कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४7)

मौसमी सारांश:

  • गत साता पश्चिमी वायूको आंशिक प्रभावले  देशका थोरै केन्द्रहरूमा हल्का वर्षा मापन भएको छ। सबैभन्दा बढी कोशी प्रदेशको सोलुखम्बु जिल्लामा रहेको लुक्ला एयरपोर्ट केन्द्रमा १२. मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। त साता अधिकांश केन्द्रहरुमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढी मापन भएको छ। देशका थोरै हिमाली भू-भागमा शुन्य डि.से. भन्दा कम साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ भने गण्डकी प्रदेशको मनाङ जिल्लामा रहेको हुम्दे केन्द्रमा सबैभन्दा कम -२.८ डि.से. साप्ताहिक औसत न्यूनतम तापक्रम मापन भएको छ।
  • साताको शुरूमा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव तथा मध्य र अन्त्यमा सो प्रभाव अझ बढि रहने देखिन्छ। साताभर स्थानीय वायूको आंशिक प्रभाव पनि रहने देखिन्छ।
  • हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्का हिमपात/वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको शुरू, मध्य र अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपात/वर्षाको सम्भावना छ।
  • पहाडी भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको शुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको मध्य र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
  • तराई भू-भागः देशका पुर्वी तराई भू-भागमा साताको सुरुमा र पश्चिमी तराई भू-भागमा साताभर बिहानपख हुस्सु रहनेछ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साताको मध्य र अन्त्यमा तथा लुम्बिनी प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना छ।
  • यो साता देशका सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना छ।
  • औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम  न्यूनतम तापक्रम औसत भन्दा बढी नै रहने सम्भावना छ। 

कृषि सारांश

  • सबै प्रदेशमा अधिकतम र न्यूनतम तापक्रम औसत भन्दा हल्का बढी हुने सम्भावना छ। त्यसैले चैते धानका लागि राखिएको ब्याड बेला बेलामा हेरी चाहिने जति पानी र मलखाद हाल्नुहोस्। रोग, कीरा र झारपात देखिएमा त्यसको व्यवस्थापन गर्नुहोस्। 
  • गहुँबालीमा पहेँलो सिन्दुरे रोग देशैभर तथा खैरो सिन्दुरे रोग तराईका जिल्लाहरूमा देखा परेकोले रोग व्यवस्थापनको लागि प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा मौसमको अवस्था हेरी आवश्यकता अनुसार २-३ पटकसम्म पातहरू भिज्नेगरी छर्कनुहोस्।
  • कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका तराई भू-भागमा साताको मध्य र अन्त्यमा तथा लुम्बिनी प्रदेशमा साताको अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेकाले पाकेको तोरीबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्। साथै उखेलेर खुल्ला ठाउँमा नराख्नुहोस्।
  • प्रि-मनसुनको समयमा हावाहुरीले पसाएको केराको बोट ढल्न नदिन टेको दिनुहोस्।
  • तराई, भित्री मधेश र बेँशी क्षेत्रमा खनिएको आलुलाई अध्यारो, सुख्खा र चिसो (१०- १५ डिग्री सेल्सियस तापक्रम) मा काठका बाकस, प्लाष्टिकका क्रेट वा काठको र्‍याकमा तीन तहसम्म फिँजाएर राख्नुहोस्। यसरी राख्दा हरेक दुई तहको बिचमा पत्रिका राख्नुहोस्।
  • मध्य पहाडी क्षेत्रमा बोडी, सिमी लागाउने उपयुक्त समय भएकाले भरपर्दो स्रोतबाट बीउ व्यवस्था गरी लाइनदेखि लाइनको दूरी १-१.५ मिटर र बोटदेखि बोटको दूरी २०-३० सेमी हुनेगरी हरेक झ्यांगमा दुई दानाका दरले बीउ रोप्नुहोस्।
  • लहरे तरकारी बालीहरुका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ केजी, हड्डिको धुलो १०० ग्राम, पीना १०० ग्राम, डि.ए.पी. ४० ग्राम, पोटास ४० ग्राम र बायोजाईम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाई विरुवा लगाउन शुरु गर्नुहोस्।
  • लसुन प्याजको प्याजी डढुवा रोग व्यवस्थापनको लागि रोगग्रस्त सुकेका पातहरू हटाई  मेन्कोजेबयुक्त विषादी २.५ ग्राम वा क्लोरोथालोनिल २ ग्राम प्रतिलिटर पानीका दरले ८-१० दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोट भिज्नेगरी छर्कनुहोस्।
  • प्रि-मनसुनको समयमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङ्गबाट पशुचैपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर नराख्नुहोस्। यस्ता घटनामा परी पशुवस्तुको मृत्युबाट हुने आर्थिक क्षती कम गर्न बीमा गर्नुहोस्।
  • चैत-बैशाख महिनामा सिल्भर र बिग हेड कार्पको प्रजननको समय भएकोले अहिले देखि नै १२००-१५०० माउ माछा प्रति बिघाका दरले छुट्टै पोखरीमा राखी सन्तुलित दाना दिनुहोस्।
  • सुख्खायाममा खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ/फार्म संरचनाहरू वरपर आगो लाग्नबाट जोगाउन २-३ मिटर चौडाइमा घाँसपात, पात पतिंगर हटाई अग्नि नियन्त्रण रेखा बनाउनुहोस्।
  • मौसम सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर-११५५ मा फोन गर्नुहोस्।
  • कृषि पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक शुक्रबार साँझ देखि बजेसम्म फोन गर्नुहोस्।