![]() |
नेपाल सरकार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १०, अंक ४९)
मौसमी सारांश:
- गत साता देशको केही केन्द्रहरुमा हल्का देखि मध्यम वर्षा मापन गरिएको छ भने सबैभन्दा बढी गण्डकी प्रदेशको गोरखा जिल्लामा रहेको गोरखा (विरेनचोक) केन्द्रमा ३३.७ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। तराईका अधिकांश स्थानहरुमा ३०.० डि.से भन्दा बढी अधिकतम तापक्रम मापन गरिएको छ भने लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा रहेको भैरहवा एयरपोर्ट केन्द्रमा सबैभन्दा बढी ३४.५ डि.से. साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ। गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -२.७ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- यो साता स्थानीय वायू तथा पश्चिमी वायुको प्रभाव रहने देखिन्छ।
- देशको उच्च पहाडी तथा हिमाली भू-भागः साताको शुरुमा कोशी प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/हिमपातको सम्भावना छ। साताको मध्यमा कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/ हिमपातको सम्भावना छ। साताको अन्त्यमा कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा/ हिमपातको सम्भावना छ।
- देशको पहाडी भू-भागः साताको शुरुमा कोशी प्रदेशको केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा सम्भावना छ। साताको मध्यमा कोशी प्रदेश, बागमती प्रदेश, गणडकी प्रदेशका थोरै तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
- तराई भू-भागः साताको शुरु र मध्यमा कोशी प्रदेशको केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा तथा मधेश प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। बागमती प्रदेश र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ। साताको शुरूमा लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
- धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा केही बढी हुने सम्भावना छ।
कृषि सारांश
- प्रि मनसुनको समयमा मध्यान्हपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्, समयमा नै पशुवस्तुहरुको बिमा गर्नुहोस्। जोखिमको समयमा पशुवस्तुहरुलाई गोठ बाहिर नराख्नुहोस्।
- तापक्रम क्रमिक रुपले बढ्दै जाने सम्भावना रहेकाले माटोको चिस्यान नियमित अनुगमन गरि गहुँ, उखु बाली लगायत सबै किसिमका तरकारी तथा फलफूल बालीमा सिंचाई व्यबस्थापन गर्नुहोस्।
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषदबाट अध्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- वसन्ते मकैका लागि सिफारिस गरिएका जातहरु जस्तै अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-८ र रामपुर हाईब्रिड-१० रोप्नुहोस्।
- गहुँमा लाग्ने खैरो सिन्दुरे वा पात सिन्दुरे र पहेलो वा धर्से सिन्दुरे रोगको ब्यबस्थापनको लागि ढुसीनासक बिषादी टिल्ट १ एम.एल वा नटीभो ०.५ ग्राम प्रति लिटर पानीको दरले १०-१२ दिनको फरकमा आवश्यकता अनुसार सम्पूर्ण पातहरु भिज्नेगरि छर्केर उपचार गर्नुहोस् वा नजिकैको कृषि ज्ञान केन्द्र वा कृषि प्रयोगशालामा सम्पर्क राख्नुहोस्।
- केरा बगैँचामा बोट ओईलाउने रोगको प्रकोप हुन नदिन केरा लगाउँदा सकेसम्म तन्तु प्रजनन प्रविधिबाट प्रसारित, रोग रहित स्वस्थ विरुवा लगाउनुहोस्। यो रोग माटो, पानी, कृषि औजार उपकरण र संक्रमित बिरुवा एवं बिरुवाजन्य वस्तुहरुबाट फैलन सक्ने भएकाले शंकास्पद केरा बारीमा जाँदा जुत्ता, चप्पललाई सुज कभर वा प्लास्टिकले ढाकेर मात्र जाने र केरा बारीबाट निस्कनुपूर्व सुरक्षित रुपमा व्यवस्थापन गर्नुहोस्।
- आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
- उच्च पहाडमा गरिने आलु खेतीका लागि डेजिरे, कुफ्रिज्योति, खुमल लक्ष्मी, खुमल रातो-४, खुमल सेतो-१, खुमल उज्वल जातहरूको बीउ रोप्नुहोस्।
- गोठेमल /कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकोले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- हाल पन्छीहरुमा बर्डफ्लूको र सुँगुर/बंगुरहरुमा अफ्रिकन स्वाइन फिभरको उच्च जोखिम रहेकोले फार्ममा जैविक सुरक्षा अपनाउनुहोस्।
- तराईका जिल्लाहरुमा कमन कार्प जातका माछाका ह्याचलिङ्ग तथा भुरा बिक्री वितरण शुरु भईसकेको हुँदा मत्स्यपालन गर्ने कृषकहरुले नजिकैको सरकारी/नीजि ह्याचरीहरुमा सम्पर्क गर्नुहोस्।
- पानी कम पर्ने तथा हावामा आर्द्रता कम रहने समय भएकोले खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ वरिपरी आगो लाग्नबाट बचाउन २-३ मिटर चौडाईमा घाँसपात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा (Fire corridor) बनाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।