![]() |
नेपाल सरकार राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम (कार्यक्षेत्र: नुवाकोट र रसुवा) |
|
कृषि मौसम सल्लाह बुलेटिन (बर्ष १२, अंक २०)
- गत साताभर मनसुनी वायुको प्रभावले देशका अधिकांश केन्द्रहरूमा वर्षा मापन भएको छ। बागमती प्रदेशका केही केन्द्रहरूमा तथा कोशी, लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई केन्द्रहरूमा १००.0 मिलिमिटरभन्दा बढी साप्ताहिक कुल वर्षा मापन भएका छन्। देशभरमा वर्षा मापन भएका अधिकांश केन्द्रहरूमा सरदरभन्दा कम वर्षा मापन भएको छ। सबैभन्दा बढी गण्डकी प्रदेशको कास्की जिल्लाको लुम्ले केन्द्रमा २६४.1 मिलिमिटर साप्ताहिक कुल वर्षा मापन भएको छ। गत साता देशका अधिकांश केन्द्रहरूमा साप्ताहिक औसत अधिकतम तापक्रम र साप्ताहिक औसत न्यूनतम तापक्रम दुवै सरदरभन्दा बढी मापन भएका छन्।
- देशभर नै मनसुनी वायुको प्रभाव रहनेछ। साताभर मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतर्फ साथै पूर्वमा सरदर स्थानको आसपास रहने सम्भावना छ।
- हिमाली भू-भागः सबै प्रदेशमा साताको सुरू र अन्त्यमा केही तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ। बागमती, गण्डकी र सुदुरपश्चिम प्रदेशमा साताको साताको सुरूमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरू र मध्यमा तथा लुम्बिनी र कर्णाली प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षा/हिमपातको सम्भावना छ।
- पहाडी भू-भागः कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र अन्त्यमा केही स्थानमा तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको सुरूमा एक-दुई स्थानमा र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। कोशी प्रदेशमा साताको सुरू र मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
- साताको मध्यमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना छ।
- तराई भू-भागः कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा साताको सुरू र मध्यमा केही स्थानमा, अन्त्यमा थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साताको सुरू र अन्त्यमा केही तथा मध्यमा धेरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशमा साताको सुरूमा एक-दुई र मध्यमा थोरै स्थानमा भारी वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेशमा साताको मध्यमा एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ।
- अधिकतम र न्यूनतम दुबै तापक्रममा पहाडी र तराई क्षेत्रमा हल्का बढ्ने तथा हिमाली क्षेत्रमा उल्लेखनीय परिवर्तन नहुने सम्भावना छ।
कृषि सारांश
- धानबालीमा मरुवा रोग देखापर्ने बित्तिकै व्यवस्थापनका लागि ट्राइसाइक्लाजोल ७५ % डब्लुपी २ ग्राम प्रतिलिटर पानीको दरले प्रत्येक १२-१४ दिनको फरकमा २-३ पटकसम्म सम्पूर्ण बोटहरू भिज्नेगरी छर्केर उपचार गर्नुहोस्।
- धान रोपेको २५-३० दिनपछि (गाँज आउने समयमा) नेपाल कृषि अनुसन्धान परिषदबाट सिफारिस गरिएको मात्रा अनुसार युरिया टपड्रेस गर्नुहोस्। युरिया मलको विकल्पको रुपमा नानो झोल युरिया ४ एमएल प्रतिलिटर पानीमा मिसाइ सम्पूर्ण पात भिज्नेगरी टपड्रेस गर्ने समयमा छर्कनुहोस्। धानमा टपड्रेस गरिसकेपछि कम्तीमा २४ घण्टासम्म खेतबाट पानी बग्न नदिनुहोस्।
