![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष ११, अंक ४९)
मौसमी सारांश:
- गत साता पश्चिमी वायूको न्यूनचापीय प्रणाली र स्थानीय प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। देशको पहाडी र हिमाली क्षेत्रका धेरै भू-भागमा १० मि.मि भन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। विशेषगरि साताको सुरूमा कोशी प्रदेशका केही केन्द्रहरूमा तथा बागमती प्रदेशका एक-दुई केन्द्रहरूमा भारी वर्षा मापन भएको छ। सबैभन्दा बढी झापा जिल्लामा रहेको गैँडा केन्द्रमा १८६.४ मि.मि. साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता अधिकांश केन्द्रहरूमा अधिकतम तापक्रम र न्यूनतम तापक्रम दुवै सरदर भन्दा बढी मापन भएको छ।
- साताको सुरूमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहने देखिन्छ। मध्य र अन्त्यमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहने देखिन्छ।
- हिमाली भू-भागः सबै प्रदेशहरूमा साताको सुरूमा धेरै स्थानहरूमा, मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा कोशी र गण्डकी प्रदेशमा थोरै स्थानहरूमा, बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यमसम्मको हिमपात/वर्षाको सम्भावना छ। साताको सुरुमा सबै प्रदेशको एक-दुई स्थानमा भारी हिमपात/वर्षाको सम्भावना छ।
- पहाडी भू-भागः सबै प्रदेशहरूमा साताको सुरूमा धेरै स्थानहरूमा, मध्यमा थोरै स्थानहरूमा तथा अन्त्यमा कोशी र गण्डकी प्रदेशमा थोरै स्थानहरूमा, बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरी/असिना सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरुमा सबै प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः साताको सुरूमा धेरै स्थानहरूमा, मध्यमा कोशी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का/मध्यम वर्षाको सम्भावना छ। साताको सुरुमा मधेश, लुम्बिनी, बागमती र कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- साताको सुरुमा सबै भू-भागमा अधिकतम र न्यूनतम तापक्रम हल्का घट्ने तथा मध्य र अन्त्यमा हल्का बढ्ने सम्भावना छ।
- औसतसँग तुलना गर्दाः सबै प्रदेशमा अधिकतम तापक्रम औसतभन्दा कम र न्यूनतम तापक्रम औसतभन्दा बढी रहने सम्भावना छ।
कृषि सारांश
- साताभरि नै हावाहुरी र वर्षा हुने सम्भावना रहेकाले तोरी/मसुरो कटानी गरी खेतमा नछोडी भित्र्याउनुहोस्। छ्वाली, पराल जस्ता बाली अवशेष नजलाउनुहोस्।
- प्रि-मनसुनको समयमा मध्याह्नपछि चट्याङको सम्भावना बढी हुने भएकाले सम्भावित जोखिमबाट जोगिन कृषि कर्म/पशुपालन गर्दा बिशेष सावधानी अपनाउनुहोस्।
- साताभरि नै हावाहुरी र वर्षा हुने सम्भावना रहेकाले बिभिन्न बालीनालीमा पानी जम्न नदिन निकासको उचित व्यवस्था गर्नुहोस्।
- चैते धान रोप्ने जग्गामा नेपाल कृषि अनुसन्धान परिषद्बाट अद्यावधिक गरिएको सिफारिस मात्रा अनुसारको मलखाद प्रयोग गरी बेर्ना रोप्नुहोस्।
