![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४6)
- गत साताको मध्यदेखि पश्चिमि न्युनचापिय प्रणालीको आंशिक प्रभावले देशका थोरै केन्द्रहरूमा हल्का देखि मध्यम वर्षा मापन भएको छ। सबैभन्दा बढी कोशी प्रदेशको संखुवासभा जिल्लामा रहेको नुम केन्द्रमा 35.5 मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता अधिकांश केन्द्रहरुमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदर भन्दा बढी मापन भएको छ।देशका केही हिमाली भू-भागमा ०.० डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -6.6 डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
- साताको शुरू र मध्यमा पश्चिमी वायुको आंशिक प्रभाव रहेतापनि अन्त्यमा प्रभाव झनै कम हुने देखिन्छ। साताभर स्थानीय वायूको सामान्य प्रभाव भने रहने देखिन्छ।
- हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको शुरुमा थोरै स्थानहरूमा तथा मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरु र मध्यमा मात्र एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना।
- पहाडी भू-भागः साताको शुरूमा सबै प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना । कोशी प्रदेशमा साताको मध्यमा पनि एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना।
- तराई भू-भागः देशका तराई भू-भागमा साताभर बिहानपख हुस्सु रहने। साथै केही स्थानहरूमा दिउँसो पनि तुवाँलो रहने सम्भावना रहेको छ।
- यो साता देशका सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना रहेको छ।
- सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी नै रहने सम्भावना रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा औसत भन्दा कम वर्षा तथा बाँकी प्रदेशमा औसत वर्षा हुने सम्भावना रहेको छ।
कृषि सारांश
- यस वर्षको हिउँद अवधिको हालसम्मको वर्षाको २० वटा केन्द्रको औसत हेर्दा यस अवधिमा वर्षा सरदरभन्दा कम र तापक्रम सरदर भन्दा बढी रहेकाले सबै किसिमका बाली, फलफूल तथा तरकारी बालीहरुको अनुगमन गरी सिंचाई गर्नुहोस् साथै चिस्यान संरक्षणका आवश्यक उपायहरु अपनाउनुहोस्।
- देशका अधिकांश स्थानहरूमा सुख्खा देखिएकाले गहुँ, उखु, आलु, फलफूल र तरकारी बालीमा चिस्यान नियमित अनुगमन गरी सिंचाई गर्नुहोस्।
- सबै प्रदेशमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी हुने सम्भावना छ। त्यसैले चैते धानका लागि राखिएको ब्याड बेला बेलामा हेरी चाहिने जति पानी र मलखाद हाल्नुहोस्। रोग, कीरा र झारपात देखिएमा त्यसको व्यवस्थापन गर्नुहोस्।
- वसन्ते (चैते) मकैका सिफारिस जातहरू अरुण-१, अरूण-२, अरुण-३, अरुण-४, अरुण-६, रामपुर हाईब्रिड-१० र रामपुर हाईब्रिड-१२ रोप्नुहोस्।
- नेपालका पूर्वी पहाडी जिल्लाहरूमा लगाइएका गहुँबालीमा पहेँलो सिन्दुरे रोग तथा तराईका जिल्लाहरूमा लगाइएका गहुँबालीमा खैरो सिन्दुरे रोग देखापर्न सुरु भएको छ। यसको निधो गरी प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा मौसमको अवस्था हेरी आवश्यकता अनुसार २-३ पटकसम्म पातहरू भिज्नेगरी छर्कनुहोस्।
- आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा बुप्रोफेजिन २५% एससी, १ एमएल प्रति लिटर पानीमा मिसाई बेलुकीपख छर्कनुहोस्।
- सुख्खा मौसममा सापेक्षिक आर्द्रता न्यून रहने हुँदा सामान्य भण्डारणमा राखिएका फलफूल तथा तरकारीलाई जोगाउन भण्डार घर वरिपरि पानी छर्केर ओसिलो बनाउनुहोस्।
- मध्यपहाडमा माघको पहिलो हप्तामा लगाईएको आलुबालीमा पानी लगाएपछि ४.४ केजी युरिया प्रति रोपनीका दरले टपड्रेस गर्नुहोस्।
- लहरे तरकारी बालीहरुका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ केजी, हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
- लसुन प्याजको प्याजी डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त सुकेका पातहरू हटाई मेन्कोजेबयुक्त विषादी २.५ ग्राम वा क्लोरोथालोनिल २ ग्राम प्रतिलिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्।
- गोठेमल वा कम्पोष्ट मललाई खेतवारीमा थुप्रो पारेर वा फिँजाएर राख्दा नाइट्रोजन तत्व नोक्सान हुने भएकाले खुल्ला नछोडी लगत्तै जमीन जोतेर माटोमा मिलाउनुहोस्।
- मध्याह्नसम्म रहने हुस्सु/कुहिरोले माछापोखरीमा घुलित अक्सिजनको कमीबाट हुने क्षति कम गर्न प्रतिहेक्टर जलाशयमा घाम नलागेसम्म ०.७५ के.भि.ए. क्षमताको तीनवटा एरिएटरको प्रयोग गर्नुहोस्। घाम लागेपछि मात्र दाना दिनुहोस्।
- रेन्बो ट्राउट माछाका भुराहरूलाई ग्रेडिङ गर्नुका साथै तिनको स्वास्थ्य अनुगमन गर्नुहोस्। भुराहरूले फनफनी घुम्ने लक्षण देखाएमा प्रतिकेजी दानामा २५ एमजी अल्बेन्डाजोल मिसाई एक हप्तासम्म दिनुहोस्।
- जै, बर्सिम र भेच पहिलो पटक काटेको ३० देखि ३५ दिन पछि घाँसको लागि दोस्रो पटक काट्नुहोस् । त्यसपछि सिँचाई गरी १.२ केजी युरिया प्रति कठ्ठाको दरले टपड्रेस गर्नुहोस्।
- सुख्खायाममा खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ/फार्म संरचनाहरू वरपर आगो लाग्नबाट जोगाउन २-३ मिटर चौडाइमा घाँसपात, पात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा बनाउनुहोस्।
- मौसम सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने चौविसै घण्टा उपलब्ध जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्वन्धी जिज्ञासाको लागी पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

