![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक १३)
- गत साताभर मनसुनी वायुको प्रभावले देशभरका केन्द्रहरूमा वर्षा मापन भएको छ। कर्णाली प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा 200.0 मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन। सूदुरपश्चिम प्रदेशका अधिकांश केन्द्रहरुमा तथा कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका केही केन्द्रहरुमा १००.० मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रमा 3८३.६ मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरुमा दुवै अधिकतम तापक्रम र न्यूनतम तापक्रम सरदरभन्दा बढी तापक्रम मापन भएका छन्।
- देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहनेछ।
- हिमाली भू-भागः कोशी, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा धेरै स्थानमा र अन्यमा केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र मध्यमा थोरै स्थानमा र अन्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। साथै कर्णाली र लुम्बिनी प्रदेशमा साताको शुरु र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ।
- तराई भू-भागः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- देशभर अधिकतम र न्यूनतम तापक्रम उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ। साताको अन्त्यमा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईमा तापक्रम हल्का बढ्ने सम्भावना छ।
कृषि सारांश
- भारी वर्षाको सम्भावना रहेका स्थानहरूमा मकैबाली, तरकारी तथा फलफूल बगैँचालगायत प्लास्टिक घर, पशुपन्छीका खोर- गोठहरू वरिपरि पानी जम्न नदिन निकासको उचित प्रबन्ध गर्नुहोस्।
- धानबालीमा हरियो मलको रुपमा तयार भएको ढैँचा काटी माटोमा मिलाउनुहोस्।
- २१-२५ दिन भैसकेको धानको बेर्ना प्रतिरोपो २-३ वटाको दरले रोप्न सुरू गर्नुहोस्। हारदेखि हार २० सेन्टिमिटर र रोपो देखी रोपो १५ सेन्टिमिटर दूरीमा र सूचीकृत गरिएका बर्णशंकर धान १ गोटा बेर्नाको दरले हारदेखि हार २० सेन्टिमिटर र रोपोदेखि रोपो २० सेन्टिमिटर दूरीमा रोप्नुहोस्।
- सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा विषादी राख्नैपर्ने भएमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कनै पर्ने भएमा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
- सुन्तलाजात तथा वर्षे फलफूलका गुणस्तरीय विरुवा तयार गरिएका खाडलमा रोप्नुहोस्। बिरुवा रोप्दा जमिनबाट १ फिट उँचो बनाइ, ग्राफ्टिङ गर्दा जोडिएको भाग माटोले नपुरिने गरी सार्नुहोस्।
- आँपको रुटस्टक तयारी अवस्थामा छ भने इपिकोटायल ग्राफ्टिङ्ग सुरु गर्नुहोस्।
- सेटबाट बेमौसमी प्याज उत्पादन गर्न २ सेमी व्यास भएको प्याजको सेट एक लाइनदेखि अर्को लाइनको दूरी १५ सेमी र एक बोटदेखि अर्को बोटको दूरी १५ सेमी हुनेगरी रोप्नुहोस्।
- खुर्सानीको बोट ओइलाउने र जरा कुहिने रोग लाग्नबाट बचाउनका लागि पानी निकासको उचित प्रवन्ध गर्नुहोस्, रोगी बोटहरू हटाउनुहोस्। प्रकोप भएमा कपरयुक्त विषादी २ ग्राम प्रतिलिटर पानीमा मिसाइ ७-१० फरकमा २-३ पटक जरा र वरिपरिको माटो भिज्नेगरी ड्रेन्चिङ गर्नुहोस्।
- वर्षातको समय भएकोले गाई-भैँसीहरुमा भ्यागुते रोग (पशुलाई सास फेर्न गाह्रो भएर भ्यागुता कराएको जस्तै आवाज निस्कन्छ) देखा पर्न सक्दछ। प्रायःगरि तिक्ष्ण लक्षणहरुमा मुख्यत ८-२४ घण्टाभित्रै गाई-भैँसी मर्ने भएकोले जतिसक्दो छिटो नजिकैको जिल्ला पशु सेवा कार्यालय वा भेटेरिनरि सेवा केन्द्रमा सम्पर्क राख्नुहोस्।
- हाँस र कुखुरामा वर्डफ्लु संक्रमणको जोखिम बढेकोले फार्महरूमा जैविक सुरक्षाका विधिहरू अपनाउनुहोस्। यी रोगका लक्षण देखिएमा नजिकैको पशु सेवा कार्यालयमा सम्पर्क गर्नुहोस्।
- भारी वर्षाको सम्भावना रहेका स्थानहरूका माछापोखरीमा धमिलो पानी मिसिन नदिनुहोस्। साथै, माछा बगेर जान नदिन निकासद्वारमा माछाको साइज अनुसारको जाली लगाउनुहोस्।
- वर्षातको समयमा माछापोखरीको पानीको पिएचलाई सन्तुलन राख्न समय-समयमा मापन गर्नुहोस्। पानीको पिएच ६.५ भन्दा कम भएमा चून १५ केजी प्रतिकठ्ठाको दरले प्रयोग गर्नुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

