कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४5)

मौसमी सारांश:

  • गत साताभरी नै देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको र साताको मध्यमा देशका थोरै केन्द्रहरूमा हल्का वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको स्याङ्जा जिल्लामा रहेको चापाकोट केन्द्रमा १९.८ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता अधिकांश केन्द्रहरुमा दुवै अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ। देशका केही हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी  प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -६.२ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताभर नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहने देखिन्छ।
  • उच्च पहाडी तथा हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा तथा मध्य र अन्त्यमा थोरै स्थानहरुमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा तथा मध्यमा थोरै स्थानहरुमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
  • तराई भू-भागः देशका तराई भू-भागमा साताभर बिहानपखको समयमा हुस्सु/कुहिरो रहने साथै मध्याह्नसम्ममा क्रमिक रुपमा सुधार हुने सम्भावना छ।
  • यो साता देशका तराई र पहाडी भू‍-भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का बढ्ने सम्भावना छ भने हिमाली भू-भागमा उल्लेखनिय परिवर्तन नहुने देखिन्छ।
  • औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी रहने सम्भावना छ।

कृषि सारांश

  • यस वर्षको हिउँद अवधिको हालसम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा वर्षा सरदरभन्दा कम र तापक्रम सरदर भन्दा बढी रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुको अनुगमन गरी सिंचाई गर्नुहोस् साथै चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउनुहोस्।
  • कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश स्थानहरूमा सुख्खा देखिएकाले गहुँ, उखु, आलु, फलफूल र तरकारी बालीमा चिस्यान नियमित अनुगमन गरी सिंचाई गर्नुहोस्
  • चैते धानको लागि ब्याड बनाउँदा एक मिटर चौडाइ र जमिन हेरी लम्बाइ कायम गर्नुहोस्। दुईवटा ब्याडको बीचमा ४०-५० सेमी (२ बित्ता) को नाली बनाउनुहोस्। ब्याड बनाउनुअघि राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल २-२.५ केजी, युरिया ४ ग्राम, डि.ए.पी. ९ ग्राम तथा पोटास ५ ग्राम प्रतिवर्ग मिटरको दरले माटोमा राम्ररी मिलाउनुहोस्। १.६ देखि २.० केजी बीउ प्रतिकट्ठा वा २.५ देखि ३.० केजी बीउ प्रतिरोपनीका दरले प्रयोग गर्नुहोस्।
  • सबै प्रदेशमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी हुने सम्भावना छ। त्यसैले चैते धानका लागि राखिएको ब्याड बेला बेलामा हेरी चाहिने जति पानी र मलखाद हाल्नुहोस्। रोग, कीरा र झारपात देखिएमा त्यसको व्यवस्थापन गर्नुहोस्। 
  • वसन्ते (चैते) मकैका सिफारिस जातहरू अरुण-१, अरूण-२, अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-१० र रामपुर हाईब्रिड-१२ रोप्नुहोस्।
  • पहाडी जिल्लाहरूमा लगाइएका गहुँबालीमा पहेँलो सिन्दुरे रोग तथा तराईका जिल्लाहरूमा लगाइएका गहुँबालीमा खैरो सिन्दुरे रोग देखापर्न सुरु भएको छ। यसको निधो गरी प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा मौसमको अवस्था हेरी आवश्यकता अनुसार २-३ पटकसम्म पातहरू भिज्नेगरी छर्कनुहोस्।
  • सुख्खा मौसममा सापेक्षिक आर्द्रता न्यून रहने हुँदा सामान्य भण्डारणमा राखिएका फलफूल तथा तरकारीलाई जोगाउन भण्डार घर वरिपरि पानी छर्केर ओसिलो बनाउनुहोस्।
  • तापक्रम बढ्दै जाँदा सुन्तलाजात फलफूलको डाँठमा प्वाल पार्ने गबारो, पात खन्ने कीरा, पुतलीको लार्भा र कत्ले कीराले नोक्सान गर्नसक्छन्। बगैँचा निरीक्षण गरी कत्ले कीरा व्यवस्थापनका लागि खनिज तेल १० एमएल प्रतिलिटर र गबारो तथा पात खन्ने कीराको व्यवस्थापनको लागि स्पिनोस्याड ४५% एस.सी., ०.३ एमएल प्रतिलिटर पानीमा राखी छर्कनुहोस्।
  • लसुन प्याजको प्याजी डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त सुकेका पातहरू हटाई  मेन्कोजेबयुक्त विषादी २.५ ग्राम वा क्लोरोथालोनिल २ ग्राम प्रतिलिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्।
  • गोठेमल वा कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकाले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
  • मध्याह्नसम्म रहने हुस्सु/कुहिरोले माछापोखरीमा घुलित अक्सिजनको कमीबाट हुने क्षति कम गर्न प्रतिहेक्टर जलाशयमा घाम नलागेसम्म ०.७५ के.भि.ए. क्षमताको तीनवटा एरिएटरको प्रयोग गर्नुहोस्। घाम लागेपछि मात्र दाना दिनुहोस्।
  • रेन्बो ट्राउट माछाका भुराहरूलाई ग्रेडिङ गर्नुका साथै तिनको स्वास्थ्य अनुगमन गर्नुहोस्। भुराहरूले फनफनी घुम्ने लक्षण देखाएमा प्रतिकेजी दानामा २५ एमजी अल्बेन्डाजोल मिसाई एक हप्तासम्म दिनुहोस्।
  • सुख्खायाममा खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ/फार्म संरचनाहरू वरपर आगो लाग्नबाट जोगाउन २-३ मिटर चौडाइमा घाँसपात, पात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा बनाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।