![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४८)
मौसमी सारांश:
- गत साता देशको केही केन्द्रहरुमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा रहेको चौतारा केन्द्रमा २७.९ मि.मि साप्ताहिक कुल वर्षा मापन भएको छ।मधेश प्रदेशका केही स्थानहरुमा र लुम्बिनी प्रदेशका एक-दुई स्थानहरुमा ३०.० डि.से भन्दा बढी मापन गरिएको तथा अधिकांश तराईका स्थानहरुमा २५.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने मधेश प्रदेशको रौतहट जिल्लामा रहेको गौर केन्द्रमा सबैभन्दा बढी ३१.४ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ।कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा केन्द्रमा सबैभन्दा कम -०.२ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता स्थानीय वायू तथा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- उच्च पहाडी तथा हिमाली भू-भागः साताभर सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरुमा तथा साताको मध्यमा र अन्त्यमा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। साताको सुरूमा लुम्बिनी प्रदेशको थोरै तथा मध्यमा लुम्बिनी र वागमती र अन्त्यमा गण्डकी, लुम्बिनी, वागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
- पहाडी भू-भागः साताको सुरू र मध्यमा सुदूरपश्चिम, कर्णाली थोरै स्थानहरूमा तथा मध्यमा गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
- धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा केही बढी हुने सम्भावना रहेको छ।
कृषि सारांश
- प्रिमनसुनको समयमा मध्यान्ह पछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनु होस्।
- तापक्रम क्रमिक रुपले बढ्दै जाने सम्भावना रहेकाले माटोको चिस्यान नियमित अनुगमन गरि गहुँ, उखु बाली लगायत सबै किसिमका तरकारी तथा फलफूल बालीमा सिंचाई व्यबस्थापन गर्नु होस्।
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- वसन्ते मकैका लागि सिफारिस गरिएका जातहरु जस्तै अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० रोप्नुहोस्।
- गहुँमा लाग्ने खैरो सिन्दुरे वा पात सिन्दुरे र पहेलो वा धर्से सिन्दुरे रोगको ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल वा नटीभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्र वा कृषि प्रयोगशालामा सम्पर्क राख्नुहोस्।
- उच्च पहाडमा गरिने आलु खेतीका लागि डेजिरे, कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल रातो-४, खुमल सेतो-१, खुमल उज्वल जातहरूको बीउ रोप्नुहोस्।
- तापक्रम बढ्दै जाने क्रम भएकोले मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरक गरि एउटा प्वालमा २ गेडा बीउ खसाल्नुहोस्।
- मौरी घारमा रोग, सुलसुले र रानु भए नभएको नियमित अवलोकन गर्नुहोस्। हाल मौरीको लागि उपयुक्त मौसम भएकोले घारको नियमित निरीक्षण गरी आधार चाकाहरु साथै सुपर (तल्ला) थप्ने व्यवस्था गर्नुहोस्। साथै घारको संख्या बढाउनु छ भने रानुको उपयुक्त व्यवस्था गरि मौरी गोला विभाजन गर्नुहोस्।
- गोठेमल /कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
- काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु नष्ट गर्नको लागि समय-समयमा गोडमेल गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
- हाल पन्छीहरुमा बर्डफ्लूको र सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग तथा भुरा बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
- तराईका जिल्लाहरुमा सिल्भर कार्प माछाको प्रजनन चैत महिना र बिगहेड कार्पको प्रजनन बैशाखदेखि शुरु हुने भएकोले माउ पोखरीको तयार गरि प्रजननयोग्य माउमाछा १५००-२००० के.जी. प्रति हेक्टरको दरले स्टक गर्नुहोस्।
- पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।