलो हप्तामा लगाईएको आलुबालीमा सिँचाई पश्चात ४.४ के.जी. युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
  • लहरे तरकारी बालीहरुका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ के.जी., हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • लसुन र प्याजको, प्याजी डढुवा रोग व्यवस्थापनको लागि बारी सफा गरि रोगी पातहरु हटाई खाल्डो खनेर पुर्नुहोस्। रोगको अवस्था हेरि ७ दिनको फरकमा साफ वा सेक्टिन जस्ता बिषादीहरु २ ग्राम प्रति लिटर पानीका दरले सम्पूर्ण पातहरु भिज्नेगरि ३-४ पटकसम्म छर्केर उपचार गर्नुहोस्। 
  • उखुको रातो सडन रोग लाग्न नदिन रोप्नुअघि बीउ उखुका आँख्लाहरुलाई कार्बेन्डाजिमयुक्त विषादीको ०.२% घोल (२ ग्राम प्रति लिटर पानीको दर) मा २५-३० मिनेटसम्म डुबाएर मात्र रोप्नुहोस्। 
  • गोठेमल /कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
  • हाल पन्छीहरुमा बर्डफ्लूको र सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
  • पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।