- जुम्ला लगायत उच्च पहाडी क्षेत्रमा बर्खे धानको ब्याड राख्ने समय भएकोले लेकाली धान-१, लेकाली धान-३, चन्दननाथ-१ र चन्दननाथ-३ मध्ये उपलब्ध जातको बीउ २.५ के.जी. प्रति रोपनीका दरले बीउ व्यवस्था गर्नुहोस्।
- यस साता हावाहुरी चल्ने र वर्षा हुने सम्भावना रहेकाले मध्य पहाडी क्षेत्रका गहुँबालीमा पहेंलो सिन्दुरे रोग देखिन सक्छ। तापक्रम बढ्दै जाँदा गहुँबालीमा खैरो र कालो सिन्दुरे रोगको जोखिम पनि बढ्न सक्छ। रोग देखिएमा प्रोपिकोनाजोल १ एमएल वा ट्याबुकोनाजोल ५०% र ट्राइफ्लोक्सिस्ट्रोबिन २५% मिश्रित ढुसीनाशक विषादी ०.५ ग्राम प्रतिलिटर पानीको दरले १०-१२ दिनको फरकमा २-३ पटकसम्म पातहरू भिज्नेगरी हावाहुरी नचलेको र पानी नपरेको समय पारेर छर्कनुहोस्।
- आगामी साताभरि नै हावाहुरी र पानी पर्ने सम्भावना रहेको साथै फूल फुल्ने फलफूलहरू जस्तै; कागती, लिची, आँप, सुन्तलाजात लगायतका बालीहरूमा मौरी तथा अन्य कीराहरूले परागसेचन गर्ने भएकाले रासायनिक विषादी नछर्कनुहोस्।
- पसाएको केराको बोट हावाहुरीले ढल्न नदिन आवश्यक टेको दिनुहोस्।
- यो साता हावाहुरी र वर्षा हुने सम्भावना रहेकाले मध्य पहाडी क्षेत्रमा लगाईएको आलु लगायत अन्य तरकारी बालीहरूमा पानी निकासको ब्यवस्था गर्नुहोस्।
- साताभरि नै हावाहुरी सहित पानी पर्ने सम्भावना देखिएकोले मौरी घारको नियमित निरीक्षण गरी घारलाइ सुरक्षित स्थानमा सार्नुहोस्। आधार चाकाहरू र सुपर (तल्ला) थप्नुहोस्।
- आगामी साताको सुरूमा केही स्थानहरूमा मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्ने सम्भावना रहेकाले ती स्थानहरूमा पशुचौपायको खोर, गोठका छानाहरू बलियो गरी बाँध्नुहोस्। टिनको छाना भएका खोर/गोठहरूमा हावाले उडाउन नसक्ने गरी पाता राम्रोसँग ठोकिएको छ, छैन एकिन गर्नुहोस्। हावाहुरीले उडाई ल्याउन सक्ने टुक्रा-टाक्रीहरूबाट हुने दुर्घटना र भौतिक क्षतिबाट आफू पनि बच्नुहोस् र पशुचौपायालाई पनि बचाउनुहोस्।
- मेघगर्जन, चट्याङ सहित हावाहुरी समेत चल्दा कुखुरा, सुंगुर, बंगुर जस्ता बथानमा पालिने पशुचौपायाहरू उत्तेजित हुने, आत्तिने वा भागदौड गर्न सक्छन्। यस्तो बेलामा पशुपन्छी पालिएका खोर, गोठमा चट्याङको प्रकाशको असर कम गर्न पर्दा लगाउने वा मान्द्रो, बोरा आदिले वरिपरि ढाक्ने व्यवस्था मिलाउनुहोस्।
- साताभरि नै वर्षासँगै असिना पनि पर्ने सम्भावना देखिएको छ। त्यसले पोखरीको पानीको तापक्रम अचानक घटाएर बिक्रीका लागि तयार भएका भुराहरू मर्नसक्ने सम्भावना भएकाले नर्सरी पोखरीमा कम्तीमा १ मिटर गहिराइ हुनेगरी पानीको व्यवस्था गर्नुहोस्। साथै रियरिंग ट्यांकमा भएका भुरालाई समेत असिनाबाट जोगाउनुहोस्।
- धेरै हावाहुरी आउने ठाउँमा कम्तीमा ८०% भाग ढाक्ने गरी घाँस लगाउनुहोस् जसले गर्दा खाली ठाउँको माटो तथा जैविक पदार्थ र पोषक तत्वहरू उडेर जान नपाओस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशु सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