- सबै किसिमका फलफूल तथा तरकारी बालीहरूमा मौसमको अवस्था हेरेर (कडा घाम लागेको, धेरै हावा लागेको, पानी परिरहेको बेला नपारी) मात्र विषादी छर्कनुहोस्। वर्षातको समयमा विषादी छर्कँदा स्टिकर मिसाएर मात्र प्रयोग गर्नुहोस्। साथै विषादी छर्कँदा विशेष सावधानी अपनाउनुहोस्।
- भुइँकटहरको फल टिपिसकेपछि फल लागेको मुख्य डाँठलाई फेदबाट धारिलो चक्कुले काटेर हटाउनुहोस्।
- स्याउको फल परिपक्व नहुँदै टिप्दा फलको आकार सानो, स्वाद अमिलो तथा टर्रो, रङ नचढेको, बास्ना नभएको तथा भण्डारणमा स्काल्ड विकृतिले फल खैरो भई गणुस्तर बिग्रने हुँदा सामान्यतया फलमा जात अनुसारको रङ चढी पूर्णरुपमा परिपक्व भई खान तयार भएपछि मात्र टिप्ने गर्नुहोस्।
- कफिका बिरूवा लगाईएका बगैँचाहरूमा नियमित अवलोकन गरी ५ फिटको उचाइमा आएका बिरूवाहरूको टुप्पो काट्ने र जमीनको सतहबाट १ फीट माथिसम्मका हाँगाहरू हटाई बोर्डोपेष्टको लेप लगाउनुहोस्।
- मध्यपहाडी क्षेत्रका बारीमा भदौमा रोप्नको लागि जनकदेव, डेजिरे, कार्डिनल, खुमल सेतो-१, खुमल लक्ष्मी, खुमल उज्वल, खुमल उपहार, खुमल विकासमध्ये उपलब्ध जातको बीउ हरियो टुसा आएको आलु रोप्नुहोस्।
- रायोबालीका मार्फा चौडा, खुमल चौडा पात, खुमल रातो पात, मनकामना आदि जातहरूको नर्सरी राख्दा पानी जम्ने नबनाउनुहोस्। नर्सरी राख्दा १ वित्ता (१५-२० सेमी) अग्लो र १ मिटर चौडाइको व्याड बनाइ ४ अंगुल (५ सेमी) को फरकमा लाइन कोरेर पातलो गरी बीउ राखी हल्का माटोले पुरेपछि छापो राख्नुहोस्।
- काउली वर्गमा लाग्ने गाँठे रोग व्यवस्थापनको लागि निरोगी बेर्ना अग्लो ड्याङमा रोप्नुहोस्। रोगको प्रकोप फैलन नदिन फ्लुजिनाम ०.२% को घोल बनाइ बोट वरिपरि ड्रेन्चिंङ गर्नुहोस्।
- बाढीपहिरोका कारण घाइते भएका पशुचौपायाको औषधी उपचार तथा बाढीका कारण हुने आवतजावतले सम्पर्क बढ्न सक्ने र त्यसबाट संक्रामक रोग फैलिनसक्ने जोखिम रहन्छ। त्यसैले पशु स्वास्थ्यमा विशेष निगरानी तथा सतर्कता अपनाउन नजिकैको भेटेरिनरी कार्यालयमा सम्पर्क गर्नुहोस्।
- बाढीग्रस्त क्षेत्रका पशुचौपायालाइ महामारी रोगहरूबाट बचाउन सफा पानी र दानाको व्यवस्थापन गर्नुहोस्।
- बाढीका कारण पशुपन्छीको दाना आपूर्तिमा असहज भएका स्थानहरूमा यथेष्ट मात्रामा पीना र गेडागुडी (भटमास, चना, केराउ, मुसुरो आदि) मिसाई घरेलु विधिबाट पशुआहारा तयार गर्नुहोस्।
- बाढी तथा भलका कारण आइमेरिया (Emeria) रोगका विजाणुहरू ट्राउट माछा पालन गरेको रेसवे पोखरीहरूमा मिसिएर पहेँलो छेर्ने रोग देखापरेमा टोल्ट्राजुरिल १५ एमजी प्रतिकेजी माछाको शारीरिक तौलका दरले दानामा औषधी मिसाइ खुवाउनुहोस्। यो औषधी जम्मा ७ दिन (पहिलो, दोस्रो, तेस्रो, छैठौँ, सातौँ नवौँ र दशौँ दिनमा) दानामा मिसाइ खुवाउनुहोस्। साथै रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्न भिटामिन-सी ०.५ ग्राम प्रतिकेजी दानाको दरले १५ दिनसम्म लगातार खुवाउनुहोस्।
- मौसम सम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने जल तथा मौसम विज्ञान विभागको फोन नम्बर ११५५ मा फोन गर्नुहोस्।
- कृषि र पशुसम्बन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर ११३५ मा हरेक शुक्रबार साँझ ४ देखि ६ बजेसम्म फोन गर्नुहोस्।

