![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४८)
- गत साता नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय प्रणाली र देशको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रका कारण देशका केही केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा मापन भएको छ। सबैभन्दा बढी लुम्बिनी प्रदेशको नवलपरासी जिल्लामा रहेको सेमरी केन्द्रमा ६६.० मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता अधिकांश केन्द्रहरूमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी मापन भएको छ। तराईका अधिकांश केन्द्रहरूमा ३०.० डि.सेभन्दा बढी साप्ताहिक औसत अधिकतम तापक्रम मापन गरिएको छ भने तराईका धेरै स्थानहरूमा १५.० डि.सेभन्दा बढी साप्ताहिक औसत न्यूनतम तापक्रम मापन गरिएको छ।
- सातामा पश्चिमी न्यूनचापीय प्रणाली र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहने देखिन्छ।
- हिमाली भूभागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरूमा, अन्त्यमा एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपात/वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशमा साताभर एक-दुई स्थानमा, कर्णाली प्रदेशमा साताभर थोरै स्थानहरूमा र सुदूरपश्चिम प्रदेशमा साताको सुरुमा एक-दुई स्थानमा, मध्य र अन्त्यमा थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात/ वर्षाको सम्भावना छ।
- पहाडी भूभागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा थोरै स्थानहरूमा, अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना साथै एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ। लुम्बिनी प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा, कर्णाली प्रदेशमा साताको सुरु र अन्त्यमा एक-दुई स्थानमा, मध्यमा थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशमा साताको सुरु र मध्यमा एक-दुई स्थानमा, अन्त्यमा थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ, हावाहुरी सहित हल्का/मध्यम वर्षाको सम्भावना छ।
- तराई भूभागः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का/मध्यम वर्षाको सम्भावना छ।
- यो साता देशका सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम बढ्ने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसत भन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- प्रि-मनसुनको समयमा मध्याह्नपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा विशेष सावधानी अपनाउनुहोस्।
- देशका विभिन्न स्थानहरूमा भएको भारी वर्षा तथा हावाहुरीले गहुँ, मुसुरो, केरा तथा तरकारी बालीहरूमा असर पारेको छ। यसबाट हुनसक्ने थप क्षति न्यूनीकरणका लागि पानी जमेको भए निकासको उचित प्रबन्ध गर्नुहोस्।
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषद्बाट अद्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- जुम्ला लगायत उच्च पहाडी क्षेत्रमा बर्खे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले बीउ व्यवस्था गर्नुहोस्।
- हाल गहुँमा सिन्दुरे रोग बढ्न सक्ने अनुकूल वातावरण भएकोले तराई तथा पहाडी जिल्लाहरूमा यो रोग फैलिरहेको छ। रोग लागेका पात छोएपछि औँलामा पहेंलो वा खैरो रंगको ढुसीको जीवाणु टाँसिन्छ। रोग देखिएमा प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा मौसमको अवस्था हेरी आवश्यकता अनुसार २-३ पटकसम्म पातहरू भिज्नेगरी छर्कनुहोस्।
- कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साताको सुरु र मध्यमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का/मध्यम वर्षाको सम्भावना रहेकोले पाकेको तोरीबाली मौसमको अवस्था हेरी भित्र्याउनुहोस्। साथै उखेलेर खुला ठाउँमा नराख्नुहोस्।
- प्रि-मनसुनको समयमा हावाहुरीले पसाएको केराको बोट ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
- तराई, भित्री मधेश र बेसी क्षेत्रमा खनिएको आलुलाई अध्यारो, सुख्खा र चिसो (१०- १५ डिग्री सेल्सियस तापक्रम) मा काठका बाकस, प्लाष्टिकका क्रेट वा काठको र्याकमा तीन तहसम्म फिँजाएर राख्नुहोस्। यसरी राख्दा हरेक दुई तहको बीचमा पत्रिका राख्नुहोस्।
- लहरे तरकारी बालीहरूका लागि सिफारिस गरे बमोजिमको दूरीमा खाल्डा खनी राम्रो पाकेको गोबर मल ५ केजी, हड्डीको धूलो १०० ग्राम, पीना १०० ग्राम, डिएपी ४० ग्राम, पोटास ४० ग्राम र बायोजाइम, जिङ्क, बोरेक्स प्रत्येक ३/३ ग्रामका दरले माटोमा मिसाइ विरुवा लगाउन सुरु गर्नुहोस्।
- काँक्रो, फर्सी समूहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरू नष्ट गर्नको लागि समय-समयमा गोडमेल गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साइपरमेथ्रिन (१०% ई.सी) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरी छर्नुहोस्।
- हालको मौसम प्याजमा लाग्ने शीते ढुसीको लागि अनुकूल रहेकोले रोग फैलिन नदिन फोहोरा (Sprinkle) सिँचाइ नगर्नुहोस्। प्रकोप देखिएमा रोग व्यवस्थापनको लागि रोगी पातहरू हटाइ मेन्कोजेव वा मेटाल्याकजिलयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीको दरले पातहरू राम्ररी भिज्नेगरी हप्ता दिनको फरकमा २-३ पटकसम्म छर्कनुहोस्।
- आगामी साता अधिकतम तापक्रम र न्यूनतम तापक्रम औसतभन्दा बढी हुने सम्भावना देखिएकाले पशुचौपायालाई रोग लाग्न नदिन र सम्भावित तनाव कम गर्न, गोठको सरसफाइमा विषेश ध्यान दिनुहोस्। प्रशस्त मात्रामा सफा र चिसो पिउने पानी उपलब्ध गराउनुहोस्। मध्याह्नको समयमा पशुचौपायाहरूलाई चर्को खुला घाममा नराख्नुहोस्।
- आगामी साता तराईका जिल्लाहरूमा मध्याह्नको तापक्रम ३० डिग्री सेल्सियसभन्दा बढी भएमा बिहान ११ बजेदेखि मध्याह्न ४ बजेसम्मको समयमा दाना नखुवाउनुहोस्। प्रशस्त मात्रामा सफा र चिसो पिउने पानी उपलब्ध गराउनुहोस्।
- प्रि-मनसुनको समयमा दिउँसो र साँझको समयमा हावाहुरी र चट्याङबाट पशुचैपायालाई जोगाउन मध्याह्नपछि जंगलमा चराउन नलैजानुहोस् वा गोठ बाहिर वा खुला ठाउँमा नबाँध्नुहोस्। यस्ता घटनामा परी पशुचौपायाको मृत्युबाट हुने आर्थिक क्षती कम गर्न पशुबीमा गर्नुहोस्।
- हाल पानीको तापक्रम बढ्ने क्रममा रहेकोले माछापोखरीमा प्राकृतिक आहारा र अक्सिजनको आपूर्ति बढाउन मलको व्यवस्थापन गर्नुहोस्।
- सुख्खायाममा खरबारी, डालेघाँस लगाएको नर्सरी, बेर्ना सारेको बारी तथा गोठ/फार्म संरचनाहरू वरपर आगो लाग्नबाट जोगाउन २-३ मिटर चौडाइमा घाँसपात, पात पतिंगर हटाइ अग्नि नियन्त्रण रेखा बनाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

